कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक पदमा १९ उम्मेदवारी

भक्तपुरमा हुने उपनिर्वाचनमा राजनीतिक दलका ११ र स्वतन्त्रबाट १० जना गरी २१ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये दुई जनाको उम्मेदवारी बदर भएको छ ।
कान्तिपुर संवाददाता

(भक्तपुर) — मंसिर १४ मा हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ प्रदेशसभा १ (क) मा २१ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचनको कार्यालय भक्तपुरमा बिहीबार राजनीतिक दलका ११ र स्वतन्त्रबाट १० जना गरी २१ जनाले उम्मेदवारी दिएका हुन् । यसमध्ये दुई जनाको उम्मेदवारी बदर भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

एक पदमा १९ उम्मेदवारी

प्रतिनिधिसभा निर्वाचन–२०७४ मा समानुपातिक प्रणालीअन्तर्गत निर्वाचित हुने अन्तिम सूचीमा नाम भएका आमूल परिवर्तन पार्टीका डिल्लीप्रसाद चौंलागाईं र राप्रपा संयुक्त पार्टीका रामशरण लामिछानेको उम्मेवारी बदर गरिएको निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम बिसीले बताए ।

तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको हृदयघातबाट निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट देवीप्रसाद ढकाल (डीपी) ले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट उनले उम्मेदवारी दिएका थिए । कांग्रेसबाट कृष्ण भँडेलले उम्मेदवारी दिएका छन् ।

नेपाल मजदुर किसान पार्टीले निरज लवजुलाई उम्मेदवार बनाएको छ । लवजु पनि ०७४ को प्रदेशसभाका उम्मेदवार बनेका थिए । राप्रपाबाट श्यामप्रसाद नेपाल, समाजवादी पार्टीबाट सुदर्शन मुनंकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, साझा पार्टीबाट सुरज प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामा, नेपाली कांग्रेस बीपीबाट मधुसूदन न्यौपानेको उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रबाट कृष्णप्रसाद ह्योंगो, जीवन नेपाली, कृष्णराम पोटामाहा, अर्जुन कोजु, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, जीवनचन्द्र अधिकारी, संगीता पौडेल आचार्य, सुजता देउजाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता लागि मुख्य दलका कार्यकर्ताहरू नेवारी बाजागाजा, जुलुससहित मुख्य निर्वाचन कार्यालय पुगेका थिए ।

०७४ मंसिर २१ को निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित लामिछानेले १२ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेमकिपाका निरज लवजुले ७ हजार ११ मत ल्याएका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीप्रसाद ढकालले उम्मेवादी फिर्ता लिँदा पनि ७ सय ८४ मत पाएका थिए । ढकालले उम्मेदवारी फिर्ता लिएर लामिछानेलाई समर्थन गर्दा पनि ७ सय मत पाएका हुन् ।

यो प्रदेशमा चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको १० नम्बर वडा पर्छ । यस क्षेत्रका ४५ हजार १५ मतदाताले प्रदेशसभा उपनिर्वाचनमा मतदान गर्नेछन् । उपनिर्वाचनका लागि २२ मतदान स्थलमा ५४ मतदान केन्द्र तोकेको जनाएको छ ।


प्रकाशित : कार्तिक २२, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?