२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मकवानपुरबाट तुइन विस्थापित गर्ने योजना

प्रताप विष्ट

(हेटौंडा) — चालु आर्थिक वर्षमा डेढ दर्जन झोलुंगे पुल निर्माण गरेर मकवानपुर जिल्लाबाट तुइन विस्थापित गरिने योजना अघि बढाइएको छ ।

जिल्लाका आठवटा स्थानीय तहमा आव २०७६/०७७ मा १८ वटा झोलुंगे पुल निर्माण गरेर बाँकी रहेका चारवटा तुइन विस्थापित गर्न लागिएको हो । जिल्लामा तीन वर्षअघिसम्म १६ वटा तुइन थिए । पुल निर्माण गरी १२ वटा तुइन हटाइएको राडो नेपालका इन्जिनियर चन्द्र योन्जनले बताए ।


जिल्लाको पूर्वी क्षेत्रको वाग्मती र पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ गाउँलिकामा दुई/दुईवटा मात्र तुइन बाँकी छन् । ‘विस्थापित गर्न बाँकी तुइन खासै चल्तीका होइनन्, यो वर्ष ती हट्छन्,’ इन्जिनियर योन्जनले भने ।


वाग्मती गाउँपालिकाको चिरुवा र भीमादमा एक सय २० मिटर लामो २ वटा झोलुंगे पुल बन्ने भएका हुन् । दुवै पुलको लागत ५०/५० लाख रुपैयाँको रहेको छ ।


हेटौंडा उपमहागनरपालिका—१ चौकीटोलस्थित राप्ती खोलामा रहेको तुइन विस्थापित गर्न चार वर्षअघि नै झोलुंगे पुल निर्माण गरिसकिएको छ । तुइनभन्दा करिब एक सय ५० मिटर तल पुल बनाइएपछि स्थानीयवासी जोखिम मोलेर तुइन नै प्रयोग गरिरहेका छन् । भीमफेदी गाउँपालिकाको त्रिखण्डी र जयलटारमा गरेर दुई झोलुंगे पुलको निर्माण गरिँदै छ । ७६ मिटर लामो बन्ने पुलले त्रिखण्डी मन्दिर आउजाउमा सहज हुनेछ । क्षेत्र विकास कार्यक्रमअन्तर्गत मकवानपुरगढी–२ र इन्द्रसरोवर गाउँपालिकामा एउटा झोलुंगे पुल निर्माण गर्ने कार्यक्रम छ । चालु आवमा राक्सिराङ गाउँपालिकाका कोखारी, दामराङ, कोथरी साहीटार र घोरकोटेमा गरी चार वटा झोलुंगे पुल निर्माण हुँदै छन् । जिल्लाकै अर्को दुर्गम कैलाश गाउँपालिकामा तेनराङ—रातोमाटे, आमडाडा—गिम्दी र चेपाङ खर्क–गोलढुंगा जोड्न तीन वटा झोलुंगे पुल बन्दै छन् । मनहरिको मकरी—भुन्दुङमा एक सय १९ मिटर लामो झोलुंगे पुल बन्ने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।


यसैगरी हेटौंडा उपमहानगरभित्र चालु आवमा नै तीनवटा पुल निर्माण हुने भएका छन् । हेटौंडा उपमहानगरपालिका—१९ स्थित चुर्लिङ खोलामा पुल निर्माण उपभोक्ता समिति गठन भइसकेको छ । ‘काम अब छिट्टै सुरु हुन्छ,’ इन्जिनियर योन्जनले भने ।


हेटौंडा उपमहानगरपालिका—८ राजपानीमा ३७ लाखको लागतमा पुल बन्न लागेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । यसैगरी हेटौंडा उपमहानगरपालिका—९ त्रिवेणीधाममा पनि करिब ६४ लाखको लागतमा झोलुंगे पुल निर्माण गर्न लागेको योन्जनले जानकारी दिए ।


राडो नेपालको प्राविधिक सहयोगमा झोलुंगे पुल बन्न लागेका हुन् । ती पुलको कुल लागत ७ करोड २४ लाख १३ हजार ८ सय ८३ रुपैयाँ रहेको छ । उक्त लागतमध्ये क्षेत्र कार्यक्रम (स्वाप) ले ९२ प्रतिशत, सम्बन्धित स्थानीय तहले ६ प्रतिशत र उपभोक्ताले २ प्रतिशत रकम लगानी गर्नेछन् । झोलुंगे पुलको डीपीआर गरिसकेको छ भने उपभोक्ता समिति पनि बनिसकेका छन् ।

प्रकाशित : कार्तिक ८, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?