कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजना सम्झौता गर्न वडामै नगरको टोली

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरको एक स्थानीय तहले वडावडामा पुगेर उपभोक्ता समितिहरूसँग योजनाको सम्झौता गर्ने अभियान चलाएको छ । योजनाबारेमा स्थानीयलाई जानकारी गराउन र सम्झौता गर्न कार्यालय धाउन नपरोस् भन्ने उद्देश्यले थाहा नगरपालिकाले अभियान सञ्चालन गरेको हो । 

‘नगरपालिका कार्यालयमा आउन उपभोक्ताहरूलाई समय लाग्ने र योजनाका बारेमा सम्बन्धित सरोकारवालाले विस्तृत जानकारी नपाउने भएकाले वडावडामा पुगेर योजनाको सम्झौता गर्ने अभियान चलाइएको हो,’ नगर प्रमुख लवशेर विष्टले भने, ‘वडा/वडामा गएर योजनाको सम्झौता गरेपछि समयमा नै काम सुरु हुनुका साथै सम्पन्न हुने अपेक्षा गरेका छौं ।’ नगरपालिकाले ११ र १२ वडाबाट सुरु गरेको यो अभियान शुक्रबारसम्म ६ वटा वडामा सम्पन्न गरिसकेको छ । ७, ८, ९, १०, ११ र १२ वटा वडामा ४० वटा योजनाको सम्झौता भइसकेको नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले बताए ।


असारे विकासलाई निरुत्साहित गर्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षको फागुनसम्म सम्पूर्ण योजना सम्पन्न गरेर फरफारक गरिसक्नुपर्ने कार्यतालिका बनाएको छ । कार्यतालिकामा भदौ २० गतेसम्म उपभोक्ता समिति निर्माण गरिसक्नुपर्ने र उक्त समितिहरूलाई असोज १० गतेसम्म तालिम दिइसक्नुपर्ने समयावधि तोकिएको थियो । ‘कात्तिक मसान्तसम्ममा योजनाहरूको सम्झौता गरिसक्नुपर्नेछ,’ अधिकृत पुरीले भने, ‘कार्यतालिकाअनुसार योजनाहरूको सम्झौता भइरहेको छ ।’


नगरपालिकाको चालू आवमा ११६ वटा विकास निर्माणका योजना छन् । उक्त योजनामा करिब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । ‘फागुन महिनासम्म नगरपालिकाको विकास निर्माणको काम मात्र होइन, शिक्षा, कृषि, स्वास्थ्य क्षेत्रका काम पनि सम्पन्न गर्ने कार्यतालिका बनाएका छौं,’ मेयर विष्टले भने, ‘देखाउन मात्र कार्यतालिका बनाइएको होइन, कार्यान्वयन गरेर छाड्छौं ।’


प्रकाशित : कार्तिक २३, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?