नारायणी र राप्ती तटबन्ध निर्माण सुस्त

रमेशकुमार पौडेल

(चितवन) — जिल्लालाई घेरेका दुई ठूला नदी नारायणी र राप्तीमा तटबन्ध गरेर बस्ती र खेतीयोग्य जमिन जोगाउने सरकारी योजना सुरु भएको दशक बिते पनि काम अधुरै छ । नारायणीमा चितवनतर्फ ३५ र नवलपुरतर्फ ६३ किलोमिटर तथा राप्तीमा १०५ किलोमिटर तटबन्ध गर्नुपर्नेछ । तर, अहिलेसम्म नारायणीमा चितवनतर्फ १४ र नवलपुरमा सुस्तासमेत गरेर ११.८ किलोमिटर तथा राप्तीमा २५ किलोमिटर मात्रै तटबन्धन भएको छ । 

आर्थिक वर्ष ०६६/६७ मा ‘जनताको तटबन्धन’ योजना सुरु भएको थियो । नदी तटबन्धनको काम सोही बेलादेखि सुरु भएको हो । अहिले आयोजनाको नाम फेरिएको छ । यो काम अहिले नारायणी नदी तटबन्धन परियोजना कार्यालयअन्तर्गत हुन्छ । तर नाम परिवर्तन भए पनि काम गर्ने शैली पुरानै छ । ‘नदी ठूलो छ, बजेट कम,’ नारायणी नदी तटबन्धन परियोजना कार्यालयका प्रमुख मेखनाथ शर्माले भने, ‘यो वर्षलाई चितवनतर्फको कामका लागि पाँच करोड रुपैयाँ बजेट आएको छ । जबकि तीन करोड रुपैयाँ पुरानो भुक्तानी बाँकी छ ।’ उनका अनुसार नारायणीमा चितवनतर्फ नारायणगढ पुलदेखि गोलाघाटसम्म पाँच मिटर फराकिलो तटबन्धन गर्दै लैजाने योजना छ । त्यसैगरी नवलपुरमा दाउन्ने नजिकको खण्डसम्म तटबन्ध हुनेछ । जनताको तटबन्ध आयोजना हुँदा यो काम सम्पन्न गर्न चितवनतर्फ तीन अर्ब ७९ करोड रुपैयाँ र नवलपरासीतर्फ ६ अर्ब ७२ करोड रुपैयाँ खर्च हुने तत्कालीन आँकलन थियो । तर, अहिलेसम्म भएको कामका लागि एक अर्ब ६१ करोड रुपैयाँमात्र खर्च भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । राप्ती नदीमा मकवानपुरको सामरी पुलदेखि चितवनको गोलाघाटसम्म तटबन्धन हुनेछ ।


राप्ती नदीमा अहिलेसम्म मकवानपुरमा ६ किलोमिटर तटबन्ध भएको छ । त्यसैगरी चितवनतर्फ पुरानो तटबन्धन १८ किलोमिटर छ । सौराहादेखि पश्चिममा एक किलोमिटर नयाँ तटबन्धन बनेको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १६ मा पर्ने मंगलपुर नारायणी नदी कटान र डुबानबाट प्रभावित क्षेत्र हो । बर्सातमा नदी उर्लंदा त्यो वडाका बासिन्दा त्रासमा हुन्छन् ।


‘बाढीको प्रभाव र त्रास ठूलो छ । तर नियन्त्रणका लागि भएको काम कछुवा गतिको छ । सायद बजेट कम भएर नै यस्तो भएको होला,’ भरतपुर–१६ का कार्यबाहक वडाध्यक्ष ओम रावतले भने ।

प्रकाशित : कार्तिक १६, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?