कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी फार्मेसीमा सामान्य औषधिसमेत पाइँदैन

फातिमा बानु

काठमाडौं — ढाड दुख्ने, खुट्टा गल्ने समस्याका कारण ट्रमा सेन्टरमा उपचाररत सम्झना सुनार औषधि किन्न अस्पतालको फार्मेसी पुगिन्  । शरीरमा भिटामिन र क्याल्सियमको कमीले यस्ता समस्या भएको भन्दै चिकित्सकले एक महिनाका लागि क्याल्सियम लेखिदिए  ।

सरकारी फार्मेसीमा सामान्य औषधिसमेत पाइँदैन

फार्मेसीमा लामो लाइन बसे पनि उनले उक्त औषधि पाइनन् । बाध्य भएर अस्पतालबाहिरको फार्मेसीबाट किन्नुपर्‍यो । ‘फलोअपमा आइरहनुपर्छ । डाक्टरले लेखिदिएको औषधि अस्पतालकै फार्मेसीमा पाइँदैन,’ उनले गुनासो गरिन् ।

आँखा दुख्ने समस्या भएर त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उपचारत मैयाँ महर्जनलाई चिकित्सकले ‘अलरचेक’ नामक औषधि लेखिदिए । उनले पनि अस्पताल फार्मेसीमा यो औषधि पाइनन् । उनी भन्छिन्, ‘बाहिर पनि नपाएपछि फर्केर अस्पताल नै गएँ, र डाक्टरलाई अर्कै औषधि लेखिदिन भनेँ ।’

२० दिनदेखि आमाको कलेजो उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल आएका पुरुषोत्तम थपलियालाई बुधबार राति चिकित्सकले सुगर नाप्ने औषधि (रिएजेन्ट) लेखिदिए । अस्पताल फार्मेसीमा नपाएपछि उनी आधा रातमा निकैबेर बाहिरका फार्मेसी चहार्न थाले । ‘औषधि नै नपाइने फार्मेसी पनि रातिसम्म किन खोल्दा हुन्,’ गुनासोमिश्रित आक्रोशमा उनी भन्दै थिए, ‘सस्तो औषधि पाइन्छ, महँगो त बाहिरै किन्नुपर्दो रहेछ ।’

सरकारी फार्मेसीमा औषधि नपाउने यी केही पात्रमात्रै हुन् । फार्मेसीमा सामान्य औषधि अभाव त छ नै क्यान्सर, मुटुजस्ता कडा रोगमा चल्ने औषधिसमेत नपाउँदा बिरामी भौंतारिइरहेका भेटिन्छन् । शिक्षण अस्पतालको फार्मेसीमा तीन महिनादेखि अभाव भएको अत्यावश्यक औषधि अझै पाइँदैन । विशेषगरी शल्यक्रियाका लागि प्रयोग हुने औषधि र उपकरण नपाइने बिरामीहरू बताउँछन् ।

अस्पताल फार्मेसीमा अहिले ‘मिडाजोलम इन्जेक्सन’ डिनफोस्फोड, ट्रामाडोलजस्ता दुखाइ कम गर्ने औषधि छैनन् । प्रसूति गृहको फार्मेसीमा औषधि किन्नेको भीड भएकै कारण बिरामीहरू निजी फार्मेसी जाने गरेका छन् । आकस्मिक उपचारका लागि तुरुन्तै औषधि आवश्यक पर्ने हुँदा बिरामीका आफन्त लाइन बस्दैनन्, बरु बाहिरका फार्मेसीबाट महँगो शुल्क तिरेर औषधि किन्छन् ।

फार्मेसी सेवा निर्देशिका–२०७२ अनुसार सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालनमा छन् । राजधानीका वीर, प्रसूति गृह, सरुवारोग अस्पताल, शिक्षणलगायत सबै सरकारी अस्पतालका आफ्नै फार्मेसी भए पनि बिरामीले सबै औषधि पाउँदैनन् । निजी फार्मेसीबाट बिरामी ठगिने गुनासो बढेपछि समाधानका लागि अस्पतालमा आफ्नै फार्मेसी खोलिएका हुन् । यसका लागि सरकारले अस्पताललाई ३० लाखसम्मको बजेट उपलब्ध गराएको थियो । तर, अस्पतालले आफ्नै फार्मेसीमा औषधि व्यवस्थापन गर्न नसक्दा बिरामी भने निजी फार्मेसीबाटै औषधि किन्न बाध्य छन् ।

फार्मेसीमा औषधि अभाव भए पाँच लाखसम्मको औषधि बिनाटेन्डर खरिद गरेर अभाव हटाउनुपर्ने नियम छ । बिनाटेन्डर औषधि खरिद गर्दा महँगोमा औषधि बेच्नुपर्ने अस्पताल प्रशासनको तर्क छ ।

औषधि खरिदको नयाँ टेन्डर प्रक्रिया चलिरहेकाले अभाव देखिएको शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्काले बताए । ‘टेन्डर प्रक्रिया झन्झटिलो छ । एउटै औषधिका लागि ४० कम्पनीले टेन्डर हाल्छन्, सबैको मूल्याकंन गर्नुपर्ने भएको प्रक्रिया लामो हुन पुग्छ,’ उनले भने, ‘चिकित्सकले टेन्डरबाहिरको औषधि सिफारिस गर्दा फार्मेसीमा नपाइने पनि हुन सक्छ ।’

शल्यक्रियाका औषधिका लागि बिरामीले बाहिर भौंतरिनुपर्ने समस्या समाधानका लागि वार्डमै औषधि पुर्‍याउने व्यवस्था गर्ने योजना शिक्षण अस्पतालमा लागू छैन । सरकारी फार्मेसीमा सबै औषधि उपलब्ध हुने हो भने बिरामीले बाहिरभन्दा ५० प्रतिशतभन्दा सस्तोमा औषधि पाउँछन् ।

प्रकाशित : कार्तिक १०, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?