जोखिमपूर्ण ढुंगो हटाइँदा गाउँले ढुक्क

राजकुमार कार्की

(गणेस्थान, सिन्धुली) — सुनकोसी गाउँपालिका १ गणेस्थान बेसारेकी ७५ वर्षीया सुकमाया मोक्तानलाई यतिखेर सहज भएको छ । नेपालीहरूको महानचाड बडादसैंसमेत अरूको घरमा मनाउन पर्दा उनलाई कम्ता दु:ख लागेको थिएन ।

चाडबाड नै थातथलो छोडेर बाहिर मनाउन पर्ने गरी दु:ख दिने ढुंगालाई फोडेर तह लगाएपछि सुकमायालगायत सिंगो गणेस्थानवासीलाई यतिखेर शान्ति मिलेको छ ।

‘कतिखेर ढुंगा झरेर किच्ने हो भन्ने सधैंको त्रास थियो,’ सुकमायाले भनिन्, ‘अनाहकमा मरिने चिन्ताले वर्षौंदेखि हामीलाई सताइरहेको थियो । कहिले छिमेकीकोमा त कहिले ओडारमा समेत रात काटियो ।’ दसैंअगाडिको वर्षाद्ले ढुंगा उप्किएपछि बढी त्रासदीमा उनीहरू थिए । सुकमायाकै श्रीमान् ८० वर्ष पुग्न लागेका खड्गबहादुरले ढुंगाका कारण धेरै दु:ख पाएको सुनाए ।

घरको सिधा माथि जंगलमा घरभन्दा ठूलो एउटा अजंगको ढुंगा थियो । ६ दशकअघिदेखि नै गणेशस्थानमा घरजम गरेर बसेका खड्गबहादुरलाई त्यसको मतलब थिएन । उनीहरूको दैनिकी चलिरहेको थियो । ०७२ को भूकम्पले पनि ढुंगा डेग चलेको थिएन । अब ढुंगा खस्दैन भन्नेमा उनी ढुक्क थिए । तर दसैं नजिक भएको वर्षादले ढुंगा उप्किएर सरेपछि भने उनीलगायत पूरै गाउँमा सन्त्रास छायो । ‘ढुंगा २ मिटर जति सरेपछि जुनसुकै बेला खस्छ भनेर हामी त्रासमा थियौं,’ खड्गबहादुरले भने, ‘त्यो ढुंगा खसेको भए धेरै ठूलो क्षति हुने निश्चित थियो ।’

खड्गबहादुरको परिवारले घ्याम्पेखोला पारि काभ्रेको रोशी गाउँपालिकाको बाँसघारीमा रहेको सम्धीको घरमा शरण लिएर यसपालिको दसैं मनाए । अघिपछि दिउँसो काम गरेर राति छिमेकीको घरमा सुत्न जाने गरेका उनीहरू दसैं भने चिन्तामुक्त भएर मनाउन घरपरिवारका सदस्य, बस्तुभाउ र चाहिने अन्नपात, लत्ताकपडा लिएर नै घर छाडेका थिए ।

बर्दबहादुर गणका सेनाले साता लगाएर ढुंगा फोडेर गणेशस्थानलाई यतिखेर सुरक्षित बनाएको छ । फुटाएर तह नलगाउँदा स्थानीयहरू दैनिक ढुंगाको अवस्था बुझ्न जंगल जाने गर्थे ।

छिमेकी गाउँका वासिन्दा तथा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष दिर्वुसिङ मोक्तानलाई ढुंगाका कारण गाउँ नै विस्थापित हुने सुनाएपछि स्थानीय प्रहरी चौकी हुँदै जिल्ला प्रशासन कार्यालयमार्फत सेनाको बर्दबहादुर गणमा खबर पुग्यो । बेसारे गणेस्थानका बासिन्दालाई सुरक्षित गर्न जोखिम मोलेर ढुंगा फोडेर हटाएको बर्दबहादुर गणका गणपति राजीव थापाले बताए । भन्छन्, ‘ढुंगा उप्किएर सरेकाले पार्टपार्ट गरेर फोरियो ।

एकैपटक फुटाउँदा गाउँमा क्षति हुने सम्भावना थियो ।’ अहिले गणेस्थानका २१ घरपरिवार आफन्तको शरण र ओडारको बासबाट मुक्त भएका छन् । उनीहरूले गाउँमै रहेको गणेस्थान मन्दिरमा ढुंगा झरेर घरपरिवार तथा गाउँमा क्षति नहोस् भनेर भाकलसमेत गरेका थिए । बीपी राजमार्गको नेपालथोकबाट घ्याम्पेखोला हुँदै करिब १० किलोमिटर माथितिर गएपछि गणेस्थान पुगिन्छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १२:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वाग्मतीमा पानी बगाउन शिवपुरीमा बाँध

दीपेन्द्र विष्ट

काठमाडौँ — वाग्मती नदीमा प्रतिसेकेन्ड ४० लिटर पानीको बहाव बढाउन करिब २१ सय मिटर उचाइको शिवपुरीमा बाँध निर्माण कार्य अघि बढाइएको छ । सुक्खायाममा पानीको बहाव बढाउन सरकारले यस्तो योजना बनाएको हो ।

शिवपुरी नागार्जुन निकुञ्जको मध्यभाग धाप क्षेत्रमा वर्षा तथा जमिनबाट ८ लाख ५० हजार घनमिटर पानी बाँधमा संकलन गरिनेछ ।

सहरी विकास मन्त्रालयले दुई वर्षभित्र सुक्खायाममा प्रतिसेकेन्ड ४० र शिवरात्रिलगायत विशेष दिन प्रतिसेकेन्ड ४ सय लिटर पानी बगाउने गरी बाँध निर्माण गर्न लागेको हो । बाँधको निर्माण भने आउँदो वैशाखमा सम्पन्न हुनेछ । ‘७५ प्रतिशत काम सम्पन्न भइसकेको छ,’ वाग्मती सिँचाइ युनिटका प्रमुख नारायणप्रसाद सुवेदीले भने, ‘साउन–भदौमा पानी जम्मा हुन्छ, अर्को वैशाखमा वाग्मतीमा बाँधमा जम्मा भएको पानीसमेत बगाउँछौं ।’

यहाँ सिमसार क्षेत्र र पानीका स्रोत धेरै भएकाले बाँध निर्माण हुनेबित्तिकै पानीको बहाव बढ्ने अधिकार सम्पन्न वाग्मती एकीकृत विकासका आयोजना प्रमुख लीला ढकालले बताए ।

ग्वान्जाउ–लामा–रमण ठेकेदार कम्पनीले करिब ५२ करोड रुपैयाँको लागतमा बाँध निर्माण गरिरहेको छ । मुहानमा दुईवटा बाँध निर्माण हुनेछन् । सुक्खायाममा माथिल्लो बाँधबाट प्रतिसेकेन्ड ४० लिटर र नागमती बाँधबाट प्रतिसेकेन्ड ४ सय लिटर पानी बगाइने योजना छ । धाप क्षेत्रमा निर्माणाधीन बाँधले १४ हेक्टर जमिन ओगटेको छ । ५० हेक्टर जमिन ओगटेको नागमतीमा ९० मिटर उचाइको बाँध निर्माण हुनेछ । यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ ।

उक्त बाँध क्षेत्रमा पर्ने रूखबिरुवा कटान गर्न वन मन्त्रालयमा अन्तिम स्वीकृतका लागि प्रतिवेदन पेस भएको छ । माथिल्लो धापदेखि कटवाल दहसम्म अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिले स्वच्छता कायम राख्न विभिन्न भौतिक पूर्वाधार निर्माणसमेत गर्दै आएको छ । उक्त बाँध स्थलको एन्टुरा र टीएमएस नेपालले सम्भाव्यता र विस्तृत अध्ययन गरेका हुन् ।

आयोजना प्रमुख ढकालले दुइटै बाँध निर्माण भएपछि यो क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा निकै महत्त्वपूर्ण हुने बताए । यो स्थान नुवाकोट, काठमाडौं र सिन्धुपाल्चोकको सीमामा पर्छ । ‘यति उचाइमा ताल निर्माण हुनु निकै ठूलो कुरा हो,’ ढकालले भने, ‘उत्तरतिर हिमशृंखला देखिन्छन्, नजिकै चिसापानी बजार छ । यो ट्रेकिङ रुट पनि भएकाले निकै आकर्षक गन्तव्य हुन्छ ।’

बूढानीलकण्ठ–चिसापानी–झुले–जरसिंहपौवा–कात्तिके भन्ज्याङ हुँदै नगरकोटसम्मको यो ट्रेकिङ रुट हो । यहाँबाट सुन्दरीजल–मूलखर्क–झुले हुँदै नगरकोट जान र चिसापानी हुँदै बूढानीलकण्ठ भएर आउन सकिन्छ ।

बागद्वारबाट उत्पत्ति भएर कटवाल दहसम्मको नदीको लम्बाइ ४४ किलोमिटर छ । वाग्मतीको पानी शुद्ध र सफा बनाउन त्यसै किसिमले पूर्वाधार विकास भइरहेको ढकाल बताउँछन् । अधिकांश क्षेत्रमा हरित उद्यानलगायत विभिन्न भौतिक संरचना निर्माणको प्रक्रिया तीव्र रूपमा बढेको उनले जानकारी गराए ।

समितिकी सदस्य माला खरेल दुवै बाँध निर्माण भए वाग्मती नदीको शुद्धता आफंै कायम हुनेमा विश्वस्त छिन् । ‘पानी नदीको मुख्य विशेषता हो, त्यसकारण बहाव बढ्नेबित्तिकै नदी सफा हुन्छ,’ बाँध निर्माणस्थल धापमा भेटिएकी खरेलले भनिन्, ‘वाग्मतीको स्वरूप चाँडै फेरिन्छ ।’

भूकम्पीय जोखिमका हिसाबले पनि निर्माणाधीन र प्रस्तावित नागमती बाँध बलियो भएको आयोजनाका सिँचाइ युनिट प्रमुख सुवेदीले बताए । ‘कुलेखानी बाँधजस्तै ढुंगा र चट्टानको बेसमा रक बाँध बनिरहेको छ,’ उनले भने । सुवेदीका अनुसार निर्माण क्रममा निकुञ्जका २८ सय रूख काटिएका छन् । काटिएका रूखको सट्टा ७० हजार नयाँ बिरुवा रोप्ने तयारी छ ।

४० लिटर प्रतिसेकेन्ड पानीको बहाव बढाउन सके वाग्मती सरसफाइ अभियानले समेत सार्थकता पाउने उनको भनाइ छ । वाग्मती सरसफाइ अभियन्ता कञ्चन रावतले दुवै बाँध निर्माण भए नदीमा शुद्ध पानी पाइने र पर्यटकीय हिसाबले धाप निकै आकर्षक बन्ने बताइन् ।

आयोजनाले गोकर्ण ब्यारेजदेखि सिनामंगल क्षेत्रको करिब १४ किमि क्षेत्रमा ‘हरित उद्यान’ बनाउन सुरु गरेको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा परम्परागत शैलीको हरित उद्यान प्रक्रिया थालिएको हो । नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान निर्माण गरिनेछ ।

प्रकाशित : कार्तिक ४, २०७६ १२:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT