२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुनकोसी दुर्घटना : शोकमा डुब्यो शैलुङ

गाउँपालिकाभरि रुवाबासी छ भने स्थानीय कार्यालय र विद्यालयहरु सोमबार शोकमा बन्द रहे    
राजेन्द्र मानन्धर

(दोलखा) — बस तीव्र गतिमा थियो । लाउडस्पिकरको ठूलो आवाजले बसभित्र आपसी कुरा गरेको सुनिदैनथ्यो । एक्कासी लाउडस्पिकर रोकियो । बसभित्र कोलाहाल मच्चियो— ऐया, आथ्या, बचाऊ बचाऊ । ‘बस सुनकोसी खोलामा आधा भाग डुब्दा मैले आफूलाई पानीमा डुबुल्की मादै गरेको पाएँ,’ धुलिखेल अस्पतालमा उपचार गराई रहेका घाइते आठ बर्षिय प्रवीण आले मगरले भने, ‘आधा शरीर खोलामा डुबेको आमाको हात समातेर तानेँ । आमा झन डुब्दै गएपछि हात छाडेँ ।’ आमाको काखमा बसेर कोचाकोच बसमा यात्रा गरिरहेको प्रवीणले दुर्घटनामा आमा सानु राउतलाई भने गुमाएँ । 

सुनकोसी दुर्घटना : शोकमा डुब्यो शैलुङ

सानैदेखि कराते खेल्न र पौडी जान्नका कारणले प्रवीण मृत्युको मुखबाट फुत्किएको उनका ठूलीआमा कल्याणी खड्काले भनिन्, ‘स्पिडले चलाएको र बढी मान्छे कोचेकाले गाडी खोलामा खस्यो ।’ आइतबार सिन्धुपाल्चोकको सुकुटेमा खोलामा खसेको बा२ख ७२४५ बस सुरुदेखि नै अनियन्त्रित भएको घाइते यात्रुहरू बताउँछन् । गाडी चल्न थालेदेखि नै कान फुट्लाजस्तो लाउडिस्पकर बजाइएको घाइते जीवन खड्काले बताए । कोचाकोच यात्रुका बसको कारण पाता भाँचिएपछि बाटामा मर्मत गरिएको थियो । मन नै झस्किने गरी कुदाइएको उक्त गाडी सुकुटेमा दुर्घटना हुँदा दोलखाको शैलुङ्गेश्वरको कम्तीमा १६ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे स्वास्थ्यचौकीमा शवहरू खात लगाएर राखिएका छन् । सानो कोठामा कोचेर राखिएको शवमध्ये दुईजना नाबालक छन् ।


शैलुङ्गेश्वर— ४ स्थित मानेडाँडामा उक्त नावालकहरूका हजुरआमा राम्री तामाङ भावविह्ल भेटिइन् । फेसबुकमा केहीअघि पोस्ट गरिएको साढे दुई वर्षीया नातिनी र १२ वर्षका नातिको तस्बिर हेरेर उनी भक्कानिन् । उनले भनिन, ‘काठमाडौं बस्ने नातिनातिनी दसैंतिहार मानेर फर्कंदा त्यस्तो अवस्था भयो ।’ उनीका अनुसार अझै एउटी छोरी बेपत्ता छिन । छोरा बुहारी भने सकुशल छन् । शैलुङ गाउँ शोकमा छ,’ सोमबार उक्त पालिका अध्यक्ष भरत दुलालले भने । दुर्घटनामा अधिकांश मृतक र घाइते शैलुङ गाउँपालिको परेपछि मृतक र घाइतेका घरमा रुवाबासी छ । उक्त गाउँका अगुवाहरू र सांसदहरू सिन्धुपाल्चोकको बाह्रबिसेमा मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि वार्तामा पीडित पक्षका तर्फबाट बसेका थिए । पीडितहरूले केहीबेर दुर्घटनास्थल सुकुटेमा सडक अवरुद्ध पारेका थिए ।


बसमा करिब ७० जना यात्रु भएको अनुमान छ । बाटोमा रोक्दै यात्रु हाल्दै अघि बढेको बस सिधा र खुला सडकबाट खसेको देखिन्छ । सिट क्षमताभन्दा बढी यात्रु कोच्ने समस्या अरनिको राजमार्ग र लामोसाँघु जिरी सडकमा चल्ने प्रत्येक यात्रुबाहक बसमा देखिन्छ । त्यसैको परिणाम यस्तो दु:खद् घटना भएको शैलुङ गाउँपालिका अध्यक्ष दुलालले भने । पालिकाभित्र ठूलो दु:ख आइपरेको जनाउँदै सोमबार स्थानीय कार्यालय, विद्यालयहरू बन्द गरिए । दुर्घटनामा उक्त पालिकाको वडा नं. ३, ४ र ५ का व्यक्ति परेका छन् ।

प्रकाशित : कार्तिक १९, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?