कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रातारात गाउँपालिकाको सामान कब्जा

राजेन्द्र मानन्धर

(दोलखा) — प्रशासनिक केन्द्रको विवाद चुलिएको कालिञ्चोक गाउँपालिकामा आइतबार राति कार्यालय तोडफोड गर्दै सामान लगिएको छ । कालिञ्चोक–८ कालिनागथानस्थित प्रशासनिक केन्द्रका सामान कब्जामा लिदै वडा नं. ५ को बान्देथलीमा लगिएको हो ।

गाउँ कार्यपालिकाको बहुमत निर्णयबाट सामान सार्ने काम जनताले गरेको दाबी पालिका अध्यक्ष बिनकुमार थामीले गरे । उनले भने, ‘सोमबारबाट बान्देथलीबाट कार्यालय सञ्चालन हुन्छ ।’


तर उक्त कार्य डकैती शैलीमा भएको दाबी उपाध्यक्ष कालिका पाठकले गरिन् । ‘सातवटा ढोका फुटाएर लेखा र अन्य महत्त्वपूर्ण समानहरू चोरिनुलाई के भन्ने ?’ उनले भनिन्, ‘यो कार्यलाई कार्यालय लगिएको भन्न मिल्दैन डकैती गरिएको हो ।’ प्रहरीलाई खबर गरीकन चोरी गरिएको पनि उनले बताए । सामान उठाएर लगेपछि प्रहरी पुगेको पनि उनले जानकारी दिइन् ।


उक्त गाउँपालिको केन्द्र विवादले झडप, हातपात, कुटाकुटको अवस्थामा गुज्रिरहेको थियो । अध्यक्ष वडा नं. ५ को बन्देशली र उपाध्यक्ष कालिनागथानमा केन्द्र राख्न पक्ष र विपक्षमा उत्रेपछि दुईबीच संवादहीनताको स्थिति थियो । केन्द्रको कारणले विकास निर्माणमै बाधा परेपछि उक्त पालिका पछिल्लो समय केन्द्र विवाद थाती राखेर विकास निर्माणमा केन्द्रित थियो । परिस्थिति सहज हुँदै गएको अवस्थामा वडा नं. ५ का अध्यक्ष सुभास थामीको नेतृत्वमा केन्द्रका सामाग्रीहरू लगिएपछि पालिका फेरि विवाद चुलिएको छ । थामीले निर्णयबमोजिम पालिकाको प्रशासनिक केन्द्र सारिएको स्विकार्दै १३ जना जनप्रतिनिधिसहितले कार्यालय सारेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।


पालिका अध्यक्ष बिनकुमारले ६ वटा वडाका अध्यक्षसहित जनप्रतिनिधिको रोहवरमा सामान सारिएको दाबी गरे । उनका अनुसार पालिकाको माइन्युट, कार्यालय सञ्चालन गर्न आवश्यक पर्ने हाजिर खाता, कम्प्युटर, प्रिन्टर, राष्ट्रिय झन्डालगायतको सामान मात्रै लगिएको छ । लेखालगायत अन्य संवेदनशील कागजपत्र छोइएको पनि छैन । उपाध्यक्ष कालिका पाठकले भने लेखाको सामग्रीमाथि नै बढी क्षति पुर्‍याएको दाबी गरिन् ।


प्रशासनिक केन्द्र विवाद प्रदेश सरकारसम्म पुगेको थियो । पालिका अध्यक्ष बिनकुमारले प्रक्रिया पूरा गरी पेस गरिएको अवस्थामा पनि वास्ता नगरिएपछि बाध्य भई रातको समयमा कार्यालय सार्नुपरेको बताए । पायक पर्ने स्थानमा केन्द्र राख्ने विषयमा राज्यको कुनै पनि अंगले वास्ता नगरेपछि जनताले उक्त कार्य गरेको उनको दाबी छ । पालिका उपाध्यक्ष पाठकले प्रशासनिक केन्द्र सार्ने विषयमा जबरजस्तीबाहेक कुनै पनि साझा निर्णयहरू नभएको बताइन् । विषय छलफलकै क्रममा रहेको अवस्थामा दुःखद् घटना भएको उनले प्रतिक्रिया दिइन् ।

प्रकाशित : कार्तिक ५, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?