कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

३० परिवार अझै भत्किएको घरमा

कान्तिपुर संवाददाता

सिन्धुलीमाढी — सिन्धुलीको सानो गाउँमा पुनर्निर्माण अझै हुन सकेको छैन । भूकम्प गएको ४ वर्ष बितिसक्दासमेत कमलामाई नगरपालिका १० सानो गाउँमा घर बनाउने कुनै सुरसार नभएको हो । स्थानीयहरू भत्किएकै घरमा बस्न बाध्य छन् । ३० घरपरिवार रहेको यो गाउँका सबै घरधुरीको नाम लाभग्राहीको सूचीमा छ । 

सबैले निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरी पहिलो किस्ताबापत्को ५० हजार रुपैयाँ अनुदान लिइसकेका छन् । अनुदान लिएको पनि २ वर्ष भइसक्दासमेत कसैले घर बनाउन सुरु गरेका छैनन् ।


सरकारले २ वर्षअघि घर बनाउनका लागि भन्दै उनीहरूलाई पहिलो किस्ताबापत् ५० हजार रुपैयाँ उपलब्ध गरायो । त्यतिबेला सानो गाउँमा खानेपानीको अभाव रहेको थियो । वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका उनीहरूले त्यतिबेला घर बनाउन सकेनन् । भूकम्प प्रतिरोधात्मक घर बनाई नयाँ घरमा बस्ने रहर भए पनि पानीको समस्याका कारण घर बनाउन सम्भव नभएको स्थानीय शुक्रबहादुर दर्नालले बताए ।


पानीको समस्या रहेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुली र कमलामाई नगरपालिकाले खानेपानी ट्यांकी निर्माण गरी साउनदेखि अहिले सबैको घर–घरमा खानेपानी पुर्‍याएको छ । पहिलो किस्ताबापत पाएको रकम कतिपयले दु:ख बिरामी पर्दा उपचारमा खर्चेका छन् । अनि कतिपय भने दसैंको मुखैमा पाएको पैसाले दसैं मानेको सुनाए । स्थानीय शुक्रबहादुर भने, ‘सरकारले दिने भनेको ३ लाखले मात्र घर बन्दैन । आफूले थपेर बनाउन सकिँदैन ।’ सरकारको नियमअनुसार २ कोठे घर बनाउँदा पनि झन्डै ६ लाख जति लाग्ने रहेछ भन्दै उनी आफ्नो गक्षले नभ्याउने बताउँछन् । ‘ज्याला मजदुरीको पैसाले छोराछोरी पढाउन र बिहान बेलुका छाक टार्न त हम्य–हम्य पर्छ । घर बनाउने पैसा त कहाँबाट जुटाउनु ?’ उनले भने । दर्नाल परिवार भत्किएकै घरलाई टालटुल गरेर बसेका छन् ।


अर्का स्थानीय मीनबहादुर दर्नालको पनि अवस्था उस्तै छ । उनी ज्याला मजदुरी गरेर परिवार चलाइरहेका छन् । ज्याला मजदुरीबाट कमाएको पैसाले खानै ठिक्क हुने बताउँछन् । जसले गर्दा पैसा जोहो गरेर घर बनाउन सक्ने अवस्थामा नरहेको दु:खेसो पोखे ।


दलित समुदायको बाहुल्य रहेको यस गाउँमा अधिकांश परिवारको आयस्रोत भने ज्याला मजदुरी हो । खेतीपातीले खान नपुग्ने यहाँका कतिपय स्थानीयहरूको भने आफ्नो नाममा जग्गासमेत छैन । उनीहरू ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका छन् । मजदुरी गरेर छाक टार्नु उनीहरूको दैनिकी हो । यस्तो अवस्थामा घर बनाउन नसकिने उनीहरूको भनाइ छ ।


जिल्लाभरि नै पुनर्निर्माणले सोचेअनुरूपको गति लिन सकेको छैन । हालसम्म जिल्लामा भूकम्पले भत्किएका १९ हजार घरको मात्रै पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार ५२ हजार २ सय ६२ लाभग्राहीमध्ये अहिलेसम्म १९ हजार २ सय ३८ घरधुरीले मात्रै पुनर्निर्माण गरेका छन् ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?