१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शैलुङमा अरनिकोका बस निषेध

कान्तिपुर संवाददाता

दोलखा — थोत्रो गाडीमा बढी यात्रु बोकेका कारण बस दुर्घटना भएको भन्दै दोलखाको शैलुङ गाउँपालिकाभित्र पूर्वअरनिको यातायात प्रालिअन्तर्गतका सबै गाडी प्रवेश निषेध गरिएको छ । उक्त पालिकाभित्र सो प्रालिको शैलुङेश्वर यातायातको नामबाट दैनिक आठ वटा आउने र आठवटा बस जाने गर्थे ।

शैलुङमा अरनिकोका बस निषेध

शुक्रबार अरनिको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएपछि शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले १३ बुँदे माग राखी ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गरेको बताए । माग पूरा नभएसम्म उक्त कम्पनीका बसहरूलाई निषेध गरिने उनको भनाइ छ ।


कात्तिक १७ गते मागादेउरालीबाट छुटेको बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे पुगेपछि दुर्घटना भएको थियो । उक्त बसमा सवारमध्ये १८ जनाको मृत्यु भयो भने तीन वर्षीया बालिका रियुना तामाङ बेपत्ता छिन् । दुर्घटनामा परेकाहरू १६ जना शैलुङ गाउँपालिकाका र तीन जना उनीहरूका नातेदार हुन् ।


‘नरसंहार हुनेगरी भएको दुर्घटनामा शैलुङको अपुरणीय क्षति भएकाले यातायात सेवाहरूले यात्रुमैत्री र सुरक्षित बनाउका लागि पनि आन्दोलन गर्नुपरेको हो,’ अध्यक्ष दुलालले भने । दुर्घटनामा शैलुङका ३० भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहको छ । सुकुटे बस दुर्घटनापीडित संघर्ष समितिका संयोजक रिमालबाबु श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उक्त क्षेत्रमा सञ्चालित बसहरू जीर्ण अवस्थामा रहेकाले पनि दुर्घटना निम्तिएको उल्लेख छ । मानिस बस्ने सिटमा सामान ढुवानी गर्ने गरेको, यात्रुलाई अभद्र व्यवहार गर्ने गरेको, मनपरी भाडा असुल्ने गरेको, सिट क्षमताभन्दा अत्यधिक यात्रु बोक्ने गरेको उल्लेख छ । मृतक, घाइते, पीडित पक्षका बारेमा छलफल गर्न खोज्दा उक्त कम्पनीका व्यक्तिहरूले कुनै वास्ता नगरेको आरोप लगाइएको छ ।


‘पीडित पक्षलाई बेवास्ता र अपमान गर्ने, दुर्घटनाप्रति कुनै संवेदना नदेखाउने, पीडितलाई धम्की दिने उक्त जिल्लाको प्रहरी र प्रशासनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा छानबिनका लागि अपिल गर्छौं,’ गाउँपालिका अध्यक्ष दुलालले भने ।


सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले उक्त घटनालाई लिएर रातभरि बसेर पीडितपक्षको माग र गुनासो सुनिएको बताउँदै कानुनअनुसार मात्रै कार्य गरिएको बताइन् ।


पूर्वअरनिको यातायात कम्पनी कार्यालयले ज्ञापनपत्र दर्ता भएको जनाएको छ । कम्पनी अध्यक्ष चित्र कुवँर भने टेलिफोन सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित : कार्तिक २२, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?