२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

घरबार बेचेर गुम्बा

अनिश तिवारी

सिन्धुपाल्चोक —  भूकम्पले भत्काएको मन्दिर, गुम्बा र आवास निर्माण गर्न सबै जुटिरहेका छन्  । तर, हेलम्बु गाउँपालिका ४ तालामाराङका आसाराम तामाङ अहिलेसम्म थोत्रो टहरामै सन्तुष्ट छन्  ।

घरबार बेचेर गुम्बा

५३ वर्षका आसाराम हर्षसाथ भन्छन्, ‘सबै गुम्बामा चढाएँ ।’ भूकम्पपीडितको पहिलो किस्ताबाहेक दुई वटा घरखेत बेचेर आएको १ करोड ४० लाख रुपैयाँ उनले गुम्बाकै लागि दिए । विदेशिएको छोराले घर बनाउन पठाएको ४४ लाख पनि गुम्बा बनाउन दान दिए । ३६ प्रतिशत ब्याजमा ५० लाख ऋण लिएर उनले गुम्बा बनाउनमै सिध्याए । अब उनीसँग टहराबाहेक केही छैन । कलात्मक ग्याता गुम्बा भने अझै ठडिसकेको छैन । ‘४५ प्रतिशत संरचना मात्रै सकिएको छ, कहिले भव्य गुम्बा बन्ला भन्ने मात्रै लागिरहन्छ,’ ग्याता गुम्बा समितिका अध्यक्ष तामाङले भने ।


तालामाराङ बजार सुविधाजनक आवास, विद्यालयको भवनले घेरिसकेको छ । चारैतिर रंगीन आवासले ढाकिरहँदा पुलछेउका आसाराम भने गुम्बा कसरी ठडिएला भन्ने धुनमै मस्त छन् । गुम्बाको अनुदान आएपछि दिन्छु भनेर उनले लिएको ५० लाख ऋणको ३६ प्रतिशत ब्याजले क्रमशः तामाङको परिवारलाई थिच्दैछ । श्रीमती माइली र छोराछोरीसँगै आसाराम गुम्बाको अनुदान आउने पर्खाइमा छन् । ‘अनुदान आएदेखि गुम्बा पनि बन्थ्यो, ऋण तिरिन्थ्यो, पैसा नआएकाले गुम्बा पनि यत्तिकै थन्कियो, हामी पनि थाक्यौं,’ श्रीमती माइलीले भनिन् ।

गुम्बामा रकम खर्चिएकाले एकाथरीले सम्मान गरे पनि अधिकांशले अनेक लान्छना लगाउने गरेको तामाङ परिवारको अनुभव छ । २०६३ सालमा स्थापना भएको कलात्मक ग्याता गुम्बाको नक्सा प्रक्रिया चारवर्षअघि सकेर ६ वटा गुम्बाको अनुदान सम्झौता भएको थियो । पूर्व अर्थमन्त्री डा. रामशरण महतले शिलान्यास गरेको ग्याता गुम्बाको नाममा २ करोडको चेक काटिए पनि खातामा रकम नभएपछि अन्योल अवस्थामा फर्किएको अध्यक्ष आसारामले दुःखेसो गरे । ‘जति पर्खिए पनि सरकारले गुम्बाको रकम पठाएन, हाम्रो धार्मिक धरोहर र मन्दिर बनाउनै बेवास्ता गर्‍यो, त्यसपछि आफैं कस्सिएँ,’ उनले भने । भूकम्पले जिल्लाभरका २ सय ५० भन्दाबढी गुम्बा ध्वस्त भए ।


पुरातात्त्विक महत्त्व बोकेका दर्जनौं गुम्बा अझै क्षतिग्रस्त अवस्थामा थन्किएको जनप्रतिनिधिले बताएका छन् । गुम्बैगुम्बाको सहर र ह्योल्मो भूमि हेलम्बु, पाँचपोखरीदेखि भोटेकोशी क्षेत्रको लिस्तीकोट, मार्मिङ, लिसंखुपाखरमा रहेका चिनिया संस्कृति चित्र कोरिएका गुम्बा अझै ध्वस्त अवस्थामा छन् । ‘गुम्बाबिना बौद्ध संस्कृति रीतिरिवाजसँग जोडिएकाको जीवनशैली बिथोलिएको छ, गुम्बा पुर्निर्माणलाई सरकारले किन यसरी बेवास्ता गरिरहेको छ ?,’ ह्योल्मो गुम्बा संघका महासचिव टसी दोङ्बा ह्योल्मोले भने । ह्योल्मो अभियन्ता टसीले स्थानीय सरकार र दाताबाट पाएको सहयोगले केही गुम्बा बने पनि अधिकांश अन्योलमा रहेको प्रष्ट्याए ।

तालामाराङ र ग्याल्थुमाको सिमानामा रहेको ग्याता गुम्बाभित्र बौद्ध धर्मका महागुरु देवता गुरु रेन्पोछे, शाक्यमुनि बुद्ध, आर्यअवलोकेश्वरको विशाल मूर्तिदेखि अनेक कलात्मक काष्ठकला र चित्र कोरिँदैछन् । ग्याता गुम्बा परिवारकाअनुसार गुम्बाको माथिल्लो उच्च संरचना पूर्ण रूपमा बनिसकेको छैन ।


‘साङतासी’ अर्थात् तीन (गुरु रेन्पोछे, बुध्द र आर्यअवलोकेश्वर) ईश्वरीय प्रतिमूर्तिको आँखा छोपेर राखिएको छ । गुम्बा सकिएको दिन गुम्बामा ‘ख्ने’ भव्य पूजा हुन्छ, त्यही दिन आँखा खोलेर (सुङ्गा प्रवेश गरिसकेको) मूर्तिमा अभिषेक गरिन्छ ।

प्रकाशित : आश्विन २८, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?