१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

शृंखलाबद्ध आगजनी

कान्तिपुर संवाददाता

मकवानपुर — मकवानपुरको उत्तरी क्षेत्रमा शृंखलाबद्ध आगजनी हुने गरेको छ  । पछिल्लो पटक मकवानपुरको थाहा नगरपालिका ५ को वडा कार्यालयमा आइतवार राति आगजनी गरिएको छ  ।

आरनडाँडास्थित वडा कार्यालयमा राति करिब साढे ११ बजे आगजनी भएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले बताए ।कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको उनले बताए । विद्युत् मिटर बक्स फुटेको आवाजपछि गाउँलेले घटनाबारे थाहा पाए पनि कसले आगजनी ग‍र्‍यो भन्ने खुलेको छैन ।आगजनीबाट कार्यालयमा भएका कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले कैलाली घर भएका एक युवकसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उक्त घटनाको स्थलगत अध्ययन गर्न हेटौडाबाट प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विकास घिमिरे सोमबार बिहानै पुगेका थिए । थाहा नपाले १४ लाख ३८ हजारको लागतमा निर्माण गरेको वडा कार्यालयको भवनबाट एक महिनादेखिमात्र सेवा सुरु गरेको थियो । आगलागीबाट कम्प्युटर, कागजपत्रलगायत विद्युतीय सामान जलेर नष्ट भएका छन् । तीन दिन अघिमात्र थाहा नगरपालिका ३ शिखरकोटमा पार्किङ गरेर राखेको ट्रिपर र जेसीभीमा अज्ञात व्यक्तिले आगजनी गरेका थिए ।


करिब एक वर्षको बीचमा उत्तरी क्षेत्रमा वडा कार्यालयमा गरेको आगजनीसहित पाँचौं घटना हो । यस अघिका चारवटा घटना सवारी साधनमा भएका थिए । अज्ञात व्यक्तिले थाहा नगरपालिकाको टिष्टुङमा स्कुलको प्रयोजनका लागि ल्याएको नयाँ खाली बसमा आगजनी गरिएको थियो भने सिमभन्ज्याङ नजिक एउटा तरकारी बोक्ने ट्रकमा पनि आगजनी गरिएको थियो । यसैगरी २ महिनाअघि इन्द्रसरोवर गाउँपालिकाको फाखेलको हुमाने भन्ज्याङमा अज्ञात व्यक्तिले काठमाडौंतर्फ गइरहेको कारमा आगजनी गरेका थिए । चन्द समूहले बन्द आह्वान गरेको अघिल्लो रात ती सवारी साधनमा आगजनी गरिएको थियो । आगजनीका घटनामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

प्रकाशित : आश्विन २८, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?