१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सम्झौताको एक दशकपछि बहुप्राविधिक महाविद्यालय

प्रताप विष्ट

(हेटौंडा) — भारतसँग सम्झौता भएको एक दशकपछि हेटौंडामा बहुप्राविधिक महाविद्यालयको निर्माण सुरु हुन लागेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ मा नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय बन्ने भएको हो । निर्माणस्थलमा रहेका दुई हजार तीन सय ५१ वटा रुख कटान गरेर महाविद्यालयको निर्माण कार्य सुरु गर्न लागिएको महाविद्यालयका प्रशासन प्रमुख विष्णु घिमिरेले बताए । 

‘रुख कटान गरेर निर्माणस्थल तयारी अवस्थामा राखेको झन्डै दुई महिना बितिसक्यो, प्राविधिक कारण निर्माणमा ढिलाइ भएको थियो,’ उनले भने, ‘मंगलबार शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गर्नेछौं ।’ कटान गरिएकामा करिब एक हजार नौ सय सल्लाका र चार सयजति अन्य जातका रुख थिए । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले कात्तिक १९ गते महाविद्यालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । चित्रपानी सामुदायिक वनले उक्त महाविद्यालय निर्माण गर्न एक दशकअघि नै साढे २६ बिघा जमिन उपलब्ध गराएको थियो । नेपाल र भारतबीच राष्ट्रपतिस्तरमा २०६६ फागुन ४ गते सम्झौता भएको थियो । राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा जाँदा उक्त सम्झौता भएको हो । सम्झौताअनुसार हेटौंडामा जग्गा उपलब्ध गराएर तारबार लगाउने काम पनि तत्कालै गरिएको थियो ।


महाविद्यालय निर्माण कार्यको टेन्डर भारत सरकारले नै गत वर्ष निकालेको थियो । ५५ करोड लागतमा निर्माण हुने भवनको भारतीय टीसीआईएन निर्माण कम्पनीले ठेक्का पाएको छ । खानेपानी र विद्युत्को काम नेपाल सरकारको जिम्मेवारीमा छ ।


स्वास्थ्यबाहेक सम्पूर्ण प्राविधिक शिक्षा एकै स्थानमा पढाउन सकिने गरी महाविद्यालय स्थापना हुन लागेको हो ।


भारतीय अनुदानमा २६ वटा सुविधासम्पन्न भवन निर्माण हुनेछन् । शिलान्यास भएको दुई वर्षभित्र निर्माण कार्य सक्नुपर्ने समयावधि तोकिएको छ । पहिलो चरणमा उक्त विद्यालयमा डिप्लोमा तहको कम्प्युटर अर्थात् आईटी, मेकानिकल र इलेक्ट्री विषयको पढाइ हुनेछ ।


‘नगरपालिकाको मेयर हुँदाको सपना मुख्यमन्त्री भएपछि पूरा हुँदै छ,’ मुख्यमन्त्री पौडेलले भने ।


प्रकाशित : कार्तिक १५, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?