२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चार अर्बको नि:शुल्क उपचार

कान्तिपुर संवाददाता

भरतपुर — क्यान्सरको उपचार हुने देशको मुख्य सरकारी अस्पताल भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले असोज १० मा वार्षिक उत्सव मनाउँदा अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले आन्तरिक र अनुदान गरेर ९० करोड रुपैयाँ बराबरको आय विवरण पेस गरे । एक अर्बभन्दा कम बजेट भए पनि अस्पतालले अर्बौ रुपैयाँ बराबरको नि:शुल्क उपचार गरेको कार्यकारी निर्देशक डा.आचार्यले जानकारी दिए । 

डा.आचार्यका अनुसार बिरामीहरूका लागि अस्पतालबाट ४ अर्ब रुपैयाँभन्दा बढीको औषधि उपचार नि:शुल्क उपलब्ध भएको छ । गत आर्थिक वर्षमा रक्त क्यान्सरका बिरामीका लागि गिलिभेक नामको तीन अर्ब रुपैयाँ बराबरको औषधि नि:शुल्क उपलब्ध भएको उनले बताए । १ हजार ७३ जनाले यो औषधि लिएका छन् । अस्पतालमा १५ वर्षदेखि उक्त औषधि नि:शुल्क उपलब्ध हुने गरेको छ ।

मृगौलाको क्यान्सरका लागि उपयोग हुने सुटेन नामको औषधि पनि बिरामीले नि:शुल्क नै पाएका छन् ।


यो औषधि गत वर्ष ८० करोड रुपैयाँ बराबरको उपलब्ध भएको डा.आचार्यले बताए । गिलिभ र सुटेन औषधि अस्पताललाई अमेरिकाको म्याक्स फाउन्डेसनले नि:शुल्क उपलब्ध गराउँछ । सन् १९७३ मा जन्मेर १९९१ मा मृत्यु भएका म्याक्स भन्ने किशोरको सम्झनामा उनका परिवारले यो संस्था खोलेका हुन् ।


सन् २००४ देखि भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यो औषधि आयो । भरतपुर क्यान्सर अस्पतालमा आउनुअघि सन् २००२ देखि नै यी औषधि नेपालमा आउन थालेका थियो । हाल चितवनको डिभिजन वन कार्यालयका प्रमुख रहेका भरतपुरका विष्णु पौडेल यो औषधिको नेपालका सुरुवाती प्रयोगकर्ता हुन् । २० वर्षअघि रक्तक्यान्सर भएका पौडेल अहिले पनि औषधि खाँदै सरकारी जिम्मेवारीमा सक्रिय छन् ।


‘अहिले त मूल्यका हिसाबले महिनामा १२ लाख रुपैयाँ पर्ने औषधि नि:शुल्क पाएको छु,’ पौडेलले सुनाए । गिलभिक र सुटेन निकै महङ्गो औषधि हो । नेपाल जस्ता देशका व्यक्तिले किनेर खाने अवस्था कमै छ । ‘यी औषधि नहुँदो हो त रक्तक्यान्सर भएका हाम्रो जस्तो देशका व्यक्ति बढीमा ५/६ महिना मात्रै बाँच्ने थिए । औषधिले गर्दा २० औं वर्ष तन्दुरुस्त छन्,’ अस्पतालको मेडिकल अंकोलोजी विभाग प्रमुख डा.जया श्रेष्ठले भने ।


‘यो औषधि अत्याधुनिक उपचार पद्धति अन्तर्गतको हो । यसले क्यान्सर भएका कोषलाई मात्रै मर्मत गर्छ । केमोथेरामीमा जस्तो क्यान्सर भए नभएका सबै कोषमा असर गर्ने खालको होइन । त्यसैले महङ्गो पर्छ,’ उनले भने । गिलभिक र सुटेनबाहेक पनि २० करोड रुपैयाँभन्दा बढीको औषधि उपचार अस्पताल र सरकारी निकायबाट सोध भर्ना हुने गरेर नि:शुल्क उपलब्ध भएको श्रेष्ठले जानकारी दिए ।


पिसाब थैलीको बिरामीलाई कृत्रिम दिसाघर र पिसाब थैली २५ लाख रुपैयाँ बराबरको उपलब्ध भएको उनले जानकारी दिए । १५ वर्षभन्दा कम उमेरका ४ सय ८१ जना बिरामीलाई सबै सेवा नि:शुल्क भएको छ । जसका लागि १ करोड ६७ लाख रुपैयाँ खर्च हुन्छ । अस्पतालले जेष्ठ नागरिकलाई पनि नि:शुल्क सेवा दिन्छ । जसमा ३१ लाख ३८ हजार रुपैयाँ बराबरको सेवा दिएको उनले बताए ।


अस्पतालमा भर्ना भएका सबै बिरामीलाई नि:शुल्क खाना र ट्युब फिडिङमा १ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । क्यान्सर सेवा समाजमार्फत् अस्पतालको आम्दानीबाट ५७ लाख ३४ हजार रुपैयाँ नि:शुल्क उपचार गरेको अस्पतालले जनाएको छ ।


प्रकाशित : आश्विन २७, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?