१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

आकाशे पुलको बजेट चार वर्षदेखि फिर्ता

प्रशान्त माली

काठमाडौँ — काठमाडौं महानगरपालिकामा पैदल यात्रुको चाप बढी हुने स्थानमा आकाशे पुल बनाउन छुट्याइएको बजेट चार वर्षदेखि फ्रिज हुँदै आएको छ । आर्थिक वर्ष ०७१/७२ देखि ०७५/७६ सम्म करिब १७ करोड ६४ लाख ६३ हजार ७ सय १९ रुपैयाँ फ्रिज भएको हो । यो बजेटबाट सवारी चाप बढी हुने टेकु, त्रिपुरेश्वर, बबरमहल (काठमाडौं जिल्ला अदालत), नयाँ बानेश्वर, पुतलीसडक, महाराजगन्ज, कोटेश्वर, चाबहिल, जयबागेश्वर चोकलगायतका स्थानमा पुल निर्माण गर्ने महानगरको योजना थियो । 

आकाशे पुलको बजेट चार वर्षदेखि फिर्ता

पर्याप्त बजेट हुँदा पनि समयमा पुल नबन्दा पैदल यात्रु जोखिम मोलेर बाटो काट्न बाध्य छन् । काठमाडौं महानगर भौतिक पूर्वाधार महाशाखाका प्रमुख उत्तर रेग्मीले महानगर एक्लैले मात्र चाहेर सबै ठाउँमा पुल बनाउन नसकिने बताए । ‘विभिन्न निकायसँग समन्वय गर्नुपर्छ,’ उनले भने, ‘कतिपय स्थानमा सडक विभागले स्वीकृति नदिँदा रोकिएको छ ।’ उनका अनुसार चाबहिल, कलंकी क्षेत्रमा सडक विस्तार गरिनसकेकाले पुल निर्माणमा ढिलाइ भएको छ । ‘सडक विस्तार गर्दा पुल भत्काउनुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘महानगरको आन्तरिक बजेट भएकाले फ्रिज हुँदैन । फेरि तानेर ल्याउन सकिन्छ ।’ उनले कतिपय स्थानमा डिजाइन स्वीकृत भएर टेन्डर गर्ने प्रक्रियामा रहेको बताए । ‘पुल निर्माण गर्न बाँकी रहेका स्थानमा यस वर्ष टेन्डर आह्वान गर्नेछौं,’ उनले भने ।


आव ०७१/७२ मा पुल निर्माण गर्न ५० लाख रुपैयाँ छुट्याइएको थियो । ३१ नम्बरमा २४ लाख ६५ हजार ४ सय ४७ छुट्याएकोमा १० लाख ७ सय २८ मात्र खर्च भयो । ०७२/७३ मा दुई वटा आकाशे पुल बनाउन एक करोड, ०७४/७५ मा चाबहिल र नयाँ बानेश्वरमा पुल निर्माण गर्न ३ करोड ५० लाख र ०७५/७६ मा १२ करोड बजेट विनियोजन भएको थियो ।


दुई वर्षअघि पाचौं अधिवेशनको पहिलो बैठकमा महानगरको विशेष महत्वको योजनाअर्न्तगत आकाशे पुल राखिएको थियो । त्यतिबेला नगर परिषद्ले रानीपोखरी, बालाजु बाइसधारा सौन्दर्यीकरण र आकाशे पुल निर्माण (त्रिपुरेश्वर, बानेश्वर, चाबहिललगायत) को सम्भाव्यता अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको थियो । पैदलयात्रीको आवागमनलाई सहज बनाउन आवश्यक भौतिक पूर्वाधारको विकास तथा विस्तार गर्ने रणनीति महानगरले लिएको थियो । भूमिगत मार्गसम्बन्धी सम्भाव्यता अध्ययन गरी निर्माण गर्ने, विद्यमान पुल र भूमिगत मार्गको नियमित मर्मत गर्ने योजना बनाएको थियो ।


काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले ती योजनालाई क्रमश: लागू गर्दै जाने बताए । ‘वीर अस्पताल, भद्रकाली, पुरानो र नयाँ बसपार्कका पुल मर्मत गरिनेछ,’ उनले भने, ‘चाबहिल चोक र जयबागेश्वरीमा यसै वर्ष निर्माण थाल्नेछौं ।’ उनले यसका लागि डिजाइन तयार भइसकेको जानकारी दिए । ‘माइतीघर पुरात्तत्व विभागअगाडि पुल बनाउन जग हाल्ने काम सकिइसकेको छ,’ उनले भने, ‘बानेश्वरमा बन्ने पुल सडकभन्दा पाँच मिटर अग्लो ३८ डायमिटरको हुनेछ ।’ मंसिरसम्ममा सक्ने गरी निर्माण सुरु गरिएको पुलको ठेक्का कोसी बिल्डर्स मोरङले ६८ लाख ७३ हजार १ सय ५३ रुपैयाँमा पाएको हो ।


ललितपुरमा उस्तै

ललितपुर महानगरपालिकामा पनि आकाशे पुलका लागि विनियोजित बजेट खर्च हुने गरेको छैन । आर्थिक वर्ष ०७४/७५ मा पुलका लागि एक करोड रुपैयाँ छुट्याइएको थियो । ०७४ माघमा बसेको नगर कार्यपालिकाको बैठकले सवारी चापलाई मध्यनजर गर्दै पाटन अस्पताल र लगनखेल साझा पसलअगाडि लिफ्ट सहितको आकाशे पुल निर्माण गर्ने निर्णय गरेको थियो । त्यस्तै सातदोबाटो, ग्वार्को, एकान्तकुना र चापागाउँ दोबाटोमा पनि पुल बनाउने निर्णय भएको थियो । तर, उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । यससम्बन्धी ललितपुर महानगरका प्रवक्ता राजु महर्जनसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।


पुल नहुँदा बाटो काट्ने जोखिम

महानगरभित्र करिब एक हजार ४ सय ५० किमि सडक छ । सवारी चाप बढी भएको सडकमा पुल नहुँदा पैदलयात्रु त्रासमा बाटो काट्न बाध्य छन् । यसले बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा छन् ।


नयाँ बानेश्वर चोकमा दैनिक झन्डै ७० हजार पैदलयात्री बाटो काट्ने र एक लाखभन्दा बढी सवारीसाधन गुड्ने अनुमान छ । पुल नहुँदा एकपटक बाटो काट्न चोकमा करिब १० मिनेटसम्म उभिनुपर्छ । वीर अस्पताल क्षेत्रमा प्रतिमिनेट १० जनाभन्दा बढी पैदलयात्रुले सडकबाट बाटो काट्ने गर्छन् । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलका अनुसार रत्नपार्क सडक मुलुकको व्यस्त सडकअर्न्तगत पर्छ । ‘सबै पैदलयात्रुलाई गन्तव्यमा पुग्न हतार हुन्छ । जथाभावी बाटो काट्दा सवारी दुर्घटना बढ्दो छ,’ उनले भने, ‘यसले जाम पनि निम्त्याउने गरेको छ ।’


उपत्यकामा हुने सवारी दुर्घटनामा मोटरसाइकल चालक बढी पर्ने गरेको सरकारी तथ्यांक छ । महाशाखाले गरेको अध्ययनमा ९ वर्षयता सवारी दुर्घटना संख्या ४७ हजार ८ सय ३२ पुगेको छ । जसमध्ये ३१ हजार ९५ वटा मोटरसाइकल/स्कुटर परेका छन् । कार, भ्यान र जिप २७ हजार ९ सय ६१ वटा छन् भने बसको संख्या ९ हजार ९ सय ६० छ । दुर्घटना बढ्नुका विभिन्न कारणमध्ये पर्याप्त आकाशे नहुनु पनि एक भएको महाशाखाका प्रवक्ता पौडेलले बताए ।


प्रकाशित : कार्तिक १७, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?