कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

धानमा बाला लागेन

पाकेर काट्नुपर्ने बेलासम्म भर्खर गुबोभित्र मात्रै बाला लाग्न थालेकाले अर्को खेतीका गर्नका लागि हरियो धान काट्न किसान बाध्य । सरकारी निकाय र कृषि ज्ञान केन्द्रले केही समय पर्खन आग्रह गरे पनि किसान मानेनन् ।
रमेशकुमार पौडेल

(चितवन) — गरिमा जातको भारतीय हाइब्रिड धान रोपेका किसानले बाला नलागेपछि हरियै गाँज काट्न थालेका छन् । तरकारी रोप्न अबेला हुने भएकाले हरियो धान काटेको किसान बताउँछन् । पूर्वी चितवनका किसान खेतमा चाँडै पाक्ने धान रोप्छन् । धान काटेपछि तरकारी लगाउँछन् । 

धानमा बाला लागेन

कृष्ण लामाको खेतमा रोपेको गरिमा धानको गाँज झन्डै अँगालोभरिको छ । तर, बाला लागेन । अघिल्लो वर्ष यो बेला पाकेर भकारीमा थन्क्याएको धान यो वर्ष अहिलेसम्म पसाउन पनि सकेन । खैरहनी नगरपालिका–११ कठार पिद्रहनी गाउँका लामाले गएको असार १७ गते गरिमा धान रोपेका थिए । जुन धान अहिलेसम्म नपसाएपछि उनले बिहीबार बिहान अमिलो मन गराउँदै हरियै बोट काटे ।


उनले अघिल्लो वर्ष १३ कठ्ठा खेतमा गरिमा धान रोपेका थिए । असार ९ गते रोपेको धान असोजभित्रै काटेर सकिएको थियो । यो वर्ष सावित्री रोप्न खोजेका उनले दुई बिघै खेतमा गरिमा धान रोपे । तर, कुनै पनि बोटमा बालो लागेन । यो व्यथा कठारका कृष्ण लामाको मात्रै नभएर गरिमा धान रोप्ने चितवनका सबै किसानको हो । किसानहरूको उब्जनी शून्य भएको छ । वर्षायामको कठिन मिहिनेत र पैसा खेर गएको छ ।


‘सावित्रीभन्दा साता दिनअघि पाक्छ भनेपछि सबै खेतमा गरिमा रोपेको हो । चाँडै धान पाके तरकारी चाँडै रोप्न पाइन्छ । तर, गरिमाको बोटमा बाला नै लागेन,’ किसान लामाले दुखेसो पोखे । उनले घिउसिमी लगाउन जग्गा खाली गर्न थालेका हुन् । घिउसिमीपछि लगत्तै करेला लगाउन पाइन्छ । त्यसैले अब धान पसाउला कि नपसाउला भनेर कुरेर नबसेको उनले बताए ।


‘अघिल्ला वर्ष यो बेलासम्म काटेर थन्काएर जमिन जोतेर पनि भ्याइन्थ्यो । यो वर्ष अहिलेसम्म नपसाएपछि कहिलेसम्म कुरेर बस्ने,’ लामाले पीडा पोखे । उनले धान रोप्दादेखि अहिलेसम्म डेढ लाख रुपैयाँको हाराहारीमा खर्च भएको बताए । उनले किसानलाई राहत र गलत बीउ बेच्नेलाई कारबाही हुनुपर्ने माग गरे ।


तर, सरकारी निकायको तत्परता त्योअनुरूपको छैन । सरकारी निकाय कृषि ज्ञान केन्द्र भरतपुरले असोज १६ मा विज्ञप्ति निकाल्दै बाला नलागेको विषयमा विचार गर्न १५/२० दिन लाग्ने जनाएको थियो । केन्द्रका प्रमुख राजन ढकालले जारी गरेको विज्ञप्तिमा केही ठाउँमा बाला लाग्ने लक्षण देखिएको उल्लेख छ । ‘बाला लागेमा धान के कति फल्छ भन्ने बारेमा निधो गर्न केही दिन कुर्नु पर्ने अवस्था छ,’ प्रमुख ढकालले भने ।


ज्ञान केन्द्रको विज्ञप्तिमा चितवनका किसानले रोपेको बाला नलागेको धानको बीउको गुण नेपालमा दर्ता भएको गरिमा धानसँग मेल नखाएको उल्लेख छ । त्यसैले कार्यालयले डीएनए परीक्षणका लागि बीउविजन गुणस्तर केन्द्र हरिहर भवनमा नमुना पठाएको छ । असोज ६ गते नमुना पठाएको केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए । परीक्षणको प्रतिवेदन आएपछि थप कारबाही प्रक्रिया अगाडि बढ्ने उनले बताए ।


‘लक्षणहरूले यो धान गरिमा हो भन्ने देखिँदैन । तर, किसानलाई गरिमा नै भनेर बेचेको पाइएको छ । डीएनए परीक्षणपछि प्राविधिक रूपमा कुन धान हो भन्ने कुरा पुष्टि हुन्छ । यसका लागि समय लाग्छ,’ ज्ञान केन्द्र प्रमुख ढकालले भने । विभिन्न १४ वटा सूचकको डीएनए परीक्षण गरेर त्यसैका आधारमा पुष्टि गर्नुपर्छ । एउटा सूचकको परीक्षण गर्न एक दिन लाग्ने गरेको ढकाल बताउँछन् ।


सरकारी अधिकारीका अनुसार तिहार आसपास वा तिहार सकिएपछि नै डीएनए परीक्षणको प्रतिवेदन आउने सम्भावना छ । बाली वैज्ञानिकले धानको अवस्था हेरेर कात्तिक पाँच गतेसम्म पसाउन सक्ने सम्भावना देखाएका थिए । त्यसैले सरकारी अधिकारीले त्यो बेलासम्म कुर्न किसानलाई अनुरोध गरेका थिए । तर, कुरेर कुनै फाइदा हुने सम्भावना नदेखेपछि किसान बालाबिनाकै हरियो खान काट्न तम्सेका छन् ।


‘अहिलेसम्म एउटा बालो निस्केको छैन । बोट काटेर हेर्दाभित्र गर्भमा मसिनो बालो देखिन्छ । अब त्यस्तो बालो कहिले बाहिर निस्कने हो ? समय गुज्रिएको छ । रोग किराको प्रकोप बढेको छ । धान पसाए पनि दाना लाग्ने र पाक्ने आशा छैन,’ अर्का किसान कृष्ण अर्यालले भने । त्यसैले मान्छेले धान काट्न थालेका हुन् ।


गरिमा भारतीय कम्पनी रिनोभा सिड्स साइन्स इन्डिया प्रालिले उत्पादन गरेको धानको बीउ हो । नेपालमा दाङ लमहीको सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले यो धान भित्र्याएको हो । चितवनका लागि आधिकारिक बिक्रेता पर्सा खुरखुरेमा रहेको प्रशान्त एग्रोभेट हो । प्रशान्त एग्रोभेटका सञ्चालक प्रदीप पाठक आफूले यो वर्ष गरिमा धानको १३ हजार ४०४ केजी बीउ बिक्री गरेको बताउँछन् । चितवनमा ९५० बिघामा यो धान रोपेको कृषि ज्ञान केन्द्र प्रमुख ढकालले बताए ।


प्रकाशित : कार्तिक १, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?