पुरानो लयमा फर्कंदै चित्लाङ

 रिसोर्टमा बदलिँदै छन् होमस्टे
 काठमाडौंमा बस्नेहरू गाउँ फर्कन थाले 
प्रताप विष्ट

(हेटौंडा) — त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । तराई झर्ने हुन् वा राजधानी प्रवेश गर्ने, यही नाका भएर ओहोरदोहोर गर्थे । राजधानी प्रवेश गर्ने अधिकांश बटुवा र भरियाहरूको बास चित्लाङमै हुन्थ्यो । ‘बटुवाहरूको लर्को नै लाग्थ्यो,’ मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङका ८१ वर्षीय बाबुकाजी मानन्धर सम्झन्छन्, ‘त्यतिबेला एक पैसाको चामलले एक जनालाई मजासँग खान पुग्थ्यो ।’ 

मानन्धरको आफ्नै पसल पनि थियो । जो पहिला आयो, उसैलाई चुल्हो भाडा दिने गरेको उनी बताउँछन् । ‘चुल्हो, दाउरा, चामल र बास बसेको एक यात्रीसँग चार पैसा लिन्थेँ,’ उनी करिब पाँच दशकअघिको समयतिर फर्किए, ‘मेरो घरमा मात्र भात पकाउने ६० वटा चुल्हो थियो, लहरै सुत्नका निम्ति परालको सुकुल ओछ्याएको टहरो हुन्थ्यो । छरछिमेकहरूले पनि बटुवाहरूका लागि यस्तै व्यवस्था गरेका थिए । कैयौं बटुवा घरमा बस्ने ठाउँ नपाएर पाटीपौवामा पनि बस्थे ।’

चित्लाङमा बास बसेर बिहान सबेरै चन्द्रागिरि डाँडा उकालो लाग्दा कमिलाका ताँतीझैं देखिन्थे मान्छेहरू ।

पैदलयात्रुले भरिभराउ हुने चित्लाङ त्रिभुवन राजपथ निर्माणपछि सुनसान बस्तीको रूपमा परिणत हुन थाल्यो । भत्केका पाटीपौवा र पुराना घरहरूमात्र देखिने चित्लाङ अहिले भने पुरानै लयमा फर्किंदै छ ।

‘पहिलाको भन्दा विकसित ढंगले चित्लाङ ‘कमब्याक’ भएको छ,’ चित्लाङवासी एवं पर्यटन बोर्डका अनुसन्धान र अन्वेषण निर्देशक मणिराज लामिछानेले भने, ‘विकासले ओझेलमा पारेको चित्लाङ पाँच दशकपछि विकासको नयाँ स्वरूपले बदलिएको छ ।’

केही वर्षयता मानिसहरू चित्लाङमा तानिन थालेका छन् । अब पहिलेजस्तो चुल्हो, दाउरा दिनुपर्दैन, यहाँ आउने पर्यटकहरू राम्रा होटल र होमस्टेहरूमा बस्न सक्छन् । ‘मान्छेहरू फेरि चित्लाङमा ओइरिन थाले,’ मानन्धर भन्छन्, ‘विगतको चित्लाङ बिलायो भनेको त झन् बौरिएर पो आयो ।’

पुराना पाटीपौवालाई मर्मतसम्भार गरिएको छ । अत्याधुनिक होटल स्थापना गर्न काठमाडौंका होटल सञ्चालकले जमिन खरिद गरेका छन् ।

थाहा नगरपालिकाको ९ र १० नम्वर वडामा विभाजित साबिकको चित्लाङ गाविसमा अहिले दैनिक आन्तरिक र बाह्य पर्यटकहरू टुट्दैनन् । ‘अधिकांश होमस्टे र रिसोर्ट भरिभराउ हुन्छ,’ गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले भने, ‘एक वर्षदेखि होमस्टे खाली भएको छैन ।’

होमस्टेमा धेरै मानिस खानबस्न आएकाले यहाँका केही होमस्टे सञ्चालकले रिसोर्ट नै स्थापना गरिसकेका छन् । होमस्टेहरू बिस्तारै सुविधायुक्त रिसोर्टमा बदलिँदै छन् । सुनसान भइसकेको गाउँमा यसरी पर्यटक आउलान् भनेर सायद बाबुकाजी मानन्धरले सोचेका थिएनन् । ‘मानिसको मात्र होइन, बस्तीको पनि दिन फिर्दो रहेछ,’ उनले हाँस्दै भने ।

केबलकार र सडक सुविधापछि चित्लाङको रूप बदलिएको स्थानीय निर्मल बलामीले सुनाए । उनका अनुसार आन्तरिक र बाह्य पर्यटकहरू आउन थालेपछि यहाँको जग्गाको मूल्य ह्वात्तै बढेको छ । ‘दुई वर्षअघिसम्म चित्लाङ बजार क्षेत्रमा धुरको एक लाख रुपैयाँमा जमिन खरिदबिक्री भइरहेको थियो । अहिले धुरको न्यूनतम पाँच लाखसम्म पर्छ,’ उनले भने । थानकोट–चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि जग्गाको भाउ बढेको उनले बताए । थानकोट–चित्लाङसम्मको सडक स्तरोन्नति सुरु भएपछि जग्गा भाउ नसोचेको ढंगले बढेको होमस्टे सञ्चालक राधाकृष्ण बस्नेत बताउँछन् । ‘जग्गाको भाउ त बढ्यो नै, पर्यटक पनि बढेका छन्,’ उनले भने, ‘शुक्रबार/शनिबार होमस्टे र रिसोर्टले धान्न नसक्ने गरी मानिसहरू आउँछन् ।’

सडकको स्तरोन्नति भएपछि यस क्षेत्रको महत्व अझ बढ्ने चित्लाङ रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताए ।

चन्द्रागिरिको काखमा रहेको चित्लाङमा अहिले आठवटा होमस्टे सञ्चालनमा छन् । तीनवटा निर्माणधीन छन् । सानाठूला गरेर १४ वटा होटल र लज चलिरहेका छन् । राजधानी नजिक भएकाले प्रत्येक साता एक हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटक यहाँ आउने गरेका छन् । होमस्टे सञ्चालक समितिका अध्यक्ष बस्नेतले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका साथै प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न पर्यटकहरू आउने क्रम बढेको बताए ।

थानकोटबाट १२ किलोमिटरको दुरीमा भएकाले अधिकांश पर्यटक यहाँ हिँडेर आउँछन् । चित्लाङ नजिकैको मानवनिर्मित इन्द्रसरोवरले पनि यहाँको आकर्षण थपेको हो । ‘बाख्राका दूधबाट चिज उत्पादन र जैतुन खेतीले पनि यस क्षेत्रको महत्वलाई अझ बढाएको छ,’ स्थानीय अशोकसिंह ठकुरीले भने ।

विभिन्न भाषाभाषीको आफ्नै वेशभूषा, बाजागाजा र संस्कृतिले भरिभराउ चित्लाङलाई पाँच वर्षअघि पर्यटन बोर्डले मुलुकको पहिलो पर्यटन गाउँको रूपमा घोषणा गरेको थियो ।

रोजगारी गर्ने गाउँ फर्किए
अहिले चित्लाङमा वनविज्ञान क्याम्पसका लागि पाँच करोडको लागतमा भवन निर्माण भइरहेको छ भने नौ करोडको लागतमा सरकारले आईटीपार्क बनाउन लागेको छ । साढे चार करोडको लागतमा प्रदेश–३ सरकारले चन्द्रागिरिमा हिलस्टेसन निर्माण गर्न शिलान्यास गरिसकेको छ । चीनको सहयोगमा चित्लाङको ताकाटारस्थित साढे सात सय रोपनीमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण हुँदै छ । पर्यटकीस्थल सँगसँगै शैक्षिक पूर्वाधारको निर्माण भइरहेकाले चित्लाङको आकर्षण बढेको हो । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको स्तरोन्नति भएपछि चित्लाङबाट बढीमा ३० मिनेटमा थानकोट पुग्न सकिन्छ । यो सुविधाले पनि काठमाडौंमा बसेर रोजगारी गर्नेहरू गाउँ फर्कन थालेका छन् ।

प्रकाशित : कार्तिक १६, २०७६ ०८:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

डोटीमा बस दुर्घटना, १ को मृत्यु, ३३ घाइते(अपडेट)

मोहन शाही

डोटी — जिल्लाको शिखर नगरपालिका २ गेरुपानीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १ को मृत्यु र ३३ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको यात्रुबाहक ना ७ ख ६१८१ नम्बरको बस शनिबार बिहान पौने ५ बजे सडकबाट तल खसेको थियो।

प्रहरी उपरीक्षक दिलिप सिं देउवाका अनुसार घाइतेहरुमध्ये ८ जनाको अवस्था गम्भीर छ। उनीहरुको थप उपचारका लागि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको छ। अन्य घाइतेहरुको डोटीको सुजङ , शैलेश्वरी , जिल्ला र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

अधिकांश यात्रु भारतबाट रोजगारी गरेर घर फर्कन लागेका तथा दसैं तिहारको बिदा सकेर गन्तव्य जान लागेका थिए।

यी हुन् घाइतेहरुको विवरण :
१-महोत्तरीको वर्दिवासका २८ वर्षीय महेश कोईराला
२-दाङका ४५ वर्षीय राजकुमार केसी
३-डोटीको सलेनाका ३० वर्षीय रेश्मा लुहार
४- डोटी बोगटानका २८ वर्षीय दुर्गासिंह विडारी
५-जोरायलका २८ वर्षीय कृष्ण बोहोरा
६-डोटीको सलेनाका २७ वर्षीय रामबहादुर विक
७-सलेनाकै २२ वर्षीया कल्पना विक
८-बोगटानकी बाटु नेपाली
९-डोटीकै ३७ वर्षीया मैना तिरुवा
१०-कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा
११-सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी
१२-मसुरियाका २० वर्षीय टेकबहादुर विक
१३-मसुरियाकै राजन बोहोरा
१४-पार्वती चौधरी २३ वर्षिय
१५-अछामका ३६ वर्षीय भीम बुढा
१६-अछामकै ३१ वर्षीय यज्ञ स्वार
१७-आकाश कुँवर
१८-२७ वर्षीया ईश्वरी सिंह
१९-बाजुराकी ३३ वर्षीया गंगादेवी थापा
२०-बाजुराकै २४ वर्षीया धानादेवी विक
२१-२६ वर्षीया कल्पना कुँवर
२२- दार्चुलाका १९ वर्षीय सागर पार्की
२३-२१ वर्षीय कृष्णबहादुर बम
२४-प्रेमबहादुर कुँवर
२५-कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु
२६-बर्दियाका २३ वर्षीय उज्जवल देवकोटा
२७-२३ वर्षीय दिलबहादुर सिंह
२८-खोटाङका विक्रम भट्टराई
२९- २८ वर्षीय लाल टमटा
३०-३८ वर्षीय मदनबहादुर जेठारा
३१-५८ वर्षीय चित्रबहादुर न्यौपाने
३२-सावित्री खड्का
३३-२८ वर्षीय लालबहादुर साउद

प्रकाशित : कार्तिक १६, २०७६ ०८:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×