२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पुरानो लयमा फर्कंदै चित्लाङ

 रिसोर्टमा बदलिँदै छन् होमस्टे
 काठमाडौंमा बस्नेहरू गाउँ फर्कन थाले 
प्रताप विष्ट

(हेटौंडा) — त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । तराई झर्ने हुन् वा राजधानी प्रवेश गर्ने, यही नाका भएर ओहोरदोहोर गर्थे । राजधानी प्रवेश गर्ने अधिकांश बटुवा र भरियाहरूको बास चित्लाङमै हुन्थ्यो । ‘बटुवाहरूको लर्को नै लाग्थ्यो,’ मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङका ८१ वर्षीय बाबुकाजी मानन्धर सम्झन्छन्, ‘त्यतिबेला एक पैसाको चामलले एक जनालाई मजासँग खान पुग्थ्यो ।’ 

पुरानो लयमा फर्कंदै चित्लाङ

मानन्धरको आफ्नै पसल पनि थियो । जो पहिला आयो, उसैलाई चुल्हो भाडा दिने गरेको उनी बताउँछन् । ‘चुल्हो, दाउरा, चामल र बास बसेको एक यात्रीसँग चार पैसा लिन्थेँ,’ उनी करिब पाँच दशकअघिको समयतिर फर्किए, ‘मेरो घरमा मात्र भात पकाउने ६० वटा चुल्हो थियो, लहरै सुत्नका निम्ति परालको सुकुल ओछ्याएको टहरो हुन्थ्यो । छरछिमेकहरूले पनि बटुवाहरूका लागि यस्तै व्यवस्था गरेका थिए । कैयौं बटुवा घरमा बस्ने ठाउँ नपाएर पाटीपौवामा पनि बस्थे ।’


चित्लाङमा बास बसेर बिहान सबेरै चन्द्रागिरि डाँडा उकालो लाग्दा कमिलाका ताँतीझैं देखिन्थे मान्छेहरू ।


पैदलयात्रुले भरिभराउ हुने चित्लाङ त्रिभुवन राजपथ निर्माणपछि सुनसान बस्तीको रूपमा परिणत हुन थाल्यो । भत्केका पाटीपौवा र पुराना घरहरूमात्र देखिने चित्लाङ अहिले भने पुरानै लयमा फर्किंदै छ ।


‘पहिलाको भन्दा विकसित ढंगले चित्लाङ ‘कमब्याक’ भएको छ,’ चित्लाङवासी एवं पर्यटन बोर्डका अनुसन्धान र अन्वेषण निर्देशक मणिराज लामिछानेले भने, ‘विकासले ओझेलमा पारेको चित्लाङ पाँच दशकपछि विकासको नयाँ स्वरूपले बदलिएको छ ।’


केही वर्षयता मानिसहरू चित्लाङमा तानिन थालेका छन् । अब पहिलेजस्तो चुल्हो, दाउरा दिनुपर्दैन, यहाँ आउने पर्यटकहरू राम्रा होटल र होमस्टेहरूमा बस्न सक्छन् । ‘मान्छेहरू फेरि चित्लाङमा ओइरिन थाले,’ मानन्धर भन्छन्, ‘विगतको चित्लाङ बिलायो भनेको त झन् बौरिएर पो आयो ।’


पुराना पाटीपौवालाई मर्मतसम्भार गरिएको छ । अत्याधुनिक होटल स्थापना गर्न काठमाडौंका होटल सञ्चालकले जमिन खरिद गरेका छन् ।


थाहा नगरपालिकाको ९ र १० नम्वर वडामा विभाजित साबिकको चित्लाङ गाविसमा अहिले दैनिक आन्तरिक र बाह्य पर्यटकहरू टुट्दैनन् । ‘अधिकांश होमस्टे र रिसोर्ट भरिभराउ हुन्छ,’ गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले भने, ‘एक वर्षदेखि होमस्टे खाली भएको छैन ।’


होमस्टेमा धेरै मानिस खानबस्न आएकाले यहाँका केही होमस्टे सञ्चालकले रिसोर्ट नै स्थापना गरिसकेका छन् । होमस्टेहरू बिस्तारै सुविधायुक्त रिसोर्टमा बदलिँदै छन् । सुनसान भइसकेको गाउँमा यसरी पर्यटक आउलान् भनेर सायद बाबुकाजी मानन्धरले सोचेका थिएनन् । ‘मानिसको मात्र होइन, बस्तीको पनि दिन फिर्दो रहेछ,’ उनले हाँस्दै भने ।


केबलकार र सडक सुविधापछि चित्लाङको रूप बदलिएको स्थानीय निर्मल बलामीले सुनाए । उनका अनुसार आन्तरिक र बाह्य पर्यटकहरू आउन थालेपछि यहाँको जग्गाको मूल्य ह्वात्तै बढेको छ । ‘दुई वर्षअघिसम्म चित्लाङ बजार क्षेत्रमा धुरको एक लाख रुपैयाँमा जमिन खरिदबिक्री भइरहेको थियो । अहिले धुरको न्यूनतम पाँच लाखसम्म पर्छ,’ उनले भने । थानकोट–चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि जग्गाको भाउ बढेको उनले बताए । थानकोट–चित्लाङसम्मको सडक स्तरोन्नति सुरु भएपछि जग्गा भाउ नसोचेको ढंगले बढेको होमस्टे सञ्चालक राधाकृष्ण बस्नेत बताउँछन् । ‘जग्गाको भाउ त बढ्यो नै, पर्यटक पनि बढेका छन्,’ उनले भने, ‘शुक्रबार/शनिबार होमस्टे र रिसोर्टले धान्न नसक्ने गरी मानिसहरू आउँछन् ।’


सडकको स्तरोन्नति भएपछि यस क्षेत्रको महत्व अझ बढ्ने चित्लाङ रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताए ।


चन्द्रागिरिको काखमा रहेको चित्लाङमा अहिले आठवटा होमस्टे सञ्चालनमा छन् । तीनवटा निर्माणधीन छन् । सानाठूला गरेर १४ वटा होटल र लज चलिरहेका छन् । राजधानी नजिक भएकाले प्रत्येक साता एक हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटक यहाँ आउने गरेका छन् । होमस्टे सञ्चालक समितिका अध्यक्ष बस्नेतले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका साथै प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न पर्यटकहरू आउने क्रम बढेको बताए ।


थानकोटबाट १२ किलोमिटरको दुरीमा भएकाले अधिकांश पर्यटक यहाँ हिँडेर आउँछन् । चित्लाङ नजिकैको मानवनिर्मित इन्द्रसरोवरले पनि यहाँको आकर्षण थपेको हो । ‘बाख्राका दूधबाट चिज उत्पादन र जैतुन खेतीले पनि यस क्षेत्रको महत्वलाई अझ बढाएको छ,’ स्थानीय अशोकसिंह ठकुरीले भने ।


विभिन्न भाषाभाषीको आफ्नै वेशभूषा, बाजागाजा र संस्कृतिले भरिभराउ चित्लाङलाई पाँच वर्षअघि पर्यटन बोर्डले मुलुकको पहिलो पर्यटन गाउँको रूपमा घोषणा गरेको थियो ।


रोजगारी गर्ने गाउँ फर्किए

अहिले चित्लाङमा वनविज्ञान क्याम्पसका लागि पाँच करोडको लागतमा भवन निर्माण भइरहेको छ भने नौ करोडको लागतमा सरकारले आईटीपार्क बनाउन लागेको छ । साढे चार करोडको लागतमा प्रदेश–३ सरकारले चन्द्रागिरिमा हिलस्टेसन निर्माण गर्न शिलान्यास गरिसकेको छ । चीनको सहयोगमा चित्लाङको ताकाटारस्थित साढे सात सय रोपनीमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण हुँदै छ । पर्यटकीस्थल सँगसँगै शैक्षिक पूर्वाधारको निर्माण भइरहेकाले चित्लाङको आकर्षण बढेको हो । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको स्तरोन्नति भएपछि चित्लाङबाट बढीमा ३० मिनेटमा थानकोट पुग्न सकिन्छ । यो सुविधाले पनि काठमाडौंमा बसेर रोजगारी गर्नेहरू गाउँ फर्कन थालेका छन् ।


प्रकाशित : कार्तिक १६, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?