बीपी राजमार्गमा खाल्डैखाल्डा

राजकुमार कार्की

(सिन्धुली) — सवारी चाप र भारवहन क्षमताभन्दा बढीका गाडी सञ्चालन हुँदा बीपी राजमार्गको अधिकांश खण्ड खाल्डैैखाल्डा भएको छ । अत्यधिक भार बोकेका मालबाहक सवारी गुड्दा बनेपा–बर्दिबास सडक खण्डअन्तर्गत सिन्धुलीको विभिन्न स्थानमा खाल्डैखाल्डा देखिएको हो ।

ZenTravel

चार महिनाअघि टालटुल पारिएको खाल्डा फेरि उस्तैगरी भत्किएको छ । दैनिक अत्यधिक सवारीसाधन गुड्दा र समयमा उचित मर्मतसम्भार नहुँदा राजमार्गले जोखिम निम्त्याउन सक्ने स्थानीय बताउँछन् ।

Meroghar

वर्षाअगाडि मर्मत भएको राजमार्गको दोस्रो खण्डअन्तर्गत कमलामाई नगरपालिकाको भद्रकाली, चियाबारी र पीपलभन्ज्याङको बीचमा पर्ने दुई घुम्तीमा ‘इमर्जेन्सी ब्रेक’ लगाउनुपर्ने अवस्था रहेको सवारी चालकहरू बताउँछन् ।

नेपालकै नमुना राजमार्गको रूपमा चिनिने बीपी राजमार्गका प्रत्येकजसो घुम्तीमा खाल्डाहरू भेटिन्छन् । निर्माण सम्पन्न गरी जापान सरकारले नेपाल सकारलाई हस्तान्तरण गरेको केही वर्षमै राजमार्ग कुरूप बन्न थालेको स्थानीय बासिन्दाको भनाइ छ ।

नेपालथोक र धुलिखेल खण्डको भकुन्डेबेँसीमाथि सडक कालोपत्र गर्ने तयारी गरिँदा राजमार्ग हुँदै राजधानी ओहोरदोहोर गर्ने सवारीसाधन घन्टौंसम्म जाममा पर्ने गरेका छन् । ट्र्याक सडक नहुँदा समस्या भएको सडक आयोजनाले जनाएको छ । तर यात्रुहरू भने सडक आयोजनाको लापरबाहीले जाम झेल्नुपरेको गुनासो गर्छन् । ‘एकातिर खाल्डैखाल्डा छ, अर्कोतिर यस्तो जाम,’ राजधानीबाट बर्दिबास हिँडेका यात्री कैलाश मगरले दुखेसो पोखे, ‘मोड सुधार गरी सबै स्थानमा सडक फराकिलो नबन्दा दुर्घटनासमेत हुने गरेको छ ।’

भूकम्पपछि भत्किएका खण्ड र अन्य खण्डमा ठूला खाल्डा हुँदा दुर्घटना बढ्न थालेपछि सामान्य टालटुल गरिएको थियो । ‘सवारी व्यवस्थापन र समयमा उचित मर्मत नहुँदा राजमार्गमा दुर्घटना बढ्ने निश्चित छ,’ सञ्चारकर्मी कृष्णहरि घिमिरेले भने, ‘साँघुरो सडकमा सवारी चाप बढ्दो छ, यसले दुर्घटनको जोखिम बढाउँछ ।’ उनी दुई वर्षअघि कमलामाई नगरपालिकाको करकरेमा दुर्घटनामा परेका थिए ।

भूकम्पले भत्किएको चियाबारी र पीपलभन्ज्याङबीचको घुम्तीमा गरिएको मर्मत तीन महिना पनि टिक्न सकेन । ‘दुईपटक मर्मत हुँदा पनि हालत उस्तै छ,’ घिमिरेले भने, ‘गुणस्तरीय काम भएको भए यस्तो अवस्था हुने थिएन ।’ जापान सरकारले हस्तान्तरण गरेकोपछि मर्मतसम्भारको जिम्मा सडक आयोजनाले लिएको छ । ?

चार घन्टामा सिन्धुलीबाट काठमाडौको यात्रा तय गर्न सकिनेमा यतिखेर खाल्डाखुल्डीले ६ देखि ७ घन्टा लाग्ने गरेको बोलेरो जिप चालक अमर भुजेलले दुखेसो पोखे । भन्छन्, ‘खाल्डाखुल्डीले बढी समय लाग्ने, गाडीमा टुटफुटको समस्या आउने हुँदा दुर्घटनाको खतरा रहन्छ ।’

बीपी राजमार्गको नागबेली सडकको दृश्यावलोकन गर्दै काठमाडौं जाने गरेका मोटसाइकल चालक सडकको खाल्डाखुल्डीकै कारण हैरान हुने गरेका छन् । बनेको केही वर्ष नबित्दै बनेपा, सिन्धुली, बर्दिबास सडकको स्वरूप बिग्रन थालेको हो । ‘सिंगल लेनको सडक अनि खाल्डैखाल्डा भएकाले मोटरसाइकल चलाउनै गाह्रो छ,’ स्थानीय पुष्कर थापा भन्छन्, ‘पूर्वी तराईलाई राजधानीसँग जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग भएकाले सवारी चाप हुनु स्वाभाविक हो । टालटुले काम हुने भएकाले मर्मत गरेको पनि परिणाम नदेखिएको हो ।’

राजमार्गसँग जोडेर भवन निर्माण गर्ने क्रममा घडेरी खार्दा एक्स्काभेटरलगायत ठूला उपकरण चलाइएकाले आसपासमा सडक पनि उप्किएका छन् । पीपलभन्ज्याङ ढुंग्रेभन्ज्याङ खुर्कोट, बारा, झाँगाझोली रातमाटा, नेपालथोकमा बढी खाल्डा छन् ।

बर्दिवास–सिन्धुली–बनेपा सडक आयोजनाका प्राविधिक रमेश आचार्यका अनुसार सडकको नाला समयमा सफा नगर्दा र घडेरी बनाउने नाममा जथाभावी खन्दा खाल्डाखुल्डी देखिएको हो । ‘स्थानीय सबै मिलेर सडकको संरक्षण गर्नुपर्छ,’ उनले भने ।

बीपी राजमार्गमा दैनिक सरदर दुई हजार सानाठूला सवारी साधन चल्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । जापान सरकारको २६ अर्ब लगानीमा उक्त राजमार्ग बनेको हो । पछिल्लो समय सुनकोसी आसपासमा क्रसर उद्योग खुल्ने क्रम बढेसँगै राजमार्गमा टिपरसमेत गुड्न थालेका छन् । बीपी राजमार्गमा ठूला ट्रकलाई नेपाल सरकारले अनुमति नदिएपनि क्रसर उद्योगका गिट्टी, बालुवा बोक्ने टिपर खुलेआम चल्दै आएका छन् ।

प्रकाशित : कार्तिक २२, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फौजी कीराले १७ करोडको क्षति

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा एक सातादेखि धान बालीमा देखिएको फौजी किराको प्रकोप नियन्त्रण बाहिर गएको कृषि प्राविधिकले बताएका छन् ।दुधौली, कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा फौजी किराको प्रकोप बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

फौजी किराले अहिलेसम्म करिब चार हजार हेक्टरमालगाएको धान बाली नोक्सान गरेको ज्ञान केन्द्रका बागबानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘स्थानीय तहका कृषि प्राविधिकसँग क्षेतीको विवरण मागी तथ्यांक निकालेका हौं,’ उनले भने, ‘१७ करोड रुपैयाँ बराबरको धानबालीमा फौजी किराले क्षति पुर्‍याएको छ । फौजी किराको प्रकोप अझै रोकिएको छैन, थप कति नोक्सान गर्ने हो ।’ किसानलाई फौजी किराको प्रकोप नियन्त्रण गर्न तत्काल कृषि प्राविधिकसँग सल्लाह गरेर विषादी प्रयोग गर्न सुझाएको उनले बताए ।

धान भित्र्याउने समय हुन लाग्दा फौजी किराले बाला सखाप पारेकाले किसान चिन्तित बनेका छन् । एक, दुई वटा बाला काटेको देख्ने बित्तिकै धान पाकेको भए काटी हाल्न र किरा नभएको ठाँउमा पनि धान पाकेको भए काट्न किसानलाई सल्लाह दिएको उनको भनाइ थियो । दुधौली नगरपालिकाका किसान अम्बराज खत्रीका अनुसार फौजी किराले फेंदमा काट्ने र धानको बाललाई समेत छोडेको छैन । उनको १२ कट्ठामा लगाएको धानबाली फौजी किराले पूरै नष्टपारेको छ ।

कालो र सेतो रङमा रहेको फौजी किराले पहिला जरा काटेर धानको बोट लडाउने र रातको समयमा छ्यापछ्प्ती भई बालासमेत काट्ने गरेको छ । कमलामाई नगरपालिकाले पनि एक साताअघि तीन वटा वडामा देखिएको फौजी किराको प्रकोप अहिले बढेर १२ वडामा पुगेको जनाएको छ । ‘१४ वटा वडामध्ये वडा नं. ३ र १२ मा मात्रै फोजी किराको प्रकोप अहिले देखिएको छैन,’ नगरपालिकाका कृषि शाखा प्रमुख देवीप्रसाद सापकोटाले भने, ‘तत्काल किराको रोकथाम र नियन्त्रण गर्न नगरपालिकाले चार लाख रुपैयाँको विषादी खरिद गरी किसानलाई नि:शुल्क वितरण गरेको छ । तर, नियन्त्रण हुन सकिरहेको छैन ।’

नार्कका वैज्ञानिकले पनि धान बालीमा फौजी किराको प्रकोप नियन्त्रण बाहिर गएको बताएका उनले सुनाए । ‘तत्काल रोकथाम गर्न विषादी प्रयोग गर्दा अपनाउनुपर्ने तरिका र परामर्श किसानलाई दिँदै आएका छौं,’ उनले भने, ‘कतिपय किसानले कृषि प्राविधिकसँग सल्लाहनगरी आफूखुसी एग्रोभेटमा विषादी खरिद गरी प्रयोग गर्दै आएका पनि छन् ।

यसले भोलि समस्या जन्मिने पनि खतरा देखिएको छ ।’ कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यो वर्ष वर्षे धान र हाइब्रिड गरी झन्डै १५ हजार हेक्टरमा धान खेती गरिएको छ ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×