मोबाइल नेटवर्क नदिँदा रामेछाप बिर्तावासीलाई सास्ती

कान्तिपुर संवाददाता

रामेछाप — जिल्लाको धोवी र खिम्तीको बिर्ता क्षेत्रमा सहज सञ्चार सुविधा नहुँदा स्थानीयले कठिनाई झेल्नु परेको छ । ल्यान्डलाइन फोन सेवा नभएको उक्त क्षेत्रमा घाम लागे मात्र मोबाइलको टावर टिप्ने गरेकोले स्थानीयले सास्ती व्यहोर्नु परेको हो ।

'विर्ताबाट फोन सम्पर्क हुनु भनेको भाग्यको कुरा हो' खिम्ती बिर्ताका चक्रबहादुर श्रेष्ठले भने, 'गिद्धे र धोवी क्षेत्रमा कुहिरो देखिएपछि फोन बन्द हुन्छ ।' उनका अनुसार विर्ता, गैरी, केउरीनी क्षेत्रका बासिन्दा गाउँभन्दा केही टाढाको ज्यामिरेखानी डाँडामा पुगेर फोन सम्पर्क गर्न बाध्य छन् । धोवी बजारमा समेत टेलिफोन सम्पर्क गर्न सकिँदैन । धोवी बजारमा नेटवर्क समस्याले बैंक तथा वित्तीय संस्थाको काम समेत प्रभावित हुने गरेको छ ।

नेपाल टेलिकमले राखेको गिद्धे रिपिटर स्टेशनमा विद्युत् सेवा पुगेको छैन । उक्त टावर सञ्चालनका लागि सोलार राखिएको छ । विद्युत्‌का कारण टेलिफोन सञ्चालन नभएको भने हैन । टावरमा इन्धन सहितको जेनेरेटर रहेकोले विद्युत् नहुँदैमा सेवा अवरुद्ध हुँदैन । टेलिकम मन्थली शाखाका प्रदिप कार्की भन्छन् – 'गिद्धेको रिपीटरमा धेरै लोड भएका कारण समय-समयमा टेलिफोन सम्पर्क हुन गाह्रो भएको हो ।'
कार्कीका अनुसार धोवी क्षेत्रमा ल्याण्डलाईन फोन विस्तार गर्ने योजना अघि सारिएको छ । त्यसपछि त्यस क्षेत्रमा देखा परेको समस्या कम भएर जाने छ । यसअघि दुरागाउँमा रिपिटर स्थापना गरेकाले केही सहज भएको उनले बताए ।

प्रकाशित : कार्तिक १६, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अनि आक्रोशित देखिन्छन् मान्छेहरू

कृष्णबाबु श्रेष्ठ

एक्काइसौँ शताब्दीकै विशेष उपलब्धिको रूपमा लिन सकिने सामाजिक सञ्जालप्रति नकारात्मक अभिव्यक्तिहरू छताछुल्ल हुनथालेका छन् । कतिपय विद्वानहरूले यसलाई असामाजिक सञ्जालसमेत भनिदिएका छन् । सञ्जालमा हुने आलोचना र टिप्पणी बढी मात्रामा व्यक्ति केन्द्रित र आक्रोशपूर्ण देखिएको हो कि जस्तो भान हुन्छ । आलोचनामा हतारो बढी देखिन्छ, जसले तथ्यहीन, सतही र हचुवा पाराका खबरहरूको दबदबा बढिरहेको देखिन्छ । यस्तो अवस्था समग्र समाजको लागि खराब संकेत हो ।

तर धेरैले बुझेजस्तो सञ्जालले खराब वा नकारात्मक माध्यमको रूपमा मात्र काम गरिरहेको चाहिँ सत्य हैन । बरु मान्छेको नकारात्मक गतिविधि र समाचारप्रतिको बढ्दो चासोले यसका अनेकौँ योगदान र सकारात्मक पक्ष छायामा परेको हो ।

समाजमा सञ्जालका विविध रूपहरू सदाकाल जीवित छन् । अहिलेकै सञ्जालको स्वभाव बोकेको गतिविधि हिजोका दिनहरूमा हाम्रा चौतारा, पँधेरा, चिया पसलका भेटघाट, बसिबियाँलोमा सीमित थियो । अरुको चियोचर्चो, टिकाटिप्पणी गर्ने मानिसको स्वाभाविक चरित्र हो । सामाजिक भेटघाटलाई मानिसहरूले यस्तो अवसरको रूपमा लिने गर्छन् । यद्यपि यस्ता कार्यहरूले कतिपयको व्यक्तिगत जीवनमा प्रतिकूल असरसमेत पुर्‍याएको हुन्छ । तर मान्छेले यस्तो टिकाटिप्पणीको बानी त्याग्न सक्दैन । वैज्ञानिकहरूका अनुसार मान्छेमा निहित यस्तो चरित्रको लागि ‘फक्स पि टु’ नामक वंशाणु नै जिम्मेवार हुन्छ । यसैको उत्प्रेरणाले नै मान्छेले (बोल्ने) भाषाको विकास गर्नसकेको बताइन्छ । तसर्थ सामाजिक सञ्जाल समाजको सदृश चरित्र र मान्छेको वास्तविक मनोदशाको प्रतिविम्ब हो । अहिले त्यसले नूतन प्रविधिको आधारमा फराकिलो रूप ग्रहण गरेको मात्र होस्, फेसबुक, टुइटर, युट्युब आदिको रूपमा । अहिले संसारभरिकै सबै तह र तप्काका इच्छुक (सबै) मानिसहरूलाई एकै ठाउँमा भेला भएर अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न पाउने अवसर प्राप्त भएको छ, जुन चानचुने कुरा अवश्य हैन ।

नेपालकै हकमा समेत पछिल्ला दिनहरूमा सञ्जालले ‘नेपाल बन्द’, टायर बाल्ने, रेलिङ भाँच्ने, जुलुस, हड्तालजस्ता भौतिक स्वरुपका आन्दोलनभन्दा कैयौँ गुणा ठूलो शक्ति आर्जन गरेको हामीले महसुस गर्न थालेका छौँ । निर्मला हत्याकाण्डदेखि ‘केसी’ आन्दोलनसम्मका पछाडि सञ्जालको पुठ थियो भन्न अप्ठ्यारो मान्नु परोइन । मिहिन तरिकाले हेर्ने हो भने भौतिक द्वन्द्व र त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित भौतिक क्षतिलाई यसले वैचारिक अन्तरक्रिया, बहस (घोचपेच नै किन नहोस्) मा रूपान्तरण गरेको छ । जसको मूल्य सामान्य आँकलन गर्न मिल्दैन । त्यसो भए सञ्जालप्रतिको नकारात्मक बुझाइ अनावश्यक हो ? वा आधारहीन हो ?

सामाजिक सञ्जाल अहिलेको युगमा संसारलाई हेर्ने र बुझ्ने मुख्य माध्यम बनेको छ भन्नु अन्यथा नहोला । राज्यका तप्का, विचार निर्माणका मुख्य हकदार (विश्वविद्यालय, अनुसन्धान संस्थाहरू), नागरिक तह एवं सबका सब सञ्चार माध्यमहरू सञ्जालमा जोडिन बाध्य छन् । तर अहिलेको दृश्यले सञ्जालमा भ्रमपूर्ण विचारहरू हावी रहेको हो कि भन्ने प्रतित हुन्छ । यसको एउटा मुख्य कारण नागरिक तहमा पुगेको सञ्चारको पहुँच पनि हो । यसले सञ्चारको मूल्य र मान्यता थाहा नभएका व्यक्तिलाई समेत सञ्चारकर्मीको हैसियत प्राप्त भएको छ । यसो हुँदा आफ्नो सामग्रीलाई विश्वसनीय र गुणस्तरयुक्त बनाउनेभन्दा पनि ‘क्लिक र भिउज’ ले प्राथमिकता पाएको छ । यस्ता समाचारमा नकारात्मक गतिविधिको आधिक्य देखिनु स्वाभाविक हो । नकारात्मक समाचारहरूमा मानिसको ध्यान बढी जाने हुनाले सञ्चार माध्यमहरूको प्राथमिकता त्यस्तैमा बढी देखिन्छ । यस्तो समस्या विश्वका हरेक समाजमा छ । समाजको चित्र उतार्न, घटनाहरूको पर्दाफास गर्न, सत्य–तथ्य कुराहरू जनसमक्ष ल्याउन सञ्चार माध्यमहरूको भूमिका अहम् हुन्छ । कतिपय अवस्थामा भने सम्बन्धित सञ्चारकर्मीहरूको बुझाइमा समस्या रहेको अबस्थामा (नियतवश नभए पनि) उनीहरूले पस्कने गलत तथ्यका कारण कुनै पनि समाजको यथार्थभन्दा फरक र विद्रुप चित्र तयार भैरहेको हुनसक्छ ।

सामाजिक सञ्जाललाइ मात्र आधार मानेर विश्वब्यापी रूपमा घटिरहेका पछिल्ला घटनाहरूलाई गहिरोगरी केलाउने हो भने मान्छेहरूमा आक्रोश र निराशा बढिरहेको भान हुन्छ । मानिसहरू वर्तमान भोगिरहेका हुन्छन्, उसलाई आफूले भोगिरहेको समस्या नै सबैभन्दा ठूलो लाग्छ । उसलाई लागिरहेको हुन्छ, सबै नकारात्मक, असहज र विद्रुप घटनाहरू आफ्नै वरिपरिमात्र घटिरहेका छन् र आफू बाँचेको समाज सबैभन्दा खराब छ । कतिपय मानिस आजभन्दा हिजोका दिनहरू राम्रा भएको सन्देश दिइरहेका छन् र त्यस्तो बुझाइ राख्छन् । त्यही आधारमा ‘मेक अमेरिका ग्रेट अगेन’ नारा लिएर अमेरिकामा ट्रम्पको उदय भयो । ब्रिटेनमा ‘ब्रेक्सिट’ विजयको आधार पनि यस्तै बुझाइ थियो । यही र यस्तै बुझाइको जगमा थुप्रै देशमा अनुदार दक्षिणपन्थीहरूको लोकप्रियता केही हदसम्म बढेको देखियो । तर अहिलेका केही दिग्गज विचारकहरू यस्तो बुझाइलाई भ्रमपूर्ण मान्छन् । हार्वड विश्वविद्यालयका प्राध्यापक ‘स्टिभेन पिन्कर’ आफ्नो पुस्तक ‘एन्लाइटमेन्ट नाउ’ मा झन्डै ७१ वटा तथ्यांक चित्रको सहयोगमा अहिलेको अवस्थालाई विश्व इतिहासका कुनै पनि कालखण्डको तुलनामा शान्तिपूर्ण, समुन्नत र सुखी दाबा गर्छन् । तसर्थ तथ्याङ्कले देखाउने वास्तविक संसारभन्दा मानिसहरूले बुझिरहेको संसार धेरै फरक छ ।

१९८९ मा बर्लिन पर्खाल ढलेपछिका दिनहरूमा उदार पुँजीवाद र लोकतन्त्रको विस्तारमा ठूलो उपलब्धि हासिल भयो । विश्व स्तरमा समावेशिता, गरिबी निवारण, मातृ एवं शिशु मृत्युदरमा उल्लेख्य सुधार, शिक्षामा आम जनताको पहुँच, औसत आयुमा वृद्धि लगायत थुप्रै उपलब्धिहरू प्राप्त भयो । यस बीचमा मानव समाजबीच सद्भाव र अन्तरघुलनमा समेत विश्वले ठूलै उपलब्धि हासिल गरेको छ । तर कतिपय पश्चिमा मुलुकमा तेस्रो विश्वका मानिसहरूको आकर्षण र प्रवेश बढेपछि रैथाने आदिवासीहरू परम्परागत मूल्य–मान्यता भत्किन थालेकोमा चिन्तित भए । पूँजीवादले पैसालाई मात्र मुख्य महत्त्व दिँदा सामाजिक न्यायसहितको समाज निर्माणमा अवरोध सिर्जना भयो । जलवायु परिवर्तनका कारण उत्पन्न भैरहेका र भविष्यमा आउन सक्ने संकटबाट मानिसहरू आतंकितजस्ता देखिए । धेरैभन्दा धेरै देशहरू आर्थिक प्रगतिको बाटोमा भए पनि धनी र गरिब बीचको असमानता थेग्नै नसकिने ढंगले बढिरहेको मानिन्छ । यी सबै कारणको प्रतिक्रियास्वरुप मानिसहरू थुप्रै समूहमा असन्तोषपूर्ण ढंगले आक्रोश व्यक्त गरिरहेका छन् । भारतीय लेखक पङ्कज मिश्रले माथि उल्लिखित तथ्यको सेरोफेरोलाई समेटेर आफ्नो पुस्तकमार्फत अहिलेको अवस्थालाई ‘आक्रोशको युग’ का रूपमा चित्रित गर्न खोजेका छन् । तर मानिसहरूमा व्याप्त आक्रोश र निराशाका पछाडि उनीहरूको भ्रमपूर्ण बुझाइसमेत मुख्य कारक हुनसक्छ ।

स्वीडेनका प्राध्यापक (स्व.) हान्स रोसलिङ (ओला र अन्ना सहित) ले आफ्नो चर्चित पुस्तक ‘फ्याक्टफुलनेस’ मा मान्छेका १२ सहज, तर खराब चरित्रबारे तथ्याङ्कसहित व्याख्या–विश्लेषण गरेका छन् । यस्तो चरित्रका कारण सामान्यका कुरा छोडौँ, नीति निर्माण तहका उल्लेख्य पंक्तिसमेत भ्रमपूर्ण बुझाइबाट ग्रसित हुनपुगेका छन् । पुस्तकका अनुसार, ‘संयोगले भएका कतिपय कामका लागि हतारोमा हामी व्यक्तिको देवत्वकरण गर्छौं र भविष्यमा उसबाट निरन्तर त्यस्तै राम्रा कामको अपेक्षा गर्छौं ।’ उही व्यक्तिबाट सधैँ राम्रो काममात्र हुन्छ भन्नु यथार्थभन्दा बाहिरको कुरा हो । किनकि मान्छेबाट गल्ती नहुन सम्भव छैन र सधैं ऊर्जावान रहन पनि सम्भव छैन । किनकि मान्छेमा क्षमताको सीमितता हुन्छ । हामी सबैले भोगिआएको वास्तविकता हो यो । संयोगवश भैरहेका राम्रा कामको कारण कुनै व्यक्ति विशेषको हतारमा देवत्वकरण हुने, उसबाट सधैं त्यही स्तरको अपेक्षा राखिने, पूरा हुन नसक्दा फेरि दानवीकरण गरिहाल्ने परिपाटी हावी छ ।

रोसलिङले आनो पुस्तकमा मान्छेमा निहित ‘दोषारोपणको सहज प्रवृत्ति’ बारे पनि व्याख्या गरेका छन् । उदाहरणका लागि कुनै जिम्मेवार पदमा रहेको व्यक्तिले खराब काम गरेको समाचार आउँछ । उसमाथि अन्धाधुन्द प्रहार हुन्छ, खलपात्र घोषित गरिन्छ । तर हामी हेक्का राख्दैनौँ कि हाम्रो प्रणालीमा रहेको त्रुटि र छिद्रका कारण नै उक्त व्यक्ति त्यो स्थानमा पुग्न सफल भएको हो । यतिबेला हाम्रो प्रहार र ध्यान, प्रणालीको त्रुटितिर बढी मात्रामा केन्द्रित हुनुपर्ने हो, अक्सर त्यस्तो हुने गरेको छैन । बरु सामान्य अवस्थामा प्रणाली स्थापनाका लागि जिम्मेवारीमा रहेको व्यक्तिलाई समेत अक्सर गलत गर्न वा विधिलाई उल्लङ्गन गर्न उक्साइरहेका हुनसक्छौँ । राम्रो परिणाम वा अपेक्षित नतिजाको लागि नायक हैन, प्रणालीको महत्त्व ज्यादा हुन्छ । प्रणालीका कारण आफै भैरहेको राम्रो कामको श्रेय हामी व्यक्तिलाई दिएर प्रणालीलाई नजरअन्दाज गरिरहेका हुन्छौँ । तसर्थ दोषारोपणको सहज प्रवृत्तिबाट समाजलाई जोगाउँदै अघि बढ्न रोसलिङ दुई उपाय सुझाउँछन् : पहिलो, कुनै पनि घटनाका जिम्मेवारीका लागि खलपात्रको खोजी हैन, कारणको खोजी गर्नु आवश्यक छ । दोस्रो, राम्रो परिणामका लागि व्यक्तिलाई हैन, प्रणालीलाई मजबुत बनाउने बाटो अवलम्बन गर्नु आवश्यक छ ।

वास्तविकता फेरि के पनि हो भने समाजको द्रुत परिवर्तन सम्भव छैन । उसको परिवर्तन क्रमिक र ढिलो गतिमा हुन्छ । हाम्रो देशको हकमा पनि सत्य हो भने राजनीतिक परिवर्तनसँग सामाजिक परिवर्तनले कदम मिलाएरहिँड्नसकेको छैन । यसका लागि सामन्तवादले अखडा जमाएको हाम्रो संस्कृति र युग अनुकूल परीक्षण नगरिएको अवैज्ञानिक शिक्षा प्रणालीको समेत भूमिका हुनसक्ने सम्भावनातर्फ बहस थालनीमा ढिला भैसकेको छ । सुविधाजनक बहुमत प्राप्त अहिलेको सरकारको मूल उद्देश्य नै प्रणाली स्थापना गर्न, लोकतन्त्रका मानकहरूलाई जग दिन भूमिका खेल्नु र त्यसका लागि प्रतिबद्ध अगुवाइ गर्नु हुनुपर्ने हो । तर के वर्तमान सरकार र राजनीतिक नेताहरू यस्तो आदर्श जिम्मेवारीप्रति पूर्णरूपमा सचेत छन् ?

प्रकाशित : कार्तिक १६, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×