कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँपालिका तोडफोड, सामान कब्जा !

राजेन्द्र मानन्धर

दोलखा — प्रशासनिक केन्द्र कहाँ राख्ने भन्ने विवाद चुलीमा पुगेको कालिञ्चोक गाउँपालिकाको कार्यालयबाट आइतबार राति तोडफोड गर्दै सामानहरु लगिएको छ ।

गाउँपालिका तोडफोड, सामान कब्जा !

कालिञ्चोक गाउँपालिका-८ कालिनागथानमा रहेको प्रशासनिक केन्द्रको सामान कब्जामा गर्दै वडा नम्बर ५ को बान्देथलीमा लगिएको छ । उक्त गाउँपालिकाको बहुमतको निर्णयबाट सामान सार्ने कार्य जनताबाट भएको दाबी पालिका अध्यक्ष वीनकुमार थामीले गरे । उनले भने, ‘सामेबारबाट बान्देथलीबाट कार्यालय सञ्चालन हुन्छ ।’


तर उक्त कार्य डकैत शैलीमा भएको दाबी उपाध्यक्ष कालिका पाठकले गरिन् । ‘सात वटा ढोकाहरु फुटालेर लेखा र अन्य महत्पूर्ण समानहरु चोरिनुलाई के भन्ने?,’ उनले भनिन्, ‘यो कार्यलाई लगिएको भन्न मिल्दैन डकैट हो डकैत ।’ प्रहरीलाई खबर गरिकन चोरी गरिएको पनि उनले बताए । सामान उठाएर लगेपछि प्रहरी पुगेको पनि उनले जानकारी दिइन् ।


उक्त गाउँपालिको केन्द्र विवादले झडप, हातपात, कुटाकुटको अवस्थामा गुज्रिरहेको थियो । अध्यक्ष वडा नम्बर ५ को बन्देशली र उपाध्यक्ष कालिनागथानमा केन्द्र राख्न पक्ष र विपक्षमा उत्रेपछि दुईबीच संवादहीनताको स्थिति थियो । केन्द्रको कारणले विकास निर्माणमा नै बाधा परेपछि उक्त पालिका पछिल्लो समय केन्द्र विवाद थाँती राखेर विकास निर्माणमा केन्द्रित थियो । विकास शिविर नाम दिँदै अध्यक्ष र उपाध्यक्ष साथसाथै औपचारिक कार्यक्रममा देखिन्थे ।


परिस्थिति सहज हुँदै गएको अवस्थामा वडा नम्बर ५ का अध्यक्ष सुभास थामीको नेतृत्वमा केन्द्रका सामाग्रीहरु लगिएपछि उक्त पालिका फेरि समस्यामा फसेको छ । वडाअध्यक्ष सुभास थामीले निर्णयवमोजिम पालिकाको प्रशासनिक केन्द्र सारिएको स्वीकार्दै १३ जना जनप्रतिनिधिसहितले कार्यालय सारेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।


पालिका अध्यक्ष वीनकुमार थामीका अनुसार छ वटा वडाका अध्यक्षसहित जनप्रतिनिधिको रोहवरमा सामान सारिएको दाबी गर्छन् । उनका अनुसार पालिकाको माइन्युट, कार्यालय सञ्चालन गर्न आवश्यक पर्ने हाजिर खाता, कम्प्युटर, प्रिन्टर, राष्ट्रिय झण्डालगायतको सामानमात्रै लगिएको छ । लेखालगायत अन्य सम्बेदनशील कागजपत्र छोइएको पनि छैन । उपाध्यक्ष कालिका पाठक भने लेखाको सामाग्रीमाथि नै बढी क्षति पुर्‍याइएको दाबी गर्छिन् ।


प्रशासनिक केन्द्र विवाद ३ नम्बर प्रदेश सरकारसम्म पुगेको थियो । पालिका अध्यक्ष वीनकुमार थामीकोले प्रक्रिया पुरा गरी पेश गरिएको अवस्थामा पनि वास्ता नगरिएपछि बाध्य भइ रातको समयमा कार्यालय सार्नु परेको बताए । पायक पर्ने स्थानमा केन्द्र राख्ने विषयमा राज्यको कुनै पनि अङ्गले वास्ता नगरेपछि जनताले उक्त कार्य गरेको दाबी पनि उनले गरे । पालिका उपाध्यक्ष पाठकले प्रशासनिक केन्द्र सार्ने विषयमा जबरजस्तीबाहेक कुनै पनि साझा निर्णयहरु नभएको दाबी गरिन् । उक्त विषय छलफलकै क्रममा भएको बेला चोरीको घटना हुनु दुःखद भएको उनले बताइन् ।

प्रकाशित : कार्तिक ४, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?