१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

फोहोरमैला व्यवस्थापनमा विवाद

नगेन्द्र अधिकारी

(काभ्रे) — बनेपा नगरको बजार क्षेत्रको फोहोर व्यवस्थापनमा विवाद चुलिएको छ । फोहोर जलाउने इन्सिमिनेटर मेसिन राख्ने क्रममा स्थानीयले अवरोध गरेपछि विवाद देखिएको हो । प्रहरी परिचालन गरेर नगरपालिकाले मेसिन राख्न ९ नं वडामा रहेको आफ्नो जग्गामा डोजर लगाउन लागेपछि स्थानीयसँग झडप भएको छ । प्रहरीले अश्रुग्यास नै चलाउनुपरेको छ । प्रहरी र स्थानीय दुवैतर्फ घाइते भएका छन् । 

फोहोरमैलाको समस्या भोगिरहेको नगरपालिकाले व्यवस्थापनका लागि सबै प्रकारका फोहोरलाई एकैपटक जलाउन मिल्ने ‘इन्डस्ट्रियल वेस्ट इन्सिनेटर’ जडान गरेर व्यवस्थापन गर्न तयारी गरेको थियो । बस्तीको बीचमा र कृषिको लागि छुट्याएको जग्गामा फोहोर जलाउने मेसिन राख्न लागेको भन्दै बनेपा–९ का स्थानीयले विरोध जनाउँदै आएका छन् । ‘त्यहाँ हामी फोहोर ल्याउन नै दिँदैनौं,’ वडा नं ९, ठकुरीगाउँका स्थानीय कृष्णकुमार श्रेष्ठले भने, ‘पूरै बस्तीलाई नै असर पर्ने भएकाले त्यसको विरोध गरेका हौं ।’ बस्तीको बीचमा र पानीको मुहानसमेत भएको भन्दै स्थानीयले दीर्घकालीन सोच राखेर व्यवस्थापन गर्न अनुरोध गर्दै आएका छन् । मेसिन जडान हुने भनिएको सो वडामा नगरपालिकाले तत्कालीन फ्रेन्च परियोजनामार्फत् कृषिका लागि आवश्यक बिरुवा उत्पादन र प्रविधि विस्तारका लागि किनिएको हो । स्थानीयले कृषि फर्म चलाउन लिजमा दिन अनुरोध गर्दा कृषिको कामका लागि छुट्याएको भनिएकोमा अहिले फोहोर व्यवस्थापनका लागि दिएकोमा स्थानीयले असन्तुष्टि जनाएका छन् ।


नगरपालिकाले पनि उक्त मेसिनबाट कुनै पनि प्रकारका फोहोर जलाउँदा धुवाँ, धुलो र ध्वनि प्रदूषण नहुने र हालसम्म २९ देशमा सफल परीक्षण भएको जनाएको छ । फोहोरमैला व्यवस्थापन समिति संयोजक रहेका उपप्रमुख रेखा सापकोटा दाहालले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठनले वातारणमैत्री र धुवाँरहित भनी प्रमाणित गरेको मेसिन प्रयोग गर्न लागेको जनाइएको छ । नगरप्रमुख लक्ष्मीनरसिं बादेले पटकपटकको परीक्षणपछि उपयुक्त लागेकाले जडान गर्न लागिएको बताउँदै आएका छन् ।


‘चुवा स्टार’ नामक जापानी कम्पनीबाट उत्पादन भएको भएको ‘सीएक्स ५’ मेसिनले एक दिनमा ८ घन्टाको दरले दैनिक ५ टन फोहोर जलाउन सक्छ । २ करोड ५० लाख मूल्य पर्ने उक्त मेसिनले फलाम र सिसाबाहेकका फोहोर जलाउन सक्छ । जलाउँदा निस्कने धुवाँलाई पानीको बाफले नियन्त्रण गर्ने भएकाले धुवाँ र गन्धसमेत नआउने दाबी कम्पनीको छ । पानी, डिजेल र बत्तीबाट चल्ने मेसिनबाट निस्कने तातो पानी नुहाउन, लुगा धुन प्रयोग गर्न सकिने र फोहोर जलाएर निस्कने खरानीबाट ब्लक निर्माण गर्न सकिने कम्पनीले जनाएको छ ।


५५ हजार जनसंख्या भएको बनेपामा दैनिक १० टन फोहोर जम्मा हुने गरेको छ । श्रीखण्डपुरस्थित आफ्नो जग्गामा फोहोर थुपार्न नगरपालिकालाई स्थानीयले अवरोध गरेपछि काठमाडौं नगरपालिकाको सहकार्यमा ठेकेदारमार्फत् सिसडोलमा व्यवस्थापन गर्दै आए पनि पछिल्लो समय फोहोर नउठाइदा बजार क्षेत्र दुर्गन्धित बनेको छ ।


फोहोरको दीर्घकालीन व्यवस्थापनको लागि भन्दै नगरपालिकाले १४ नं वडाको चतुरेमा जग्गा किनेपनि पूर्वाधार विकासको लागि समय लाग्ने भन्दै तत्कालको व्यवस्थापनका लागि नयाँ प्रविधि भित्र्याउन लागिएको हो ।

प्रकाशित : कार्तिक १९, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?