सुकुटेमा यात्रुबस दुर्घटना : माग पूरा नभए पनि शव बुझेर दाहसंस्कार

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सुकुटेमा यात्रुबस दुर्घटना हुँदा ज्यान गुमाएका १८ जनाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका छन् । 


अरनिको यातायातसमक्ष २० बुँदे माग राख्दै उनीहरूले सोमबार बाह्रबिसेदेखि सुकुटे क्षेत्रसम्म यातायात अवरोध गरेका थिए । शव दुर्गन्धित बन्न थालेपछि सबैको आग्रहमा शव बुझेर सद्गत गरेको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । मृतकहरूको शव बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको थियो ।

मृतकका आफन्तले प्रतिपरिवार २० लाख क्षतिपूर्ति, घाइतेको उपचार, पुराना बस हटाउनुपर्ने, दुर्घटनाको छानबिनलगायत माग राख्दै शव नउठाउने अडान लिएका थिए । अरनिको यातायात कम्पनीका प्रतिनिधि, दोलखाका सांसद पार्वत गुरुङ, प्रदेश सांसदद्वय पशुपति चौलागार्इं र विशाल खड्काले पीडित पक्षको मागबारे सम्बोधन गरेका थिए । अरनिको यातायात कम्पनीका अध्यक्ष चित्र कुँवर उपस्थित नभएपछि सोमबार राति १० बजे वार्ता समिति बनाइएको थियो । सांसद, दोलखा र सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र मृतकका परिवारबीच मंगलबार ३ बजेसम्म भएको छलफलमा पनि सहमति नजुटेको दोलखाका प्रदेश सांसद विशाल खड्काले बताए । ‘शवको अवस्था हेरेर उहाँहरूले बुझ्दै सद्गत गर्नुभएको छ, यसबारे पीडित परिवार र कम्पनीबीच सहमति गराउन थप वार्तामा जानेछौं,’ उनले भने ।

आइतबार दिउँसो दोलखाबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–सुकुटेमा दुर्घटना भएको थियो । बस सुनकोसी नदीमा खस्दा १५ जनाको घटनास्थलमै र उपचार क्रममा दुई जनाको मृत्यु भएको थियो । हराइरहेका उदयपुर चौदण्डी नगरपालिका–६ का २३ वर्षीय विजय तामाङको शव सोमबार सुनकोसी बगरमा शव फेला परेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

सोमबार दिउँसो नाराबाजीसहित आन्दोलनमा उत्रिएका पीडित परिवारले अरनिको कम्पनीका सबै यात्रुबस जलाउने धम्की दिएका थिए । आक्रोशित परिवारले सुकुटे क्षेत्रमा ४ घन्टा सवारीसाधन ठप्प पारे । ‘ठूलो दुर्घटना र क्षति धेरै भएकाले राज्यले तोकेबमोजिम क्षतिपूर्ति दिने कुरा छलफलमा राखेका छौं,’ अरनिको यातायात कम्पनी प्रालिका अध्यक्ष चित्र कुवँरले भने, ‘प्रतिपरिवार किरियाखर्चसहित ५ लाख ४० हजार दिने निश्चित गरेका हौं, तर उहाँहरूले मान्नुभएको छैन ।’

बन्यो छानबिन समिति
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार लगातार भइरहेको यात्रुबस दुर्घटनाको छानबिन समिति बनाएर अनुसन्धान सुरु गरिएको छ । यात्रुबसमा ओभरलोड, यान्त्रिक गडबडीदेखि ट्राफिक अनुगमन, सचेतनाजस्ता कुरालाई मुख्य मुद्दा बनाएर समितिले अनुसन्धान गर्नेछ । ‘अब यस्तो दुर्घटना नदोहोरिन दिन सुरक्षा संयन्त्र र अनुमगनको पाटोलाई नयाँ ढंगबाट लैजानेछौं,’ प्रहरी उपरीक्षक महर्जनले भने । उक्त क्षेत्रमा दुर्घटना भइरहने गरेका छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०९:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विश्व सम्पदामा बेवास्ता : कोतरिँदै स्वयम्भू

स्वयम्भूमा विश्व सम्पदाको गुण क्षय हुने गरी काम भइरहेको छ, नरोक्ने हो भने यो क्षेत्र खतरामा पर्न सक्छ
दामोदर न्यौपाने

काठमाडौँ — स्वयम्भूमा विश्वसम्पदाका मापदण्डविपरीत संरचना निर्माण भइरहेको छ । स्वयम्भूको मौलिकता नै मासिने गरी संरचना निर्माण भएपछि कुरूप बन्न लागेकोमा सरोकारवाला चिन्तित भएका छन् । यहाँ जंगल मासेर विहार बनेका छन् । कमजोर भौगोलिक अवस्था भएको स्वयम्भूको जमिनबाट पानी तानेर झन् कमजोर पारिएको छ ।

स्वयम्भू स्तूपवरिपरि आधुनिक निर्माण सामग्री राखेर धमाधम ढुंगा छाप्ने काम भइरहेको छ । ढुंगाको जडान सिमेन्ट र बालुवाको छ । प्राचीन स्मारक संरक्षण ऐनअनुसार विश्व सम्पदा क्षेत्रमा पहिला जुन निर्माण सामग्री प्रयोग भएको थियो, त्यही प्रयोग गर्नुपर्छ । ‘विश्व सम्पदामा सूचीकृत हुँदा जुन गुण थियो, त्यसमा ह्रास आउँदै गएको छ,’ युनेस्कोको सल्लाहकार संस्था इकोमस नेपालका अध्यक्ष काइवाइजेले भने, ‘स्वयम्भूमा विश्व सम्पदाको गुण क्षय हुने गरी काम भइरहेको छ । यसलाई नरोक्ने हो भने विश्व सम्पदा क्षेत्र खतरामा पर्न सक्छ ।’

विश्व सम्पदालाई असर गर्ने गरी बनेको अर्को संरचना हो, आनन्दकुटी महाविहार । महाविहार विस्तार क्रममा यहाँको खुला ठाउँ र जंगलसमेत सखाप पारिएको छ । २०७२ सालको भूकम्पले आनन्दकुटी विहारमा सामान्य क्षति भएको थियो । अहिले यहाँको परम्परागत बाटोसमेत थुनिएको ३० वर्षदेखि स्वयम्भूमा ‘मर्निङ वाक’ गर्दै आएका मधुसूदन श्रेष्ठ बताउँछन् ।

निजी स्वामित्वको विहारमा आधुनिक निर्माण सामग्री प्रयोग भएको थियो । पुरातत्त्व विभागका अनुसार विसं १९९८/९९ मा भिक्षु धम्मालोकले विहार स्थापना गरेका थिए । यहाँ रहेको बुद्धमूर्ति म्यान्मारका धर्म गुरुले उपहार दिएका हुन् । यही ठाउँमा श्रीलंकन चैत्य पनि छ । चैत्य र विहार दुवैको पुनर्निर्माण गर्न श्रीलंकाले आर्थिक सहयोग गरेको हो । विहारमा धर्म देशना र बौद्ध समारोह हुँदै आएको छ ।

उपत्यकाका धार्मिक जंगलमध्येमा पर्छ, स्वयम्भू । नेवार समुदायभित्रको बौद्धमार्गीमा गुँला पर्वका बेला एक महिनासम्म जंगल जाने परम्परा हुन्छ । १२ वर्षमा आउने नरदेवी जात्राको तयारी गर्ने बेला छोरा मान्छेलाई गुठीमा पस्न लायक बनाइन्छ । ६ देखि १२ वर्षसम्मका बालकलाई वनवास पठाउने चलन छ । एक दिन एकरात स्वयम्भूको जंगलमा जानुपर्छ ।

‘यति महत्त्वपूर्ण जंगल मासिँदै गएको छ । कसैलाई चासो छैन,’ श्वेतकाली नरदेवी १२ वर्षे मेला व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण डंगोलले भने, ‘जंगलको सौन्दर्य मासिने गरी भित्रभित्रै गैरकानुनी निर्माण भइरहेका छन् ।’

आनन्दकुटी महाविहारमा जाने बाटोमा कंक्रिट राखेर फलामका बार लगाइँदै छ । ‘यहाँ वर्षैपिच्छे नयाँ संरचना बनाइरहेका छन्, स्वयम्भू विकास महासमिति नै गैरकानुनी निर्माणमा लागेको छ,’ यस क्षेत्रमानियमित मर्निङ वाकमा आउने श्रेष्ठले भने, ‘सम्पदाको रक्षा गर्नुपर्ने निकायले नै संरक्षण गर्न सकेको छैन ।’

भगवान् पाउमा वरपर प्राचीन ढुंगामा जथाभावी तिब्बती अक्षर लेखिएका छन् । पाउसँगैको सिंहलगायतका मूर्तिमा रङ लगाएर विरूप पारिएको छ । भगवान् पाउछेउमै महानगरको स्वीकृतिमा मनाङ सेवा समाजले कंक्रिटको आधुनिक गेट बनाउन लागेको थियो । सम्पदा संरक्षण अभियन्ताले विरोध गरेपछि उक्त गेट महानगरले डोजर लगाएर भत्काइदिएको थियो ।

विवादमा विश्वशान्ति महाविहार
स्वयम्भू चैत्यको छेउमै रहेको विश्वशान्ति विहार (कर्मराज महाविहार) विवादमा परेको छ । सम्पदा संरक्षण अभियन्ताले चैत्य छेउको महाविहारमा आधुनिका कंक्रिट, रड, सिमेन्टजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । महाविहारले जंगल क्षेत्रसमेत मासेको उनीहरूको आरोप छ । विहारले भने जंगल नमिचेको बरु पुनर्निर्माण गर्दा विहारकै साइज घटाएको दाबी गरेको छ । ‘पहिलाको भन्दा तला र साइज घटाएका छौं,’ महाविहारका महासचिव राजेन्द्रलाल मानन्धर भन्छन्, ‘पहिला चार तला थियो, अहिले तीन तलामा झारेका छौं । पहिला आठ आनामा बनेको विहार अहिले छ आनामा छ ।’

संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोको मनिटरिङ मिसनले समेत विवादित महाविहारबारे जानकारी लिएको छ । युनेस्को टोलीलाई विहारका महासचिव मानन्धरले नियमसंगत तरिकाले बनाएको जानकारी दिएका थिए । ‘नियमसंगत बनाएको भए सर्वसाधारणले किन प्रश्न उठाए त ?’ युनेस्कोका काठमाडौं कार्यालयका प्रमुख क्रिस्चियन म्यानहार्टले प्रश्न गरेका थिए ।

‘खै किन गरे ? वास्तविकता नबुझेर विरोध गरेका होलान्,’ मानन्धरको जवाफ थियो, ‘हामीले सबै निकायबाट स्वीकृति लिएरै बनाएका हौं । महानगरले नक्सा पास गरेको छ । पुरातत्त्व विभागले अनुमति दिएको छ ।’

२०१५ सालमा निर्माण भएको महाविहारको विवाद २०१८ सालदेखि सुरु भएको हो । विहारको निर्माण तिब्बती लामाले गरेका थिए । निर्माणपछि केही समय यो खाली रहेकाले २०१९ सालमा सरकारसमक्ष उजुरी पर्‍यो । पछि मुद्दा नै चलेपछि यसको जिम्मा लामालाई नै दिइएको थियो । यो गुम्बा सुरुमा महायानी गुम्बाको रूपमा निर्माण भएको थियो । विश्वशान्ति गुम्बा राखिए पनि पछि यसको नामकरण तिब्बती गुम्बा गरियो । तिब्बती गुम्बालाई कर्मराज महाविहार नामकरण गरियो । यो गुम्बासँगै बुद्धमूर्ति पनि बनाइएको थियो । महाविहार पूर्ण रूपमा क्षति भएपछि यहाँको बुद्धमूर्ति बाहिरै प्लास्टिकले छोपेर राखिएको छ । भूकम्पअघि विहारको नाममा दुई आना तीन दाममात्र जमिन थियो । पछि मन्त्रिपरिषद्बाट निर्णय गराएर जग्गा बढाएको भन्दै सम्पदा संरक्षण अभियन्ताले आपत्ति जनाएका थिए । ‘वन मिचेर विहार बनाइयो । यही कारण स्वयम्भू चैत्य पनि खतरामा छ । एउटा बुद्धमूर्ति राख्न चारतले विहार किन चाहियो ?’ उनीहरूले प्रश्न गरेका थिए ।

‘२०२१ सालको नापीमा १४ आना ३ दाम नै रहेछ,’ विहारका महासचिव मानन्धर भन्छन्, ‘पछि जग्गा कता परेछ अनि मन्त्रिपरिषद्बाट निर्णय गराएरै महाविहारको नाममा पारिएको हो ।’ यसको जग्गाधनी गुठी संस्थान छ भने मोहीचाहिँ कर्मराज महाविहार हो ।

पुजारीलाई घर
महाविहारले नै यहाँका पुजारीका घर पनि बनाइदिएको छ । स्वयम्भू क्षेत्रमा बुद्धाचार्यको मात्र बसोबास छ । यहाँका पुजारी बुद्धाचार्य नै हुन्छन् । घर आफ्नो भए पनि यसको स्वामित्व आफ्नो हुँदैन । बस्न पाउँछन्, बेच्न पाउँदैनन् । महाविहारले नै पुजारीका १८ वटा घर बनाइदिएको छ । महाविहार र पुजारीका घरसमेत गरेर १३ करोड रुपैयाँ खर्च भएको छ ।

पुजारीलाई हात लिन घर बनाइदिएको आरोपमा पुजारी ईश्वरमान बुद्धाचार्यले भने, ‘महाविहारले पुजारीको घर बनाइदियो त अरूलाई किन टाउको दुख्नु ?’ भूकम्पले पुजारीको अधिकांश घर भत्किएका थिए । चार घरमात्र बस्न हुने अवस्थामा छन् । अहिले घर र महाविहार निर्माण अन्तिम चरणमा पुगेका छन् ।


प्रकाशित : कार्तिक २०, २०७६ ०९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT