कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फौजीको प्रकोप : ‘बोटै सुक्यो, कता मकै फल्नु’

टीकाप्रसाद भट्ट

(रामेछाप) — रामेछाप मन्थली–१ सानिमदौंका किसानलाई एकै वर्ष दुइटा पिरलो आइलाग्यो । रणजोर खोलामा पानी नपाएपछि तीन सय वर्षदेखि धान रोपाइँ हुने खेतमा उनीहरूले मकै छरे । तर, बोटै सुकेपछि उत्पादन नहुने भएको छ ।

फौजीको प्रकोप : ‘बोटै सुक्यो, कता मकै फल्नु’

‘धेरै खर्च गरेर मकै रोपियो,’ स्थानीय किसान हरिकृष्ण थापाले भने, ‘अमेरिकन फौजी किराले स्वाहा बनायो । एक घोगो पनि भित्रिने अवस्था छैन । बोटै सुक्यो, कता मकै फल्नु ।’


तीन महिनाअघि रामेछापको भीरपानीमा देखिएको अमेरिकन फौजी किराको प्रकोप दक्षिणी रामेछापका अधिकांश क्षेत्रमा पुगेको छ । रामपुर, हिमगंगा, साँघुटार, देउराली, ओख्रेनी, सुकाजोर, रामेछाप, मन्थली, कठजोर, चिसापानी, भटौली, पकरवास, मझुवा, भलुवाजोर, राकाथुम, खनियापानीमा यसको असर धेरै छ । पाखो जमिनमा लगाएको मकैबालीमा फौजीले धेरै असर पुर्‍याएको छ ।


कृषि ज्ञान केन्द्रका प्रमुख दिनेश आचार्यले सुरुकै अवस्थामा उपचार गर्न सक्यो भने मात्र फौजी किरा नियन्त्रण गर्न सकिने बताए । त्यो पनि एकैसाथ सबैले अभियान चलाउनुपर्छ । ‘सुरुमा पातको भित्रपट्टि फुल पारेको थाहा पाउन सकिएन भने फौजीले सक्छ,’ उनले भने, ‘थोरै किसानले विषादी छर्दैमा फौजी नियन्त्रण गर्न सकिँदैन ।’ एउटा पुतलीले सयौंको संख्यामा फुल पार्ने र त्यसबाट निस्केको लार्भाले मकै र अन्य बाली सखाप बनाएर खाने उनले बताए । रातिको बेला सक्रिय हुने फौजी किराले पात, काण्ड र मकैको घोगालाई पनि छोड्दैन । प्यूपा अवस्थामा माटोमा बस्ने फौजी पुतली भएपछि एकैपटकमा एक सय किलोमिटरसम्म उडेर अन्यत्र जान सक्छ । लामो दुरी एकैपटक उड्न सक्ने भएकाले रोग पनि त्यही हिसाबमा फैलिरहेको आचार्यले बताए ।


दुई वर्षअघि अमेरिकामा देखापरेको फौजी किरा गत वर्ष भारतको दक्षिणी क्षेत्रमा देखिएको थियो । यो वर्ष नेपालका पहाडी क्षेत्रमा फैलिएको छ । फौजी किराले सबैभन्दा बढी मकैबाली रुचाउने गर्छ । कमलो पात र काण्डमा फौजीको प्रकोप बढी हुन्छ । दिउँसोको समयमा लुक्नुपर्ने भएकाले मकैबाली फौजीका लागि सहज भएकाले पनि बढी विनाश गरेको छ ।


किसानहरूले धानबालीमा पनि फौजीको प्रकोप देखिएको दाबी गरेका छन् । कृषि ज्ञान केन्द्रले सुरुमा फौजी किरा नियन्त्रणका लागि स्थानीय तहसँग मिलेर विषादी छर्ने काम गरेको थियो । त्यसले किरा नियन्त्रणका लागि प्रभावकारी काम भएन ।


पाखो जग्गाको भरमा वर्षको तीन महिना खान पुग्ने उत्पादन हुने मकै फौजीले स्वाहा बनाएपछि रामेछापवासी चिन्तित भएका छन् ।

प्रकाशित : कार्तिक ८, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?