२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

भ्रमण वर्ष लक्षित गरी धमाधम नयाँ होटल

कान्तिपुर संवाददाता

मकवानपुर — नेपाल भ्रमण वर्ष लक्षित गरेर मकवानपुरको उत्तरी क्षेत्रमा रहेको दामन–पालुङमा धमाधम नयाँ होटल खुल्न थालेका छन् । विशेषगरी विदेशबाट फर्किएका युवाहरूले होटलमा लगानी गरेको थाहानगर होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले बताए । दामन–पालुङ घुम्न आउने पर्यटकको संख्या बढ्न थालेपछि यहाँको होटल व्यवसाय फस्टाएको उनको भनाइ छ । ‘यहाँका अधिकांश होटलले भौतिक पूर्वाधार निर्माणदेखि सेवा प्रवाहसम्मलाई नयाँपन दिन खोजेका छन्,’ उनले भने ।

अहिले दामन–पालुङ क्षेत्रमा घुम्न आउने तेस्रो मुलुकका पर्यटकको संख्या घटे पनि स्वदेशी भने बढेका छन् । ‘विशेषगरी भारतीय पर्यटक बढी आउने गरेका छन्,’ थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने । हाल दामन–पालुङ क्षेत्रमा सानाठूला गरी ६५ वटा होटल तथा लज सञ्चालनमा छन् ।


प्रदेश ३ सरकारले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरे पनि भौतिक पूर्वाधारको काममा भने चासो नदेखाएको थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान बताउँछन् । प्रदेश सरकारले अघिल्लो वर्ष ‘घुम्न जाऔं दामन’ वर्ष घोषणा गरे पनि भौतिक पूर्वाधार निर्माण तथा प्रचारप्रसारका लागि केही काम नगरेको स्थानीय व्यवसायीको गुनासो छ ।


दामनबाट १५ वटाभन्दा बढी हिमाल देखिन्छन् । हिमाल हेर्न सहज होस् भनेर भ्युटावरसमेत निर्माण गरिएको छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?