जब हाँडीगाउँमा गजुरमाथि देउता चढे

कान्तिपुर संवाददाता

काठमाडौं — अग्रपंक्तिमा ‘कहीं नभएको जात्रा हाडीगाउँमा’ लेखिएको टिसर्टमा सजिएका चिराग समाएका दुई बालक  । त्यसपछि पोंगा, धिमे बाजा, नाय् खी, बासुरी, धाः बाजा बजाउने युवा तथा वृद्धा  । पूरै टोल बाजाले गुन्जिएको थियो । त्यही माहोलको बीचमा गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको खटमा राखिएको मन्दिर बोकिरहेको थियो । यो दृश्य हाँडीगाउँको हो ।

जब हाँडीगाउँमा गजुरमाथि देउता चढे

सामान्यतः नेवारहरूले गजुर टुप्पोपट्टि फर्किको खटको जात्रा गर्छन् तर, काठमाडौंको हाडीगाउँमा भने सोमबार गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको उल्टो मन्दिरको खटजात्रा देखाए । ‘सर्वसाधारणले पूजाआजा गर्दा मन्दिरको देवतालाई नभई गजुरलाई पूजाआजा गर्छन्,’ कोताः त्वा (टोल) का धिमे बाजाका कजी (व्यवस्थापक) ६६ वर्षीय टेकबहादुर डंगोलले भने, ‘त्यसैले यहाँको जात्रालाई काहीं नभएको जात्रा हाडीगाउँमा’ भन्ने आहान बनेको हो ।’ यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइन्छ । नेपाल भाषामा हाडीगाउँलाई ‘नर दे’, ‘विजयपुर’ र ‘विशालनगर’ भनिन्छ । यहाँको कहीं नभएको जात्रालाई ‘हाडीगां या न्यायेकिगु गनं मदुगु धयातःगु जात्रा’ पनि भनिन्छ । जसलाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा भन्ने गरिन्छ ।


जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट बनाइन्छ । ब्रह्माको प्रतीकका रूपमा खट कोताः टोलका, विष्णुको खट न्याल्म टोल र महेश्वरको थतु टोलका गुठियारले बोकेर जात्रा गर्ने चलन छ । ‘पहिला तीन दिन हुन्थ्यो । पहिलो दिन ब्रह्मा, दोस्रो विष्णु र तेस्रो दिन महेश्वरको खटजात्रा गरिन्थ्यो,’ डंगोलले भने, ‘पछि तीनै खट एकै दिन यात्रा गरेर एक दिन मात्र मनाउन थालियो ।’ उनका अनुसार खट यात्रामा पोङ्गा बाजा अनिवार्य बजाउनुपर्ने परम्परा छ ।


‘पोङ्गाले देवतालाई सन्देश दिने भन्ने जनविश्वास छ,’ उनले भने, ‘यो बाजा गथु त्वा गछेँका पैता धिमे खलकले बजाउँछन् ।’ जात्राका लागि कतिं पुन्ही (कोजाग्रत पूर्णिमा) का दिन कोताः टोलका गुठियार शिवपुरी ध्यान मग्न विष्णुको आत्मा लिन बाँसबारीमा रातभर जाग्राम बसेका थिए । त्यहाँ बेलुका विधिपूर्वक नारायण भगवान्को पूजाआराधना गरी प्राण निकाली कोताः टोलस्थित पुजारीको घरमा ल्याइएको थियो । यस दिन हाडीगाउँका रैथानेहरू उपवास बस्नुपर्ने चलन रहेको कोता टोलका गुठियार ४५ वर्षीय कृष्णबहादुर डंगोलले बताए ।


‘व्रत बसेका पुरुषहरूले ‘म्हतुं दाय्गु’ भनी जीउले नापी प्रत्येक एक जीउबराबर एक बत्ती चढाउँदै नगर परिक्रममा गर्छन्,’ उनले भने । पौराणिक कथनअनुसार एउटी महिलाको गर्भ रहेको १४ वर्षपछि विष्णुको क्षमापूजाबाट मात्रै सन्तान जन्मिएको थियो । यसरी १४ वर्षपछि जन्मिएको उनका छोरालाई विष्णुको प्रतीकका रूपमा लिइएको स्थानीय धिमे बाजाका कजी डंगोलले बताए । ‘१४ वर्षमा जन्मिएको हुनाले नेपाल भाषामा नारायणलाई चोक्तेः नारायण भनियो,’ उनले भने, ‘खट आ–आफ्नो टोलमा विराजमान गराइसकेपछि मंगलबार बिहानदेखि पूजाआजा गरी प्राण निकाली पुनः शिवपुरीमा फर्काइनेछ ।’



प्रकाशित : आश्विन २८, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?