गलत रगत चढाइँदा मृत्यु : परिवारले अझै न्याय पाएनन्

फातिमा बानु

काठमाडौं — गलत रगत चढाउँदा ज्यान गुमाएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति साहका आफन्त न्याय माग्दै प्रहरी, मानवअधिकार आयोगदेखि अदालतसम्म धाइरहेका छन् । तर, घटनाको ६ महिना बितिसक्दा पनि साहका परिवारले न्याय पाएका छैनन् । 

मुटुको समस्या भएर गत वैशाख १३ गते बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पताल भर्ना भएकी साहको १७ गते शल्यक्रिया भएको थियो । वैशाख २३ गते अस्पतालले बालिकाको मृत्यु भएको घोषणा गर्‍यो । तर, बालिकाका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘ओ’ पोजेटिभ रगत समूह भएकी बालिकालाई ‘ए पोजेटिभ’ रगत चढाइएको थियो ।


बालिकाको शरीरमा गलत रगत चढिसक्दा पनि अस्पतालले आफ्नो लापरबाहीको प्रमाण मेटाउन केरकार गरी मेडिकल रेकर्डका कागजात बिगारेको थियो । उपचारमा अस्पतालका तत्कालीन निर्देशक डा. ज्योतिन्द्र शर्मा, डा. रवीन्द्रभक्त तिमिला र डा. नवीनचन्द्र गौतम संलग्न थिए ।


घटनालगत्तै उजुरी दर्ता गर्न जाँदा महाराजगन्जस्थित चक्रपथ प्रहरी कार्यालयले उजुरी लिनै मानेन । सरकारी वकिल कार्यालय र जिल्ला अदालतमा मुद्दा दर्ता भएन । ‘महिनौंदेखि उच्च अदालत धाइरहेका छौं, पेसीमात्रै सरिरहन्छ,’ मृतक बालिकाका आफन्त सुरेन्द्र साहले भने, ‘न्यायको आशा गर्ने कुनै आधार पाइएन ।’ उपचारमा संलग्न चिकित्सकको नाम तोकेरै निवेदन दिँदा पनि प्रहरीले उजुरी नलिएको उनले सुनाए ।


प्रहरीमा उजुरी दर्ता नभएपछि आफन्तले न्यायका लागि मेडिकल काउन्सिल, मानवअधिकार आयोग, महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय गुहारे । तर, कतै सुनुवाइ भएन । अस्पतालले आर्थिक प्रलोभन दिँदा पनि न्यायका लागि लडिरहेको साह बताउँछन् । आफन्तले न्याय नपाएसम्म बालिकाको शव नै नबुझ्ने अडान लिए । शव एक महिनासम्म महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागमा अलपत्र भयो । बालिकाको उपचारमा लापरबाही नै भएको भन्ने शवको पोस्टमार्टमले समेत पुष्टि भएन । पोस्टमार्टम रिपोर्टमा बालिकाको मृत्युको स्पष्ट कारण खुलेको छैन ।


घटनाको करिब दुई महिनापछि मेडिकल काउन्सिलले डा. भगवान कोइरालाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्‍यो । अनुसन्धानबाट बालिकाको शरीरमा गलत रगत नै चढेको पुष्टि भइसकेको छ । रगत चढाउने प्रक्रियामा ल्याब इन्चार्ज विन्देश्वर यादव र टेक्निसियन सरला कोइरालालाई हदैसम्मको कारबाही गर्न काउन्सिलले सिफारिस गरेको छ । ल्याब टेक्निसियनलाई नियमन गर्ने निकाय स्वास्थ्य व्यवसायी परिषद् हो । यी दोषीलाई कारबाही गर्नुपर्ने भन्दै काउन्सिलले परिषद्लाई पत्राचार गरे पनि हालसम्म कुनै कारबाही भएको छैन । दोषी प्रमाणित भइसक्दा पनि उनीहरू गंगालाल अस्पतालमा कार्यरत छन् । परिषद्ले उनीहरूलाई बोलाएर स्पष्टीकरणसमेत सोधेको छैन ।

विन्देश्वर यादव स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवका आफन्त भएकै आधारमा उनीमाथि कुनै कारबाही नचलाइएको परिषद् स्रोतको दाबी छ । स्वास्थ्य मन्त्रालयले प्रतिनिधि नपठाइदिँदा दोषीलाई कारबाही गर्न नसकिएको परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीले बताए । उनले भने, ‘घटनाको तहकिकात गर्ने प्रतिनिधि कुरिरहेका छौं । ऐनअनुसार प्रतिनिधिबिना हामीले कसैलाई कारबाही गर्न मिल्दैन ।’ गंगालाल अस्पतालका निर्देशक डा. युवराज लिम्बूले भने गलत रगत चढाउने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने पत्र काउन्सिलले नपठाएको दाबी गरे । ‘यहाँका कर्मचारीलाई कारबाही गर्ने जानकारी हामीलाई छैन,’ उनले भने, ‘पत्र पठाएको भए अस्पतालले दोषी प्रमाणित भएका व्यक्तिलाई कारबाही गर्थ्यो ।’


काउन्सिलले बालिकाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सक गरी २२ जनालाई स्पष्टीकरण सोध्दै पत्र काटेको थियो । चिकित्सकले चित्तबुझ्दो स्पष्टीकरण नदिएकाले उनीहरूलाई फेरि बोलाएर स्पष्टीकरण सोधिने काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले बताए । ‘चिकित्सकले आफ्नो गल्ती स्विकार्नुको साटो एक–अर्कोलाई दोषारोपण गर्ने खालको स्पष्टीकरण दिएका छन्, ‘उनले भने, ‘यसमाथि पनि काउन्सिलले थप अनुसन्धान गर्दै छ ।’ बालिकाको मृत्युको कारणमा गलत रगत चढ्नु, मुटु बन्द हुनु र बेहोस पार्ने क्रममा त्रुटि हुनुजस्ता धेरै कारण देखिएकाले वास्तविक कारण निकाल्न अनुसन्धान लम्बिएको उनले बताए ।


शल्यक्रियामा संलग्न चिकित्सक डा. रवीन्द्रभक्त तिमिलालाई विभागीय कारबाही किन नगर्ने ? शल्यक्रियाको अन्तिम व्यवस्थापन गर्ने डा. अपूर्व ठाकुरलाई निलम्बन किन नगर्ने ? भन्दै काउन्सिलले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा डा. ठाकुरले रगतको ग्रुप परिवर्तन गरिएको अक्षर आफ्नो नभएको बताएका छन् ।


काउन्सिलको व्यावसायिक आचारसंहिता समितिका अध्यक्ष डा. ढुण्डीराज पौडेलका अनुसार अक्षर परीक्षण गर्न काउन्सिललाई छुट्टै विज्ञ चाहिन्छ । ‘दोषी पत्ता लगाउन काउन्सिल एक्लैले सक्दैन । गंगालाल अस्पताल र स्वास्थ्य मन्त्रालयको सहयोग भए अनुसन्धान छरितो बनाएर दोषी पत्ता लाग्न सक्छ,’ उनले भने ।


न्याय मागिरहेका बेलामा अस्पतालले भने यो घटना आर्थिक प्रलोभनमा छिनोफानो गर्न खोजेको मृतकका आफन्तको भनाइ छ । ‘दोषी भनिएका मान्छेहरू गाउँ पुगेर बच्चाका आमाबुवालाई पैसाको लोभ देखाउँदै मुद्दा फिर्ता गर्न दबाब दिइरहेका छन्,’ मृतकका आफन्त साहले भने, ‘म काठमाडौंमा बसेर मुद्दामामिलामा लागिरहेको छु ।’


प्रकाशित : कार्तिक ६, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?