दोहोरो स्रेस्ता राखी विद्यालयको जग्गा बिक्री 

नगेन्द्र अधिकारी

काभ्रे — मालपोत कार्यालय काभ्रेको कमजोरीको फाइदा उठाउँदै जग्गाको दोहोरो स्रेस्ता राखेर विद्यालयको ९ रोपनी जग्गा व्यक्तिले बिक्री गरेका छन् । साविक नासिकास्थान साँगा १ मा रहेको चक्रज्योति माध्यमिक विद्यालयको ९ रोपनी ५ आना २ पैसा १ दाम जग्गा स्थानीय शम्भुबहादुर थापा र उनका भाइहरूले बिक्री गरेका हुन् । 

दोहोरो स्रेस्ता राखी विद्यालयको जग्गा बिक्री 

विद्यालय र बनेपा नगरपालिका-१३ ले दोहोरो स्रेस्ता हटाई दिन भन्दै मालपोत कार्यालय काभ्रेपलाञ्चोकलाई ०७६ असोज ८ मा पत्र लेखेको थियो । सोही पत्र आधारमा मालपोतले कैलाश विकास बैक, मंगलबजार, ललितपुर, टेम्पल ट्री डेभलपर्स प्रालि काठमाडौं महानगरपालिका १, लक्ष्मी प्रसार्इं शनिश्चरे ७ झापा र शम्भुबहादुर थापा जनागालका नाममा ०७६ असोज १० मा १५ दिने पत्र काटेको थियो । सोही जग्गाको दोहोरो स्रेस्ता हटाउनतर्फ कारबाही गर्ने र कारबाहीको टुंगो नलागुन्जेलसम्म उपरोक्त कित्ताका जग्गाहरू मालपोत ऐन २०३४ को दफ (८) बमोजिम रोक्का राख्ने निर्णय गरेको छ ।


थापाले मुद्दा पैरवी चलिरहेकै अवस्थामा ०३१ असार १९ मा कित्ता नम्बर १२७ को जग्गा कित्ताको हक आफ्नो नाममा कायम गरी सो प्रमाणपुर्जा लिए पनि मुद्दा हारेपछि मालतपोतले दोहोरो स्रेस्ता राखिदिएकोले विद्यालयको जग्गा बिक्री भएको हो । ०३९ असोज १० मा अदालतको आदेश आधारमा मालपोत कार्यालय काभ्रेले कित्ता नम्बर १३३ को ९ रोपनी ८ आना ३ पैसा १ दाम भीर, कित्ता नम्बर १३४ को ७ रोपनी २ आना १ पैसा १ दाम र कित्ता नम्बर १२७ मा ९ रोपनी ५ आना २ दाम १ पैसा भीर जग्गा दर्ता गरी लालपुर्जा विद्यालयको नाममा कायम गरिएको थियो ।


तर, स्रेस्ता नहटाएको कारण विद्यालयको उक्त जग्गाको लालपुर्जा थापाको नाममा समेत थियो । मुद्दा हारे पनि आफ्नो हातमा लालपुर्जा भएपछि थापाले कित्ताकाट गरी दिएको विद्यालयमा रहेको कित्ता नं १२७ को जग्गा भाइ केशव र वासुदेवले शनिश्चरे-७, झापाका लक्ष्मी प्रसाईं र टेम्पल ट्री डेभेलपर्सलाई बिक्री गरेका थिए ।


प्रसाईं र उनको कम्पनीले ती जग्गा प्लटिङसमेत गरिसकेका छन् । ०५५ पुस २५ मा शम्भुबहादुर थापाले भाइहरू केशव र वासुदेवसमेतलाई कित्ता नम्बर १२७ को जग्गाबाट बकसपत्र गरी कित्ताकाट गरी दिए । चक्रज्योति माविको नाममा समेत लालपुर्जा भएको उक्त जग्गा नापी कार्यालय काभ्रेले पटकपटक कित्ताकाट गरेको छ । केशवको नाममा कित्ता १३४९ र वासुदेवको नाममा १३५० र १३५१ कित्ता कायम भयो । शम्भुबहादुरलाई कित्ता १३५२ कायम गरी जग्गा बाँकी राखियो । कित्ता १३४९ मा १० आना, १३५१ मा २ रोपनी ७ आना १ पैसा, १३५० मा ३ रोपनी २ आना जग्गा कायम थियो । आफ्नो नाममा भएका दुई कित्ता केशवले ०७४ जेठ ११ मा लक्ष्मी प्रसाईंलाई बिक्री गरे ।


फेरि ०७६ साउन २३ मा वासुदेव थापाको नामको कित्ता १३५१ को जग्गा उनै लक्ष्मी प्रसाईं प्रोपाइटर रहेको टेम्पल ट्री डेभलपर्सका नाममा खरिद भएको छ । विद्यालयको उक्त ६ रोपनी ३ आना १ पैसा जग्गा लक्ष्मी प्रसाईंले वासुदेव थापासँग खरिद गरे । केशवबहादुरमार्फत खरिद गरेको जग्गा लक्ष्मी प्रसाईंले कैलाश विकास बैंक मंगलबजार ललितपुरका नाममा रोक्का राखी २ करोड ऋण स्वीकृत गराएका छन् । स्थानीयको अवरोधका बीच प्रसार्इंले जग्गामा प्लटिङ गरिरहेका छन् ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिभक्त श्रेष्ठले भने, ‘मलाई नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्ति गरेलगत्तै विद्यालयको नाममा भएको जग्गाको नापीबाट नक्सा लिन जाँदा जग्गा बिक्री भएको थाहा पाएँ,’ उनले भने, ‘लगत्तै मालपोतमा गएर बिक्री भएको जग्गा रोक्का राखी फिर्ता गर्न निवेदन दर्ता गरायौं ।’


मालपोतले काभ्रेले विद्यालयको जग्गा बिक्री गर्न नसक्ने भनेको भए पनि विश्वास नभएको उनले बताए । प्रधानाध्यापक चन्द्रप्रभा शाक्यले विद्यालयको जग्गा संरक्षणका लागि मालपोतमा निवेदन दिएको बताइन् । शम्भुबहादुरले भाइहरूलाई अंशबापत् जग्गा बकस गरी दिएको जग्गा आफ्नो भएको दाबी गरे ।


‘०२२ मा खरिद गरेको जग्गा विद्यालयलाई जग्गा दान गरेको हो, १२७ नम्बर कित्तामा कतै झगडिया जनिएको छैन, त्यैसेले नापी गरेर लालपुर्जा बनाएको हो,’ जिल्ला अदालतमा मुद्दा चल्दा १३७ नम्बर कित्तामा मुद्दामा चलेको भए पनि बाग्मती अञ्चल अदालतमा १२७ नम्बर कित्तामा फैसला भएको शम्भुबहादुर थापाले बताए ।

प्रकाशित : कार्तिक २, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?