खुलामञ्च जोगाउन समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीको खुलामञ्च र टुँडिखेल संरक्षण गर्न विजयलाल श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ । टुँडिखेल जोगाउन दबाब दिने उद्देश्यले अकुपाई टुँडिखेल अभियान सञ्चालन गर्न समिति बनाएको श्रेष्ठले बताए । समितिले टुँडिखेलबारे चेतना फैलाउने, छलफल चलाउनेदेखि टुँडिखेल मानव साङ्लोले घेर्नेसम्मको कार्यक्रम रहेको उनले बताए । अभियानको पहिलो कार्यक्रम विश्व स्वतन्त्रता दिवसको अवसर पारेर गर्न लागिएको छ ।

टुँडिखेललाई ‘काठमाडौंको फोक्सो’ नामकरण गर्दै यसलाई अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नयाँ अभियान घोषणा भएको श्रेष्ठले बताए । सम्पद संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले नागरिक नजागेसम्म सम्पदा मासिने नरोकिने बताए ।


खुलामञ्च मासेर अहिले बसपार्क बनाइएको छ । बसपार्क सञ्चालन भएको ठाउँमा काठमाडौं महानगरपालिकाले ढलान गरेको छ । ढलान गर्दा स्थानीयले रोकेका थिए । त्यसको दुई दिनपछि महानगरले रातारात ढलान गरेको हो । बसपार्कभन्दा दक्षिणतिरको भाग जस्ताले बारिएको छ । जस्ताले बारिएर त्यहाँ दरबार हाइस्कुलका ठेकेदार कम्पनीको सामान राख्ने र कामदार बस्ने स्थान बनाइएको छ । केही भागमा गाडी पार्किङस्थल बनाइएको छ । गाडी पार्किङ गरिएको ठाउँसम्म जाने ठाउँ हिलाम्य छ । ‘हामीलाई चाहिने खुला ठाउँ हो,’ आलोक भन्छन्, ‘हेर्दा हेर्दै कब्जामा पर्‍यो खुलामञ्च ।’

प्रकाशित : आश्विन २९, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?