राप्तीतटमा एक दशकदेखि महोत्सव

सुवास विडारी

(मकवानपुर) — हेटौंडा–५ पिप्लेकी इन्दिरा न्यौपानेले छठ मनाउन थालेको एक दशक भयो । दसैं–तिहारजस्तै छठ पनि उत्तिकै महत्त्वपूर्ण भएकाले हर्षोल्लासपूर्वक मनाउने गरेको उनले बताइन् । 

तराई–मधेसको मुख्य पर्वको रूपमा रहेको छठले पछिल्लो समय पहाडी समुदायलाई पनि आकर्षित गर्न थालेको छ । सबै वर्गले यस पर्वलाई आत्मसात गर्न थालेपछि छठलाई हेटौंडामा ठूलो मेलाकै रूपमा मनाउन थालिएको छ ।


तराईमा जन्मिएकी न्यौपाने छठले तराई र पहाडी समुदायबीचको विभेदलाई अन्त्य गरी सद्भाव कायम राख्ने बताउँछिन् । ‘चार दिनसम्म विधिपूर्वक चोखो खाएर पूजा गर्ने गरेका छौं,’ उनले भनिन्, ‘चाडपर्वले एक–अर्कामा माया र सद्भाव बढाउने हुँदा सबै पर्वलाई उत्तिकै महत्त्व दिनुपर्छ ।’ हेटौंडा–४ का मनोज शर्माले पनि छठलाई निकै महत्त्वका साथ मनाउँदै आएका छन् । छठीमाताको पूजा गर्नाले दु:ख तथा रोग हटेर जाने विश्वास लिएको उनले बताए । ‘मलाई छठ पर्व तरााईवासीले मात्रै मनाउने हो जस्तो लाग्दैन,’ उनले भने, ‘दसैं, तिहार र छठ सबै पर्व मनाउँछु । कुन तराईको, कुन पहाडको भन्ने नै हुन्न, सबैमा बराबर आस्था र विश्वास छ ।’ आफ्नो सिंगो परिवारले नै छठको चार दिन निकै श्रद्वापूर्वक पूजाआराधना गर्ने गरेको उनले बताए ।


छठ पूजा समारोह समितिका संयोजक सुशीलकुमार बनियाँले हेटौंडा–१, राप्तीतटमा आयोजित मेलामा करिब ६ लाख रुपैयाँ खर्च गरेर ६ सय फिटको टेन्ट हालिएको जानकारी दिए । ‘बर्सेनि छठ पर्वलाई व्यवस्थित बनाउन समिति नै बनाएर १० वर्षदेखि काम गरिरहेका छौं,’ उनले भने, ‘पछिल्लो समय जनप्रतिनिधि चयन भएसँगै हामीलाई सहयोग भइरहेको छ ।’ मधेसीहरूको पर्वको रूपमा सीमित छठ एक दशकयता हेटौंडामा महोत्सवको रूपमा मनाउन थालेको उनले बताए ।


यसैबीच, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक सद्भावका लागि छठसहितका पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । छठ पूजा व्यवस्थापन समितिले हेटौंडा–१, राप्तीतटमा आयोजना गरेको कार्यक्रममा पौडेलले नेपालमा मनाइने विभिन्न पर्वलाई नेपालीको साझा चाडको रूपमा मनाउन सकेमात्रै समृद्धि र संविधान अक्षरश: पालना भएको ठहरिने चर्चा गरे ।

प्रकाशित : कार्तिक १७, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?