कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अंग्रेजलाई जितेको सम्झनामा विजयोत्सव

राजकुमार कार्की

(सिन्धुली) — बीपी राजमार्गको नागबेली सडक हुँदै सोलाभन्ज्याङ पुग्नुभयो भने तपाईंलाई सुरुमै हुस्सुले चुम्न सक्छ । उत्तर–पश्चिमतिर फर्कनेबित्तिक्कै देखिन्छ, सिन्धुलीगढी प्रवेशद्वार । यही गेटमा तत्कालीन युद्धको झल्को दिनेगरी कोरिएका तस्बिरले तपाईंलाई एकछिन अलमल्याउँछ । तीन महिनाअगाडि कालोपत्रे गरिएको सडक अहिले नै धाँजा फाटे पनि सिन्धुलीगढी परिसरसम्म नै रहेको छ । पैदल वा सवारीसाधन, आफैं छनोट गर्न सक्नुहुन्छ ।

अंग्रेजलाई जितेको सम्झनामा विजयोत्सव

गोर्खाली फौजले अंग्रेज सेनालाई हराएको २ सय ५२ वर्ष पुगेको इतिहास स्मरण गर्न आयोजित विजयोत्सवले सिन्धुलीगढीलाई व्यस्त बनाएको छ । भग्नावषेश मात्र रहेको सिन्धुलीगढी दरबार क्षेत्रलाई घेराबेरा गरिएको छ ।


विजयोत्सवस्थल जाने सडकको दायाँबायाँ सयपत्रीलगायतका फूल रोपिएका छन् । नेपाली सेनाले एक साता लगाएर गढी क्षेत्रलाई पूरै सफा गरेका छन् । टुँडिखेल क्षेत्रमा पाहुनाको हेलिकप्टर राख्ने व्यवस्था गरिएको छ । तत्कालीन समयको तोप, जेलघरलगायत पुराना संरचना उत्खनन् गरिएको छ ।


त्यतिखेर भएको युद्ध झल्किने गरी सबै व्यवस्था मिलाइएको कमलामाई नगरपालिका प्रमुख खड्ग खत्रीले बताए । ‘सेनाको सहयोगमा विजयोत्सव मनाउने योजना बनाएका हौं,’ उनले भने, ‘युद्धमा प्रयोग भएका सबै सामग्री जुटाएर प्रदर्शनीमा राखिएका छन्, अवलोकनकर्ताले भरपुर मनोरञ्जन लिन सक्नेछन् ।’ तीनदिने विजयोत्सव आइतबार समापन हुनेछ ।


तत्कालीन युद्धको झल्को दिने र वीर गोर्खालीले लडाइँमा विजय प्राप्त गरेको दृश्यलाई अवलोकनकर्ताको मानसपटलमा छाउने गरी तयारी गरेको बर्दबहादुर गणका गणपति राजीव थापाले बताए । युद्धको तिथिमितिसमेतको यकिन गराउन इतिहासका लेखहरू रहेका किताबको स्टल नै राखिएको समेत उनले सुनाए । विसं १८२४ असोज १५ गते कप्तान किनलकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेर पठाएको सम्झनामा प्रत्येक वर्ष कात्तिक २४ गते नेपालको झन्डा फहराएर सलामी अर्पण गरी विजयोत्सव मनाउने गरिएको छ ।


नेपाल एकीकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई हराएर विरासत बोकेको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिकस्थल सिन्धुलीगढी यतिबेला उत्सवमय बनेको छ । उत्सवमा नेपाली सेनासँग सम्बन्धित युद्धसामग्री, भेषभूषा र स्थानीय उत्पादनको प्रचारप्रसार गर्न स्टल राखिएका छन् ।


०६७ सालदेखि नेपाल पत्रकार महासंघले मनाउन थालेको विजयोत्सव परम्परालाई स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि नगरपालिका आफैंले निरन्तरता दिन सुरु गरेको हो । विजयोत्सवलाई भव्य रूपमा मनाउन सुनकोसी र गोलन्जोर गाउँपालिका तथा कमलामाई नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएका छन् । उत्सवकै अवसरमा सिन्धुलीगढी घुम्न आउने पर्यटकसँग लिइने गरिएको ५० रुपैयाँ प्रवेश शुल्कलाई कात्तिक महिनाभर ५० प्रतिशत छुट गरिएको र कात्तिक २० गतेदेखि २५ गतेसम्म पूरै छुट गरिएको छ । उत्सवकै अवसरमा नेपाली सेनाले चियाबारीबाट सिन्धुलीगढीसम्म पाँच किलोमिटर कप्तान किनलक पदमार्ग निर्माण गरेको छ । सेनाको नागरिक सहयोग अभियानअन्तर्गत कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा युद्ध संग्रहालयसमेत बन्न लागेको छ । संग्रहालय निर्माणका लागि नक्सांकन र डिजाइन भइसकेको छ ।


सरकारले घोषणा गरेको नयाँ पर्यटक गन्तव्यमध्ये एक सिन्धुलीगढीको मुख्य दरबार (ठूलो गढी) प्रदेश ३ सरकारले बनाउने भएको छ । यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा चार करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित : कार्तिक २४, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?