छोराछोरीले तोक्छन्‌ बाबुआमाको उमेर 

राजकुमार कार्की

(बेसारे, सिन्धुली) — ‘कति वर्षकी हुनुभयो आमा ?’ सुनकोसी गाउँपालिका–१ गणेस्थान बेसारेकी सुकमाया मगरलाई धेरैले सोध्ने प्रश्न हो यो । 

बेसारे गाउँ पुग्ने प्राय:ले उनलाई हालखबरसँगै उमेर सोधेकै हुन्छन्, तर उनलाई आफ्नै उमेरको हेक्का छैन । ‘चारबीस’ पुगेकी सुकमायाको एउटै जवाफ हुने गरेको छ, ‘मलाई थाहा छैन ।’

सरकारले सामाजिक सुरक्षाबापत् दिएको भत्ता लिनका लागि बनाएको परिचयपत्र नै उनको उमेर खुलाउने प्रमाण बनेको छ । उनले नागरिकता पनि त्यही सामाजिक सुरक्षाभत्ता लिनकै लागि बनाएकी थिइन्, जसका आधारमा उनको उमेर चारबीस अर्थात् ८० प्रमाणित हुन्छ ।

‘छोराले अब भत्ता लिने बेला भयो, नागरिकता बनाउनुपर्छ भन्यो,’ उनले सुनाइन्, ‘नागरिकता बनेपछि भत्ता पनि पाइयो ।’ छोराले नै उनको उमेरबारे प्रशासन कार्यालयका कर्मचारीलाई खुलाएपछि नागरिकता बनेको थियो । त्यही नागरिकता नै बुढेसकालमा सुकमायाका लागि पेन्सनपट्टा बनेको छ ।

‘जन्मदर्ताको चलन नै थिएन, कपाल फुलेको र गाला चाउरिएको आधारमा छोराहरूले उमेर तोकिदिए,’ सुकमाया खित्का छाडेर हाँसिन् । सुकमाया मात्र होइन बेसारे गणेस्थान गाउँसँग जोडिएका घ्याम्पेटार, शिखरपुर, बाँसघारी, चिलाउनेटारका वृद्धवृद्धा धेरैजसोलाई आफ्नो उमेर थाहा छैन । गणेस्थानका खड्गबहादुर मोक्तानले आफू ‘चारबीस’ पुग्न लागेको सुनाए । ‘नागरिकताको कामै थिएन, उमेर जति भए पनि दु:ख गरेर खाने नै हो,’ उनले भने, ‘भत्ता पाउने भएपछि छोराहरूले लगेर नागरिकता बनाइदिए । उमेर पनि उनीहरूले नै राखिदिएका हुन् ।’

सन्तान र बुढ्यौली लाग्दै गएको शरीरलाई हेरेर उमेर तोक्दै यहाँका वृद्धवृद्धाको नागरिकता बनाउने गरिएको छ । छ छोरा र तीन छोरी रहेका खड्गबहादुर मोक्तान र सुकमाया दुवैले सामाजिक सुरक्षाभत्ता लिने गरेका छन् ।

‘उमेरमा जागिर खान गएको भए नागरिकता चाहिन्थ्यो होला, उमेर सोधीखोजी हुन्थ्यो होला,’ मोक्तानले भनिन्, ‘बिहे गर्दा उमेर सोधेनन्, त्यसपछि घरको कामधन्दाबाहेक अन्त ध्यान गएन ।’ त्यसबेला जन्मदिन मनाउने चलन थिएन । वयस्क भएकाहरूले आमाबुवालाई आफ्नो उमेर सोध्दा गाउँमा अनिकाल परेको, बाढी गएको, पहिरो झरेको घटनाका आधारमा जन्मदिन बताइदिन्थे । ‘जन्मेको सालसम्म पत्ता लागे पनि गते, महिना र बार भने पत्तै लाग्दैनथ्यो,’ अर्का वृद्ध टीकाराम पुलामीले सुनाए ।

सामाजिक सुरक्षाभत्ता लिएको १० वर्ष भएकाले अहिले आफैं उमेर पत्ता लगाउन सक्ने भएको उनले बताए । ‘खोरिया फाँडेर चार हलको मेलो बनाएको छु,’ चार छोरा र दुई छोरीका बाबु पुलामीको भने, ‘सरकारले भत्ता दिन्छ, दु:खम् सुखम् चलेकै छ ।’

जग्गाको तिरो तिर्न नपर्ने भएकाले पुर्जा नभएको जग्गामा खेती किसानी गर्दै आएका वृद्धवृद्धालाई वडाको सिफारिसमा नागरिकता दिएर सामाजिक सुरक्षाभत्ता दिने गरेको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष दिर्वुसिङ मोक्तानले बताए ।



प्रकाशित : कार्तिक ८, २०७६ १०:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जोखिमपूर्ण ढुंगो हटाइँदा गाउँले ढुक्क

राजकुमार कार्की

(गणेस्थान, सिन्धुली) — सुनकोसी गाउँपालिका १ गणेस्थान बेसारेकी ७५ वर्षीया सुकमाया मोक्तानलाई यतिखेर सहज भएको छ । नेपालीहरूको महानचाड बडादसैंसमेत अरूको घरमा मनाउन पर्दा उनलाई कम्ता दु:ख लागेको थिएन ।

चाडबाड नै थातथलो छोडेर बाहिर मनाउन पर्ने गरी दु:ख दिने ढुंगालाई फोडेर तह लगाएपछि सुकमायालगायत सिंगो गणेस्थानवासीलाई यतिखेर शान्ति मिलेको छ ।

‘कतिखेर ढुंगा झरेर किच्ने हो भन्ने सधैंको त्रास थियो,’ सुकमायाले भनिन्, ‘अनाहकमा मरिने चिन्ताले वर्षौंदेखि हामीलाई सताइरहेको थियो । कहिले छिमेकीकोमा त कहिले ओडारमा समेत रात काटियो ।’ दसैंअगाडिको वर्षाद्ले ढुंगा उप्किएपछि बढी त्रासदीमा उनीहरू थिए । सुकमायाकै श्रीमान् ८० वर्ष पुग्न लागेका खड्गबहादुरले ढुंगाका कारण धेरै दु:ख पाएको सुनाए ।

घरको सिधा माथि जंगलमा घरभन्दा ठूलो एउटा अजंगको ढुंगा थियो । ६ दशकअघिदेखि नै गणेशस्थानमा घरजम गरेर बसेका खड्गबहादुरलाई त्यसको मतलब थिएन । उनीहरूको दैनिकी चलिरहेको थियो । ०७२ को भूकम्पले पनि ढुंगा डेग चलेको थिएन । अब ढुंगा खस्दैन भन्नेमा उनी ढुक्क थिए । तर दसैं नजिक भएको वर्षादले ढुंगा उप्किएर सरेपछि भने उनीलगायत पूरै गाउँमा सन्त्रास छायो । ‘ढुंगा २ मिटर जति सरेपछि जुनसुकै बेला खस्छ भनेर हामी त्रासमा थियौं,’ खड्गबहादुरले भने, ‘त्यो ढुंगा खसेको भए धेरै ठूलो क्षति हुने निश्चित थियो ।’

खड्गबहादुरको परिवारले घ्याम्पेखोला पारि काभ्रेको रोशी गाउँपालिकाको बाँसघारीमा रहेको सम्धीको घरमा शरण लिएर यसपालिको दसैं मनाए । अघिपछि दिउँसो काम गरेर राति छिमेकीको घरमा सुत्न जाने गरेका उनीहरू दसैं भने चिन्तामुक्त भएर मनाउन घरपरिवारका सदस्य, बस्तुभाउ र चाहिने अन्नपात, लत्ताकपडा लिएर नै घर छाडेका थिए ।

बर्दबहादुर गणका सेनाले साता लगाएर ढुंगा फोडेर गणेशस्थानलाई यतिखेर सुरक्षित बनाएको छ । फुटाएर तह नलगाउँदा स्थानीयहरू दैनिक ढुंगाको अवस्था बुझ्न जंगल जाने गर्थे ।

छिमेकी गाउँका वासिन्दा तथा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष दिर्वुसिङ मोक्तानलाई ढुंगाका कारण गाउँ नै विस्थापित हुने सुनाएपछि स्थानीय प्रहरी चौकी हुँदै जिल्ला प्रशासन कार्यालयमार्फत सेनाको बर्दबहादुर गणमा खबर पुग्यो । बेसारे गणेस्थानका बासिन्दालाई सुरक्षित गर्न जोखिम मोलेर ढुंगा फोडेर हटाएको बर्दबहादुर गणका गणपति राजीव थापाले बताए । भन्छन्, ‘ढुंगा उप्किएर सरेकाले पार्टपार्ट गरेर फोरियो ।

एकैपटक फुटाउँदा गाउँमा क्षति हुने सम्भावना थियो ।’ अहिले गणेस्थानका २१ घरपरिवार आफन्तको शरण र ओडारको बासबाट मुक्त भएका छन् । उनीहरूले गाउँमै रहेको गणेस्थान मन्दिरमा ढुंगा झरेर घरपरिवार तथा गाउँमा क्षति नहोस् भनेर भाकलसमेत गरेका थिए । बीपी राजमार्गको नेपालथोकबाट घ्याम्पेखोला हुँदै करिब १० किलोमिटर माथितिर गएपछि गणेस्थान पुगिन्छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १२:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT