बोटे समुदायलाई पक्की घर

प्रताप विष्ट, प्रमिता ढकाल

हेटौडा/भरतपुर — मकवानपुर (कास)- लोपोन्मुख बोटे समुदायलाई मकवानपुर र चितवनका स्थानीय तहले आवासको व्यवस्था गर्ने कामको थालनी भएको छ । नदीको छेउमा स्याउले छाप्रोमा बस्दै आएका बोटे समुदायलाई प्रदेश-३ सरकार र मनहरी गाउँपालिकाले १४ वटा घर र सांस्कृतिक भवन बनाउन लागेको छ भने चितवनस्थित भरतपुर महानगरपालिका २२ मा बसोबास गर्ने २२ घरधुरीका बोटे समुदायलाई सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत महानगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

यद्यपि उक्त रकमले घर बन्न नपुग्ने भनेर त्यस क्षेत्रका बोटेहरूले गुनासो गरिरहेका छन् । मकवानपुरको मनहरी गाउँपालिका ७ रमौलीमा बसोबास गर्ने बोटेका १४ परिवारलाई निजी आवास बनाउने काम धमाधम भइरहेको छ । पाँचवटा भवन बनिसकेका छन् । रंगरोगन पनि गरिसकेको छ । ती भवन मनहरी गाउँपालिकाले २० लाख रुपैयाँ खर्चेर निर्माण गरेको हो । ९ वटा घर र बोटे समुदायको सांस्कृृतिक भवन निर्माण गर्न प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘प्रदेश सरकारको उक्त रकमबाट अब बाँकी भवन निर्माणको काम सुरु हुँदै छ,’ मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले भने, ‘प्रदेश सरकारले निर्माण प्रक्रिया सुरु गरिसकेको छ, उक्त भवन निर्माण भएपछि एकैचोटि १४ वटा घर बोटेहरूलाई हस्तान्तरण गर्ने छौं ।’

पर्सा वन्यजन्तु निकुञ्जबाट २०६९ सालमा बस्ती स्थानान्तरण गर्ने क्रममा १४ परिवार बोटे समुदायलाई रमौलीमा सारिएको थियो । निकुञ्ज क्षेत्रमा पनि उनीहरूको नाममा एक धुर जमिन पनि थिएन । जमिन नभएका सुकुम्बासी बोटेहरूलाई रमौलीमा १० कठ्ठा जमिन उपलब्ध गराइएको थियो । प्रत्येक परिवार घर बनाउन १० धुर जमिन उपलब्ध गराइएको थियो । बाँकी ३ कठ्ठा जमिनमा सांस्कृतिक भवन निर्माण गर्न लागेको हो । अहिले उनीहरू खोलाको छेउमा छाप्रोमा बसिरहेका छन् । पक्की घर कहिले बन्ला भन्ने आशमा उनीहरू छन् ।

‘सरकारले बनाएको पक्की घरमा कहिले बस्ने पाइएला भन्ने आशमा बसिरहेका छौं,’ सुरेश बोटेले भने, ‘अर्को वर्षको दसैं पक्की घरमा नै मनाउन पाए हुन्थ्यो ।’ खोलामा माछा मारेर परिवार पाल्दै आएका बोटे समुदायलाई पर्सा राष्ट्रिय निकुञ्जले यो वर्षदेखि माछामा मार्न रोक लगाएको छ ।

‘सरकारले घर बनाएर दिन लागेकोमा खुसी छौं,’ विष्णु बोटेले भने, तर पुस्तौंपुस्तादेखि माछा मार्दै आएको पेसा निकुञ्जले रोकेकोमा दु:ख लागेको छ ।’ पक्की घरसँगै खोलामा माछा मार्न पाएको भए कति रमाइलो हुन्थ्यो होला उनीहरूले भने । पर्सा राष्ट्रिय निकुञ्जले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्ने खोला र नदीहरूमा माछा मार्न बोटेहरूलाई माछा मार्न अनुमति दिएको छैन । तर, चितवन राष्ट्रिय निकुञ्जले भने बोटेहरूलाई माछा मार्न लाइसेन्स उपलब्ध गराएको छ ।

यसैगरी, चितवनको भरतपुर महानगरपालिका २२ मा बोटे समुदायको बाक्लो बस्ती छ । यस वडामा करिब ५० घरधुरी बोटे समुदाय छन् । बोटे समुदाय चितवनमा अल्पसंख्यक छन् । नदी किनारका बस्तीमा धेरै संख्यामा रहेको यो समुदाय विपन्न आदिवासी वर्ग भनेर चिनिन्छ ।

नारायणी तथा राप्ती नदीमा माछा मार्न लाइसेन्स लिएकाले मात्र पाउने प्रावधान बनेपछि उनीहरूले रोजीरोटीमा समस्या भएको गुनासो गर्दै आएका छन् । नदी किनारमा ससाना खरखडाइका घरमा बसोबास गर्ने उनीहरू बाढी प्रकोपको उच्च जोखिममा रहेको समूह हो ।

एकातर्फ प्राकृतिक विपद् अर्कोतर्फ परम्परागत पेसाबाट विस्थापित हुनुपर्दा बिहानबेलुका छाक टार्न नै अप्ठेरो पर्ने यो समुदायलाई भरतपुर महानगरले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि सहयोग गरेको छ । खरखडाइका घरमा वन्यजन्तुले समेत सजिलै आक्रमण गरेर भत्काइदिने गरेकाले नागरिक सुरक्षित आवास कार्यक्रम लागु गरिएको वडा अध्यक्ष विष्णुराज महतोले बताए । संघन सहरी विकास कार्यालय भरतपुर र भरतपुर महानगरपालिकाले २२ नम्बर वडाका २२ घरधुरी विपन्न तथा अल्पसंख्यकको घर निर्माणका लागि ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

सुरक्षित नागरिक आवास गृहमार्फत दुई कोठे घर निर्माणका लागि ५० हजार रुपैयाँ बराबरको जस्तापाता, पाइप र दुई सुते रडको सहयोग गरिएको हो । भरतपुर महानगरका प्रमुख रेनु दाहालले निर्माण सम्पन्न भएको घर हस्तान्तरण गरिसकेकी छन् ।

प्रकाशित : आश्विन २७, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दुइमाजु परिसर फेरि कब्जा

दामोदर न्यौपाने

काठमाडौँ — ऐतिहासिक र धार्मिक महत्त्वको क्षेत्र दुइमाजु मन्दिर परिसर कब्जा गरी पुन: पसल सञ्चालन गरिएको छ । भक्तजन पूजा गर्न आउने ठाउँ कब्जा गरेको भन्दै विरोध भएपछि गत चैतमा यहाँका पसल सञ्चालक आफैंले हटाएका थिए । काठमाडौं महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा खुलामञ्च छेउकै यो क्षेत्र कब्जामा परेको हो ।

गुठी संस्थानबाट एक जनाले अनुमति लिएर अरूलाई पसल सञ्चालन गर्न दिइएको हो । गोरखाका भीमसेन गाउँपालिका २, तान्द्राङकी अमृता भट्टराईले व्यवसाय सञ्चालन गर्न संस्थानसँग ५ वर्षका लागि भाडामा लिएकी थिइन् । उनले ६ महिनासम्म पसल हटाएर फेरि दसैंको मौका छोपेर पसल सञ्चालन गर्न अरूलाई भाडामा दिएकी हुन् ।

आफूले न्यून रकम तिरेर चलाउन अनुमति लिएर भट्टराईले १७ जनालाई भाडामा दिएकी हुन् । गिफ्ट सप, रेडिमेड पसलदेखि जुस पसलसम्म सञ्चालन गरिएका छन् । पसल सञ्चालन गर्नेले काठमाडौं महानगरपालिकामा व्यवासाय दर्तासमेत गरेका छन् । पसल सञ्चालन गर्नेमा झलकप्रसाद नेपाललाई व्याग पसल, दुर्गा शाहीलाई फलफूल पसल, अमृता मैनालीलाई गिफ्ट पसल, सुरेन्द्र मानन्धरलाई रेडिमेड पसल, टेकबहादुर जोशीलाई लेडिज कपडा पसल राख्न दिएको काठमाडौं महानगरपालिा वडा २८ का अध्यक्ष भाइराम खड्गीले जानकारी दिए ।

उनका अनुसार होमबहादुर खड्का, दीपक गौतम, भगवानप्रसाद शर्मा, रेशमबहादुर पाण्डे, रश्मिला श्रेष्ठ, निरु गोदार थापा, पदम नेपाली, टंकबहादुर खत्री, खेमराज शाह, सर्वदा उप्रेती मैनाली र शर्मिला कटुवालले पसल सञ्चालन गरिरहेका छन् ।

मन्दिर परिसरमा अस्थायी टहरा बनाइएको छ । टहरा निर्माण गर्न पनि काठमाडौं महानगरपालिकाले अनुमति दिएको छ । महानगरको भवन निर्माण विभागले टहरा बनाउन अनुमति दिएको वडा २८ का अध्यक्ष खड्गीले जानकारी दिए । दुइमाजु क्षेत्र महानगरको वडा २८ मा पर्छ । अमृताले मरिण ठाकुर इन्टरनेशनलाई टहरा बनाउन ठेक्का दिएकी थिइन् । मरिण ठाकुरकै मातहतमा १७ जनालाई पसल सञ्चालन गर्न अनुमति दिएको पाइएको छ ।

गुठी संस्थान काठमाडौं शाखा कार्यालय र भट्टराईबीच विभिन्न १३ सर्तमा रहेर व्यवसाय सञ्चालन गर्न सम्झौता भएको थियो । पसल सञ्चालन गर्न सटर बनाउन काठमाडौं महानगरपालिकाका भवन निर्माण इजाजत विभागका प्रमुख सुरज शाक्यले सहमति दिएका थिए । त्यही सहमतिअनुसार सटर बनाएर पसल सञ्चालन गर्न गुठी संस्थानले अनुमति दिएको हो । विभाग प्रमुख शाक्यले २०७५ फागुन १० मा अस्थायी टहरा निर्माण गर्न सहमति दिएका थिए ।

‘गुठीअन्तर्गतको मन्दिर परिसरमा आवश्यक पूजा सामग्री व्यवस्थापन, सरसफाइ, पूजाआजा तथा रेखदेखका लागि तहाँ गुठीबाट स्वीकृत नक्साबमोजिम सहमति माग भएकोमा मिति २०७५ फाुगन १० को सदर टिप्पणी निर्णयअनुसार तहाँबाट पेस नक्सामा फरक नपर्ने गरी अस्थायी टहरा निर्माणको लागि सहमति प्रदान गरिएको व्यहोरा अनुरोध छ,’ शाक्यले गुठी संस्थानलाई लेखेको सहमति पत्रमा उल्लेख छ ।

दुइमाजुका पूजारी उद्धव कर्माचार्यका अनुसार मन्दिर पूजा गर्न दैनिक भक्तजन आउने गरेका छन् । भक्तजन आउने ठाउँमा पसल सञ्चलान गर्दा पूजामा समस्या भएको छ ।

प्रकाशित : आश्विन २७, २०७६ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×