बीपी राजमार्गमा खाल्डैखाल्डा

राजकुमार कार्की

(सिन्धुली) — सवारी चाप र भारवहन क्षमताभन्दा बढीका गाडी सञ्चालन हुँदा बीपी राजमार्गको अधिकांश खण्ड खाल्डैैखाल्डा भएको छ । अत्यधिक भार बोकेका मालबाहक सवारी गुड्दा बनेपा–बर्दिबास सडक खण्डअन्तर्गत सिन्धुलीको विभिन्न स्थानमा खाल्डैखाल्डा देखिएको हो ।

चार महिनाअघि टालटुल पारिएको खाल्डा फेरि उस्तैगरी भत्किएको छ । दैनिक अत्यधिक सवारीसाधन गुड्दा र समयमा उचित मर्मतसम्भार नहुँदा राजमार्गले जोखिम निम्त्याउन सक्ने स्थानीय बताउँछन् ।

वर्षाअगाडि मर्मत भएको राजमार्गको दोस्रो खण्डअन्तर्गत कमलामाई नगरपालिकाको भद्रकाली, चियाबारी र पीपलभन्ज्याङको बीचमा पर्ने दुई घुम्तीमा ‘इमर्जेन्सी ब्रेक’ लगाउनुपर्ने अवस्था रहेको सवारी चालकहरू बताउँछन् ।

नेपालकै नमुना राजमार्गको रूपमा चिनिने बीपी राजमार्गका प्रत्येकजसो घुम्तीमा खाल्डाहरू भेटिन्छन् । निर्माण सम्पन्न गरी जापान सरकारले नेपाल सकारलाई हस्तान्तरण गरेको केही वर्षमै राजमार्ग कुरूप बन्न थालेको स्थानीय बासिन्दाको भनाइ छ ।

नेपालथोक र धुलिखेल खण्डको भकुन्डेबेँसीमाथि सडक कालोपत्र गर्ने तयारी गरिँदा राजमार्ग हुँदै राजधानी ओहोरदोहोर गर्ने सवारीसाधन घन्टौंसम्म जाममा पर्ने गरेका छन् । ट्र्याक सडक नहुँदा समस्या भएको सडक आयोजनाले जनाएको छ । तर यात्रुहरू भने सडक आयोजनाको लापरबाहीले जाम झेल्नुपरेको गुनासो गर्छन् । ‘एकातिर खाल्डैखाल्डा छ, अर्कोतिर यस्तो जाम,’ राजधानीबाट बर्दिबास हिँडेका यात्री कैलाश मगरले दुखेसो पोखे, ‘मोड सुधार गरी सबै स्थानमा सडक फराकिलो नबन्दा दुर्घटनासमेत हुने गरेको छ ।’

भूकम्पपछि भत्किएका खण्ड र अन्य खण्डमा ठूला खाल्डा हुँदा दुर्घटना बढ्न थालेपछि सामान्य टालटुल गरिएको थियो । ‘सवारी व्यवस्थापन र समयमा उचित मर्मत नहुँदा राजमार्गमा दुर्घटना बढ्ने निश्चित छ,’ सञ्चारकर्मी कृष्णहरि घिमिरेले भने, ‘साँघुरो सडकमा सवारी चाप बढ्दो छ, यसले दुर्घटनको जोखिम बढाउँछ ।’ उनी दुई वर्षअघि कमलामाई नगरपालिकाको करकरेमा दुर्घटनामा परेका थिए ।

भूकम्पले भत्किएको चियाबारी र पीपलभन्ज्याङबीचको घुम्तीमा गरिएको मर्मत तीन महिना पनि टिक्न सकेन । ‘दुईपटक मर्मत हुँदा पनि हालत उस्तै छ,’ घिमिरेले भने, ‘गुणस्तरीय काम भएको भए यस्तो अवस्था हुने थिएन ।’ जापान सरकारले हस्तान्तरण गरेकोपछि मर्मतसम्भारको जिम्मा सडक आयोजनाले लिएको छ । ?

चार घन्टामा सिन्धुलीबाट काठमाडौको यात्रा तय गर्न सकिनेमा यतिखेर खाल्डाखुल्डीले ६ देखि ७ घन्टा लाग्ने गरेको बोलेरो जिप चालक अमर भुजेलले दुखेसो पोखे । भन्छन्, ‘खाल्डाखुल्डीले बढी समय लाग्ने, गाडीमा टुटफुटको समस्या आउने हुँदा दुर्घटनाको खतरा रहन्छ ।’

बीपी राजमार्गको नागबेली सडकको दृश्यावलोकन गर्दै काठमाडौं जाने गरेका मोटसाइकल चालक सडकको खाल्डाखुल्डीकै कारण हैरान हुने गरेका छन् । बनेको केही वर्ष नबित्दै बनेपा, सिन्धुली, बर्दिबास सडकको स्वरूप बिग्रन थालेको हो । ‘सिंगल लेनको सडक अनि खाल्डैखाल्डा भएकाले मोटरसाइकल चलाउनै गाह्रो छ,’ स्थानीय पुष्कर थापा भन्छन्, ‘पूर्वी तराईलाई राजधानीसँग जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग भएकाले सवारी चाप हुनु स्वाभाविक हो । टालटुले काम हुने भएकाले मर्मत गरेको पनि परिणाम नदेखिएको हो ।’

राजमार्गसँग जोडेर भवन निर्माण गर्ने क्रममा घडेरी खार्दा एक्स्काभेटरलगायत ठूला उपकरण चलाइएकाले आसपासमा सडक पनि उप्किएका छन् । पीपलभन्ज्याङ ढुंग्रेभन्ज्याङ खुर्कोट, बारा, झाँगाझोली रातमाटा, नेपालथोकमा बढी खाल्डा छन् ।

बर्दिवास–सिन्धुली–बनेपा सडक आयोजनाका प्राविधिक रमेश आचार्यका अनुसार सडकको नाला समयमा सफा नगर्दा र घडेरी बनाउने नाममा जथाभावी खन्दा खाल्डाखुल्डी देखिएको हो । ‘स्थानीय सबै मिलेर सडकको संरक्षण गर्नुपर्छ,’ उनले भने ।

बीपी राजमार्गमा दैनिक सरदर दुई हजार सानाठूला सवारी साधन चल्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । जापान सरकारको २६ अर्ब लगानीमा उक्त राजमार्ग बनेको हो । पछिल्लो समय सुनकोसी आसपासमा क्रसर उद्योग खुल्ने क्रम बढेसँगै राजमार्गमा टिपरसमेत गुड्न थालेका छन् । बीपी राजमार्गमा ठूला ट्रकलाई नेपाल सरकारले अनुमति नदिएपनि क्रसर उद्योगका गिट्टी, बालुवा बोक्ने टिपर खुलेआम चल्दै आएका छन् ।

प्रकाशित : कार्तिक २२, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सडक कर तिर्दै सर्वसाधारण

कान्तिपुर संवाददाता

रामेछाप — सडक छोएको जग्गा खरिद गर्नेले तेहोरो मार खेप्नुपरेको छ । त्यस्ता व्यक्तिहरू बिक्रीकर्ताले तोकेको मोल, मालपोतबाट पारित गर्दा तिर्नुपर्ने राजस्व र स्थानीय सरकारलाई एकीकृत कर तिरिरहेका छन् ।

ग्रामीण क्षेत्रमा निर्माण भएका सार्वजनिक सडकले ओगटेको जग्गा व्यक्तिको नामबाट लगत कट्ठा गरी सडकको नक्सांकन नहुँदा लाखौं मूल्यमा सडक किनबेच हुने गरेको हो । मालपोतले हरेक वर्ष जग्गा रजिस्ट्रेसनका लागि तोकेको मूल्यांकनको आधारमा नगरपालिकाहरूले एकीकृत सम्पत्ति कर लिने गरेका छन् । त्यस्तो कर जग्गाको क्षेत्रफलको आधारमा तलमाथि हुन्छ ।

मन्थलीबाट पकरबास जाने सडकले छुने भटौलीको मुगिटारमा यस्तो समस्याले सडक निर्माणमै गतिरोध देखिएको छ । विगतमा सानो सडक भएकाले पैसा हालेर किनेका जग्गाधनीले अहिले १५ मिटर सडकका लागि जग्गा दिनुपर्दा घर बन्ने जग्गा नै नरहने स्थिति आएको स्थानीय मुकुन्दहरि प्रसाईंले बताए । लगत कट्टा नगर्दाको समस्याले सर्वसाधारण मर्कामा छन् ।

‘त्यसबेला नै सडकको क्षेत्रफल कटाएर जग्गा किन्न पाएको भए अहिलेको समस्या आउँदैनथ्यो,’ उनले भने, ‘कसैलाई मर्का पनि पर्दैनथ्यो ।’ प्रसाईंका अनुसार ग्रामीण सडक सर्भे गरेर निर्माण गर्ने र सडक निर्माण भएको जग्गा सार्वजनिक या व्यक्तिको नामबाट लगत काटेर सडककै नाममा नराख्दा जग्गाधनी मारमा परेका हुन् । घर नजिक सडक हुँदैमा हरेक वर्ष मोटर हिँड्ने बाटोको कर तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनी बताउँछन् ।

स्थानीय सरकारले एकीकृत सम्पत्ति कर लिँदा लालपुर्जामा रहेको जग्गाको सबै हिसाब गरेर लिने गरेका छन् । सडकले ओगटेको भाग कटाएर मात्र लालपुर्जामा बाँकी रहने अन्य जग्गाको एकीकृत सम्पत्ति कर लिने व्यवस्था गरे उचित हुने स्थानीय बासिन्दा बताउँछन् । मुगिटारका गोपाल प्रसाईंको करिब डेढ रोपनी जग्गामा सडक निर्माण भएको छ । उनले उक्त जग्गाको समेत हरेक वर्ष नगरपालिकाले तोकेको एकीकृत कर तिर्नुपर्छ । ‘भोलिको दिनमा सडक राम्रो भइदियो भने आसपासका जग्गाको भाउ आउला भनेर अहिले महँगो भए पनि कर तिरेर चित्त बुझाएका छौं,’ उनले भने ।

सडक बनेका सबै क्षेत्र मुगिटारका जस्ता छैनन् । रामेछाप र मन्थली नगरका हरेक वडामा सडक पुगेका छन् । वडामा टोलैपिच्छे सडक छन् । तर ती कुनैको पनि रेखांकन भएको छैन । केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा कालोपत्रे भएको मिल्ती–मन्थली–सेलेघाट र मन्थली–रामेछाप सडकको समेत अझै नक्सा स्पष्ट छैन । साविकमा सडक रहेको भन्दा बढी क्षेत्रफलको जग्गा मुआब्जा दिई लिइएको थियो ।

‘हरेक सडक रहेको ठाउँको यकिन गरी नापी नक्सामा सडक कायम गरेपछि मात्र लालपुर्जामा सडक रहेको क्षेत्रफल घटाउन सकिन्छ,’ स्थानीय मानबहादुर श्रेष्ठ भन्छन्, ‘नापी भएर लालपुर्जा सुधार हुँदा कर तिर्नुपर्ने झन्झट पनि अन्त्य हुने थियो ।’

जिल्लामा ०३१ सालमा जग्गा नापी भएको हो । त्यसपछि बाढीपहिरोले जग्गाको स्वरूप बिगारेको छ । विगतमा खेतीयोग्य जग्गा हाल बगर र पहिरोमा परिणत भएका छन् । जिल्लामा पुनः नापीको कुरा बारम्बार उठे पनि सरकारले उक्त कार्यलाई प्राथमिकतामा नराखेको मालपोत कार्यालयमा लामो समय काम अवकाश पाएका उद्धवप्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार जग्गाको पुनः नापी हुँदा सबै सडक एकैपटक जिल्लाको नक्सा आउँथे, त्यसले जग्गाको यकिन क्षेत्रफल आउनुका साथै जग्गा प्रशासनलाई समेत सहज हुन्थ्यो ।

मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले सर्वसाधारणको गुनासोप्रति आफूहरू गम्भीर भएको प्रतिक्रिया दिए । ‘उहाँहरू मर्कामा परेको सुनेका छौं,’ उनले भने, ‘अब नगरपालिकाले यस विषयमा प्राविधिक अध्ययन थाल्नेबारे तयारी गर्नेछौं ।’

प्रकाशित : कार्तिक २२, २०७६ ०८:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT