१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोदावरीमा अन्तर्राष्ट्रिय सम्मेलन हल

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको गोदावरीमा ३ हजार जना अटाउने अत्याधुनिक प्रविधियुक्त सम्मेलन हल निर्माण हुने भएको छ । सहरी विकास तथा भवन विभागले हल निर्माणका लागि डिजाइन तयार गरेर टेन्डर प्रक्रिया टुंयाउने अन्तिम तयारी गरेको छ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलनका लागि आधुनिक हलको खाँचो महसुस भएपछि सरकारले १ सय १८ रोपनी क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्र बनाउन लागेको हो ।


साउन्ड सिस्टम, लबी, भीभीआईपी कक्ष, ब्रेकआउट रुमलगायतका संरचनासहितको उक्त हलमा सबै खालका सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । निर्माणका लागि ६ वटा कन्सट्रक्सन कम्पनीले टेन्डरका लागि आवेदन दिएकोमा प्राविधिक मूल्यांकनपछि पूर्व छनोटमा ३ कम्पनी परेका छन् । टेन्डरमा सबै नेपाली कन्स्ट्रक्सन कम्पनीले आवेदन दिएका थिए । भवन विभागका सिनियर डिभिजन इन्जिनियर प्रकीर्ण तुलाधरका अनुसार ३ कम्पनीको आर्थिक प्रस्तावको मूल्यांकन गरेर २ साता भित्र एक कम्पनीलाई छनौट गरिनेछ । ७२ करोड लागत अनुमान गरिएको उक्त केन्द्रको भवन ठेक्का सम्झौता भएको ५ महिनाभित्रमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।


हाल बानेश्वरस्थित संसद बैठक सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय केन्द्रमा ठूला खालका सम्मेलन हुँदै आएको छ । हलको निर्माण ‘फास्ट–ट्रयाक’ मा गर्ने उद्देश्यले मन्त्रिपरिषद्को निर्णय अनुसार छोटो बाटो अपनाएर टेन्डर आह्वान गरिएको थियो । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार सरकारले आयोजना गर्ने कार्यक्रमहरूका लागि पनि तारे होटल खोज्नुपर्ने समस्या हल गर्न यसको निर्माण छिटो गर्नुपर्ने गर्नुपर्ने बाध्यता छ । ‘सरकारले आवश्यकता महसुस गरेकोले हामीलाई छिटो पूरा गर्नुपर्ने दबाब छ,’ गेलालले भने । यस अघि यही महिनामा संघीय संसद भवन र मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निर्माणका लागि प्रधानमन्त्री केपी ओलीले सिलान्यास गरिसकेका छन् । संसद् भवन सिंहदरबारको पुतली बगैंचा र मुख्यमन्त्रीको आवासीय भवन भैंसेपाटीमा बन्न लागेको हो ।


प्रकाशित : आश्विन २६, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?