सिँचाइका लागि रिचार्ज पोखरी

टीका भट्ट

(रामेछाप) — जलवायु परिवर्तनको तीव्र असर परिरहेको दक्षिणी रामेछापको पकरवासमा रिचार्ज पोखरी खन्ने अभियान चलेको छ । 

सुक्खा पाखो जमिनमा पोखरी खन्नका लागि वडा कार्यालयले प्राथमिकताका साथ काम थालेको छ । ‘हामीले वडाभित्र यो वर्ष ५१ वटा पोखरी निर्माण गरेका छौं,’ वडा अध्यक्ष तुलसी श्रेष्ठले भने, ‘आगामी वर्ष त्यतिकै संख्यामा थप गर्ने सोच छ ।’


पानी पर्दै नपर्ने, परे पनि माथि–माथि बगेर जाने भएकाले वडा कार्यालयले पोखरी निर्माण थालेको हो । वर्षायाममा परेको पानीलाई बगेर खेर जान नदिनका लागि उक्त अभियान चलाएको श्रेष्ठले बताए । जम्मा भएको पानीले जमिनभित्र पानीको रिचार्ज हुने सुझाव वातावरणविद्हरूले दिएपछि उक्त कार्य गरिएको हो ।


पहाडमा जथाभावी धुलेसडक निर्माण गर्दा बगेर जाने माटोले साविकका आहाल र पोखरी पुरिएका थिए । पुरिएका पोखरी र आहालहरूको पनि माटो झिकेर पुन: सञ्चालनमा ल्याइएको छ । प्राय: गोरेटोबाटो, साना खोल्सीहरूको पानी बगेर जाने स्थान र आसपास मैदान भएको स्थानमा पोखरी र आहाल निर्माण गरिने गरिएका हुन्थे । त्यसमा संकलित पानी हिउँदमा पशुचौपायलाई खुवाउने गरिन्थ्यो ।


झन्डै दुई दशकयता सुक्खा बन्दै गएको पकरवासका खोला खोल्सीमा पानीका स्रोत सुकेपछि स्थानीय जनजीवन कष्टकर बन्दै गएको छ । स्रोत सुकेपछि २ रुपैयाँको १ लिटर पानी किनेर खान बाध्य पकरवासका बासिन्दामध्ये धेरै पानीको अभाव धान्नका लागि बेसी झरेका छन् । खोला, खोल्सीमा पानी रसाउन छोडेपछि स्थानीयले पशुचौपाया घटाएका छन् भने, नुहाउन र लुगा धुनका लागि बेसीमा झर्ने गर्छन् ।


छिमेकी वडामा पोखरी निर्माणको अभियान चलेपछि वडा नम्बर ४ ले पनि उक्त कार्यको सिको गरेको छ । भीरपानी, माकादुमलगायतका सुक्खा क्षेत्रमा वर्षाको पानी खेर जान नदिन पोखरी निर्माण गर्ने योजना अघि सारिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । सुक्खा क्षेत्रमा पर्ने मन्थली नगरका १४ मध्ये १२ वटा वडामा पनि जलवायु परिवर्तनको असरलाई कम गर्न सुक्खा पाखोमा वर्षाको पानी अड्याउनका लागि पोखरी निर्माण गर्ने योजना नगर योजनामा समावेश गरिएको छ ।


नगरप्रमुख रमेशकुमार बस्नेतले जथाभावी माटो काटेर वातावरणको विनाश गरेको विगतको तीतो अनुभव बिर्साउनका लागि अब पानीका स्रोत संरक्षण र वातावरणको रक्षा गर्ने योजना नगरपालिकाले अघि सारेको बताए । उनले पोखरी निर्माणसँगै भूक्षय तथा माटो बग्न नदिन खोला र खोल्सीमा चेकड्याम निर्माण गरिने बताएका छन् । मन्थलीको फुलासीका २ वटा वडाबाहेक अन्य सबै वडामा पानीको स्रोत प्राय: सुकेका छन् । महाभारत पर्वतभन्दा उत्तरतर्फ रहेको रामेछापको साँघुटारदेखि बेथानसम्मको भाग सुक्खा क्षेत्रमा पर्छ । उक्त क्षेत्रमा सदियौंदेखि सञ्चालन हुँदै आएका पानीका धारा कुवा सुकेका छन् । खेत बाँझो बसेको छ । आहाल, खोला खोल्सी र पोखरी पुरिएका छन् ।


पछिल्ला दुई दशक जिल्लामा डोजरले मोटर बाटो निर्माणका लागि वातावरणीय अध्ययनबिना जथाभावी भीरपाखो खनेको तर संरक्षणका लागि कुनै कार्यक्रम गरेको छैन । सडक निर्माण गर्दा पानीका स्रोत र जंगलमा क्षति भएको विषय गौण भएको छ ।


प्रकाशित : कार्तिक १, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?