१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सुकुटेमा यात्रु बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो

अनिश तिवारी

(सिन्धुपाल्चोक) — चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सोमबारसम्म १८ पुगेको छ । आइतबार दिउँसो दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ७२४५ नम्बरको यात्रु बस सुनकोसी नदीमा खस्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको हो । उपचारका क्रममा धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा गरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

सुकुटेमा यात्रु बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो

उदयपुर चौदण्डी नगरपालिका ६ का २३ वर्षीय विजय तामाङको शव सुनकोसी बगरमा फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताए । दोलखा क्षेत्रका दुई जना हराइरहेको खबर आए पनि अझसम्म यकिन नभएको उनको भनाइ छ । शैलुंगेश्वरी यातायातको बस सुकुटे सडकछेउबाट अनियन्त्रित भई नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका २९ जना धुलिखेल अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीको तथ्यांक छ । ‘धुलिखेल अस्पतालमा १३, काठमाडौंको नर्भिक अस्पतालमा ३, ट्रमा सेन्टरमा १, शिर मेमोरियल बनेपामा २ र मध्यपुर अस्पतालमा २ जना गरी २१ जना उपचाररत छन्,’ डीएसपी काफ्लेले भने ।


क्षतिपूर्तिका लागि छलफल

मृतकले पाउनुपर्ने क्षतिपूर्तिका लागि बेवास्ता गरिएको भन्दै मृतकका परिवारले सुकुटे क्षेत्रबाट सवारी आवतजावत ठप्प पारेपछि शैलुंगेश्वरी/अरनिको यातायात समिति र मृतकका परिवारबीच छलफल सुरु भएको छ । बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारमा दुई घन्टा कुर्दा पनि समिति र प्रशासनका प्रतिनिधि नआएपछि आन्दोलित स्थानीयले नाराबाजी गरेका थिए । शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालको मध्यस्तता र रिमालबाबु श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।


र्‍याफ्टिङ बोट र स्थानीयले बचाए ४० को ज्यान सुनकोसीमा बस दुर्घटना भएको खबर सुनेलगत्तै सुकुटेका युवा उद्धारमा जुटेका थिए । दुर्घटना भएको पाँच मिनेट नबित्दै नदीमा हाम फालेर धेरैलाई बचाउन सफल भएको स्थानीय रमेश खड्काले बताए । ‘यहाँका आधा दर्जन रिसोर्टले तत्कालै र्‍याफ्टिङ बोटको प्रयोग गरे, जसबाट ४० जनालाई उद्धार गर्न सकियो । १० वटा शव निकाल्यौं,’ उनले भने ।


प्रकाशित : कार्तिक १९, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?