कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कृषि उपकरण अनुदानको दुरुपयोग

नगेन्द्र अधिकारी

(काभ्रे) — धुलिखेलका रामप्रसाद न्यौपाने लक्ष्मीनारायण खाद्य स्टोर नामक किराना पसलका सञ्चालक हुन् । उनै न्यौपानेलाई कृषि ज्ञान केन्द्र काभ्रेले नारायण स्टोरका नाममा ५० प्रतिशत अनुदानमा मिनिटिलर (खेत जोत्ने ट्र्याक्टर) र पावर स्प्रेयर उपलब्ध गराएको छ । 

किराना पसल सञ्चालन गर्नेलाई अनुदानको ट्र्याक्टर किन भन्ने प्रश्नमा न्यौपानेले भने, ‘खेत नजोती खाद्यान्न नहुने रहेछ त । अरूलाई जोत्न पठाएको छैन, आफ्नै बारी जोतिरहेको छु ।’


यसबारे बुझ्दा ज्ञान केन्द्रका कर्मचारीले वितरणमा गल्ती भएको स्विकारे । ‘धेरै खेतबारी छ भन्दै आउनुभयो र बाध्य भएर हामीले दियौं,’ केन्द्रका सूचना अधिकारी थर्कबहादुर जीसीले भने, ‘हामीबाट पनि गल्ती कमजोरी भएका छन्, गैरकिसान हो भन्ने थाहा हुँदाहुँदै पनि दिनुपर्ने बाध्यता छ ।’


केन्द्रले गत आर्थिक वर्षमा ४ करोड ६८ लाख बराबरको कृषि उपकरण वितरण गरेको थियो, जसमा पसल सञ्चालक न्यौपानेजस्ता पनि परेका छन् । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मिनी टिलर, पावर टिलर विथ कल्टिभेटर, धान झार्ने, कोदो झार्ने, बीउ रोप्ने, मकै छोडाउने, भुस्सा काट्ने, वाटर पम्प, डिप फ्रिज, आलु खन्ने, चिलिङ भ्याटजस्ता कृषि उपकरणमा कृषि ज्ञान केन्द्रमार्फत अनुदान उपलब्ध गराएको थियो । दीपलक्ष्मी एग्रिगेट नामक क्रसर तथा खानी चलाइरहेका व्यवसायी प्रदीप बोगटीले पनि केन्द्रबाट अनुदानमा कृषि उपकरण लिएका छन् । केन्द्रका सूचना अधिकारी जीसीले कार्यविधिकै कारण दिनुपर्ने बाध्यता रहेको जिकिर गरे । ‘कार्यविधिले नै समूह, सहकारी, निजी वा साझेदारी फार्मलाई दिने भनेको छ,’ उनले भने, ‘प्रक्रिया पूरा गरेर आएपछि दिनुपर्ने बाध्यता हो, वास्तविक किसान होइनन् भन्ने थाहा हुँदाहुँदै पनि दिनुपर्ने बाध्यता भयो ।’


अनुदान पाउनेमा राजनीतिक दलका नेता–कार्यकर्ता, क्रसर व्यवसायीलगायत पहुँचवाला व्यक्ति छन् । अनुदानको ट्र्याक्टर बढी मूल्य लिएर बेच्नेले पनि प्रत्येक वर्ष अनुदानमा ती सामग्री पाउँदै आएका छन् । नेकपा नमोबुद्धका नेता हरि तिमिल्सनाले बीउ रोप्ने र धान झार्ने मेसिन अनुदानमा लिएका छन् भने निर्माण व्यवसायीसमेत रहेका बेथानचोकका नेकपा नेता रोशन तिमल्सिनाले ट्र्याक्टर र भुस्सा काट्ने मेसिन अनुदानमा लिएका छन् ।


कृषि ज्ञान केन्द्रले फर्जी नाममा पनि अनुदानका कृषि उपकरण वितरण गरेको छ । चालु आर्थिक वर्षका लागि पनि प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि यन्त्र उपकरण खरिद गर्न कृषक समूह, कृषि सहकारी, निजी फार्म, कृषि उद्यमीको सूचना प्रकाशित गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, आलु सुपरजोन कार्यालय काभ्रेले पनि यो वर्ष पनि अनुदानमा कृषि उपकरण वितरण गर्दै छ ।


प्रकाशित : कार्तिक १५, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?