धमाधम ठडिँदै भवन

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर वैदेशिक र संघसंस्थाको सहयोगमा धमाधम विद्यालय भवन ठडिन थालेका छन् ।

जिल्लाभर भत्केका ५ सय २८ मा करिब दुई सय ९० विद्यालयको सुविधासम्पन्न भवन बनिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) ले जनाएको छ । तीमध्ये दुई सय ८७ वटा विद्यालय विभिन्न संघसंस्थाले बनाइरहेकोमा हालसम्म एक सय ८७ भवन बनिसकेका छन् । बाँकी दुई सय विद्यालय धमाधम बनिरहेका छन् ।


बाह्रबिसे नगर वडा ५ र ६ मा जर्मनको र नमस्ते नेपालको सहयोगमा आठवटा भवन ठडिए । प्रदेशका पर्यटन तथा वन मन्त्री अरुण नेपालसहित दातृनिकाय जर्मन र होल्यान्ड पाहुनाले एकैसाथ विद्यालय जनप्रतिनिधि, स्थानीयलाई जिम्मा लगाए । ‘चार वर्षपछि बालबालिकाले बल्ल पक्की भवन पाएका छन्, त्यसैको खुसीले उनीहरू खुब रमाएका छन्,’ बाह्रबिसे नगरस्थित सिर्गाचे आधारभूत विद्यालयकी प्रधानाध्यापक विष्णुदेवी पराजुलीले भनिन् ।


गातीस्थित कालीदेवी माविबाहेक सेतीदेवी, गोरखनाथ, बालहित, सिंगार्चे, श्री खडादेवीसहित आठ विद्यालयले सुविधा सम्पन्न भवनसँगै शौचालय पनि पाएका छन् । भूकम्पको तीन वर्षसम्म अस्थायी टहरामा सञ्चालन भइरहेका विद्यालय चार वर्षपछि आफ्नै भवन पाएका छन् ।


‘सरकारी निकाय र विदेशी, संघसंस्थाको हातेमालोमा विद्यालय पुनर्निर्माणले फड्को मारेको हो, नभए दुर्गम क्षेत्रमा आवश्यक पूर्वाधारको समस्या थियो,’ जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) का कार्यालय प्रमुख यमबहादुर खड्काले भने ।

प्रकाशित : कार्तिक २, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?