विवादबीच नेकपा काभ्रेको शपथ

नगेन्द्र अधिकारी

काभ्रे — एकता सुरु भएको डेढ वर्षपछि पनि विवादबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी काभ्रेको शपथ गरिएको छ । 

पूर्वमाओवादीतर्फ सहमति जुट्न नसकेपछि २ महिला सदस्यको नाम हटाएर १ सय २६ सदस्यीय जिल्ला कमिटीलाई शपथ ग्रहण गराइएको हो । प्रदेश कमिटीबाट नाम अनुमोदन भइसकेका सावित्री थपलिया र जमुना सापकोटालाई जिल्ला कमिटी सदस्यको जिम्मेवारीबाट हटाइएको हो ।

विवादबीच नेकपा काभ्रेको शपथ

थपलियाले उपस्थित नेता कार्यकर्ताकै अगाडि आफ्नो नाम हटाइएको बारे प्रश्न गरेकी थिइन् । उनको सुनुवाई नै नगरी शपथ अगाडि बढाइएको थियो । शपथ ग्रहणमा उनी सहभागी भए पनि जिल्ला कमिटीमा उनी रहने छैनन् ।


सापकोटाले पार्टीको लागि एकपटक त्याग गरेको बताइन् । तत्कालीन जिल्ला संयोजक रुकु चौलागाई र पोलिट्व्युरो सदस्य सूर्यमान दोङले आफ्ना पक्षका मान्छे बढी सिफारिस गरेको भन्दै तत्कालीन पोलिट्व्युरो सदस्य गंगाबहादुर दोङ पक्ष असन्तुष्ट थियो । जिल्ला कमिटीको शपथ बहिष्कार गर्ने तयारी गरेपछि छलफलबाट टुंगाइएको हो ।


पूर्व माओवादीको तर्फबाट ६५ र पूर्व एमालेको तर्फबाट ६३ गरी १२८ सदस्यीय जिल्ला कमिटी प्रदेशले अनुमोदन गरेको थियो । विवादका कारण पूर्व एमालेको भागमा परेका थप १५ जना र पूर्व माओवादीका तर्फबाट थप ५ को नाम टुंगो लागेको छैन । पूर्व एमालेले अघिल्लो अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीलाई नै सिफारिस गरेको थियो ।


नेकपा प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले शपथ खुवाएकी थिइन् । प्रदेश सहइञ्चार्ज हितमान शाक्य, हितबहादुर तामाङ, काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव आनन्दप्रसाद पोखरेल, जिल्ला इञ्जार्जसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा लगायत उपस्थित थिए । जिल्ला अध्यक्ष पूर्व माओवादीको तर्फबाट रुकु चौलागाई र सचिव पूर्व एमालेको तर्फबाट टोकबहादुर वाइबा छन् ।


प्रकाशित : कार्तिक २, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?