१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नारायणी पुलबाट बारम्बार आत्महत्या

जेठयता पुलबाट हामफालेर हरेक महिनाजसो आत्महत्याका घटना हुने गरेका छन् । पुलको बार होचो भएकाले स्थानीय युवाले तारजालीको छेकबार राख्न माग गर्दै आएका छन् ।
रमेशकुमार पौडेल

(चितवन) — कात्तिक १० गते तिहारको रौनक उत्कर्षमा थियो । साढे ४ बजेतिर नारायणी पुलबाट दुईजना व्यक्ति नदीमा हाम फालेको खबर फैलियो । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार पुलबाट हामफाल्ने ३०/३५ वर्षका व्यक्तिमात्रै मृत फेला परे । अर्का अझै बेपत्ता छन् । सँगै हामफालेका व्यक्तिहरू बाबुछोरा भएको स्थानीयको अनुमान छ ।

नारायणी पुलबाट बारम्बार आत्महत्या

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लका अनुसार मृत फेला परेका व्यक्तिको पनि अझैसम्म नाम ठेगाना खुल्न सकेको छैन । फेला परेको शव भरतपुर अस्पतालमा राखिएको छ ।


घटनाको भोलिपल्ट भरतपुरका श्रीप्रसाद दवाडीले फेसबुकमा ‘नारायणी पुलमा मेस जाली हाल्नुपर्‍यो’ भन्ने सन्देशसहितको स्टाटस लेखे । त्यसयता पनि उक्त पुलबाट हाम फालेर थप एकजनाको ज्यान गइसकेको छ ।


प्रहरीबाट प्राप्त जानकारीअनुसार जेठयता सो पुलबाट हामफालेर हरेक महिनाजसो आत्महत्याका घटना हुने गरेका छन् । देशको मुख्य ठूला तीन नदीमध्येको नारायणीमा बनेको पाँच सय मिटर लामो पुलको बार भने खासै अग्लो छैन । त्यसैले मान्छेहरू हामफालेर नदीमा बिलाइरहेका छन् ।


चार महिनामा पाँचको आत्महत्या

तिहारपछि पनि कात्तिक २० गते एकजना व्यक्ति पुलबाट हामफाले । उनलाई गम्भीर अवस्थामा उद्धार गरियो । तर, उपचारका क्रममा उनलाई बचाउन सकिएन । यो घटनासहित साउनयता मात्रै नारायणी पुलबाट नदीमा हामफाल्नेको संख्या पाँच पुगेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भदौमा भने यसखालको घटना भएन । साउनमा एक र असोजमा एकजनाले नदीबाट हामफालेको कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाले बताए ।


साउन २५ मा कृष्णमाया तामाङ नाम गरेकी महिला नारायणी नदीको पुलबाट हामफालेकी थिइन् । त्यसपछि असोज १ गते भरतपुरका उदार पौडेलले त्यही बाटो रोजे । यस्तो घटना यो आर्थिक वर्षको मात्रै होइन । जेठ र असारमा पनि पुलबाट नदीमा हामफालेका घटना प्रहरी रेकर्डमा छ । त्यसबेला दुई महिलाले आत्महत्या गरेका थिए ।


जेठ ३१ गते स्कुटरको पछाडि बसेर गैंडाकोटतर्फबाट नारायणगढ आउँदै गरेकी युवती स्कुटरबाट झरेर पुलदेखि नदीमा हामफालिन् । पूर्वी चितवन वीरेन्द्रनगरकी कविता सापकोटाले त्यसरी आत्महत्या गरेको पाँच दिन नहुँदै त्यस्तै घटना दोहोरियो । असार ५ गते पश्चिम चितवन पार्वतीपुरकी विमला कुमालले पनि आत्महत्याका लागि नारायणी नदी रोजिन् ।


छैन सुरक्षा प्रबन्ध

नारायणी पुलको बार होचो छ । ‘कि पुलको बार अग्लो हुनुपर्‍यो । वा त्यहाँबाट खसेको मान्छे सिधै नदीमा नखस्ने जाली राख्नुपर्‍यो,’ चितवनका एसपी दानबहादुर मल्लले भने । सडक विभाग वा स्थानीय निकायले यसबारेमा योजना बनाउनुपर्ने उनको सुझाव छ । केही वर्षअघि पुलको आडमा सशस्त्र प्रहरीको उद्धार टोली बस्थ्यो तर अहिले त्यो पनि छैन ।


चार वर्षअघि ०७२ सालको असार १७ मा भरतपुर–१ रामनगरको एउटा तन्दुरी रेस्टुरेन्टमा काम गर्ने ३७ वर्षका व्यक्ति नारायणी पुलबाट हामफाले । तर, तत्कालै सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । ०७१ पुस २९ मा सशस्त्र प्रहरीको उद्धार युनिट बसेपछि जीवितै उद्धारका यस्ता घटना अरू पनि भएका थिए । तर, अहिले मान्छे हामफालेपछि नदीमा भेल भएका बेला शव भेटिन्न ।


सशस्त्र प्रहरीको कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर प्रधान नारायणगढको पुलचोक र फेवातालमा उद्धार टोली तैनाथ गरेको बताउँछन् । ‘अहिले त्यहाँको पोस्टमा उद्धारकहरू भए/नभएको के रहेछ म बुझ्छु । नभए टोली खटाउने व्यवस्था गर्छु,’ एसएसपी प्रधानले भने ।


छेकबार राख्न माग

भरतपुरका युवाहरूले पुलमा तारजालीको छेकबार राख्न माग गर्दै आएका छन् । भरतपुर महानगर युवा सञ्जालको नेतृत्वमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई कात्तिक १८ गते ज्ञापनपत्र बुझाएको छ । सञ्जालले गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेललाई पनि ज्ञापनपत्र बुझायो । पुलबाट बारम्बार आत्महत्याका घटना हुन थालेपछि स्थानीय सरकार गम्भीर हुनुपर्ने सञ्जालको माग छ ।


‘पुलबाटै आत्महत्याका घटना बढ्न थालेको कुराले गम्भीर बनाएको छ । सजिलै हामफाल्न सकिने अवस्था जुन छ, त्यसलाई रोक्न के गर्न सकिन्छ प्राविधिकहरू लगाएर अध्ययन गर्ने योजना छ,’ मेयर दाहालले भनिन् । गैंडाकोट नगरपालिका र सडक कार्यालयसँग पनि समन्वय गरेर काम गर्ने उनको भनाइ छ ।


प्रकाशित : कार्तिक २३, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?