चाँगुनारायण अस्तव्यस्त

विश्वसम्पदामा सूचीकृत मन्दिर जीर्णोद्धार भएको डेढवर्षमा पनि वरिपरि रहेका सत्तल व्यवस्थित गरिएको छैन
लीला श्रेष्ठ

(भक्तपुर) — बालुवा, गिट्टी यत्रतत्र थुपारिएको छ । डन्डी त्यत्तिकै छोडिएको छ । पार्कको ढलान उप्किएर बाहिरै डन्डी देखिन्छ । यो दृश्य हो, चाँगुनारायण मन्दिर बसपार्कको । यत्रतत्र छरिएका निर्माण सामग्रीमा अल्झिएर लड्ने डर उत्तिकै छ । यहाँ पुग्ने जो कोही पनि जोगिएर हिँड्नुपर्छ । 

चाँगुनारायण अस्तव्यस्त

बसपार्कबाट अलि अघि बढ्नेबित्तिकै सिँढीको दायाँबायाँ निजी घरको निर्माण सामग्री थुपारिएको छ । यहाँ पनि बसपार्कभन्दा फरक दृश्य छैन । ‘सिँढी उक्लिसकेपछिको अवस्था अझै कुरूप लाग्छ,’ भक्तपुरबाट घुम्न पुगेकी सुमित्रा मचामसीले भनिन्, ‘जोगिएर हिँड्नुपर्छ, मन्दिर प्रवेशद्वार नै धरापमा छ, मन्दिर परिसरको चौघेरा सत्तल क्षतिग्रस्त छ ।’ भूकम्पको धक्काले क्षतिग्रस्त मन्दिर परिसरको चौघेरा सत्तलमा झार उम्रिएको छ । इँटा, काठलगायत निर्माण सामग्री थुपारिएको छ ।


ऐतिहासिक चाँगुनारायण मन्दिर भूकम्पपछि जीर्णोद्धार भएको डेढ वर्ष भइसके पनि चौघेराका सत्तलहरू भने अझै जीर्ण नै छन् । चौघेरा सत्तलको जिम्मा पाएको ठेकेदार कम्पनीले पुनर्निर्माणका लागि भन्दै सत्तलको जगको खाल्डो खन्न सुरु गरेको महिनौं बितिसक्यो । अझै काम देखिएको छैन ।


मन्दिरको मूल पुजारी पाटी क्षतिग्रस्त छ । अस्तव्यस्त चौघेरा सत्तलले पर्यटकीय गन्तव्य चाँगुनारायण मन्दिर परिसर नै कुरूप देखिएको छ । चाँगुनारायण मन्दिर भक्तपुरको पर्यटकीय आकर्षणको एक प्रमुख केन्द्र भए पनि व्यवस्थित हुन सकेको छैन ।


सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । तर, विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा पर्यटक वृद्धि गर्ने पक्षमा सम्बन्धित निकाय मौन छ । ‘न पर्यटकका लागि केही सुविधा छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि व्यवस्थित शौचालयको सुविधा छैन,’ पथप्रदर्शक छिरिङ घलेले भने, ‘भएकोमा पनि चुकुल बिग्रिएको छ । पानीको सुविधा पनि छैन ।’ जीर्ण सत्तलको पुनर्निर्माण र जीर्णोद्धारको ढिलाइप्रति पर्यटक र स्थानीयको उत्ति नै गुनासो छ । चाँगुनारायण ४ का सत्यनारायण भँडेल सम्बन्धित निकायले चाँगुनारायण क्षेत्रको सम्पदा संरक्षणमा पर्याप्त ध्यान नदिएको बताउँछन् । मन्दिरको जीर्णोद्धार भएको धेरै समयसम्म पनि यसको चौघेरा पुनर्निर्माण नहुँदा मन्दिरको सुन्दरतामा असर परेको बताउँदै एक पर्यटकले भने, ‘मन्दिरको सौन्दर्य मात्र होइन, सत्तलका संरचना र सम्पदाको सुरक्षामा समेत चुनौती छ ।’


मन्दिर परिसरका सत्तलहरू जीर्ण भएका कारण मन्दिरको सौन्दर्यसमेत फिक्का लाग्ने आन्तरिक तथा बाह्य पर्यटक बताउँछन् । ‘विश्व सम्पदामा सूचीकृत क्षेत्रको यस्तो कुरूप अवस्थाले निराश बनाउँछ,’ चाँगुनारायण मन्दिरमा पर्यटक घुमाउन आइपुगेका पथप्रदर्शक घलेले भने, ‘यस्तो सम्पदा क्षेत्र हेरेर विदेशी पर्यटकले के सन्देश लिएर जान्छन् ? पर्यटन वर्ष घोषणा गरेर मात्र हुँदैन, भएका संरचनाको संरक्षण र व्यवस्थापन पनि गर्नुपर्छ । चाँगुनारायण आएर एक रात पर्यटक बस्न चाहे बस्ने व्यवस्था खोई ।’ स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायले सम्पदा क्षेत्रको चाँडो जीर्णोद्धार गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले सम्पदा संरक्षण, सुरक्षा र सौन्दर्यमा उत्तिकै ध्यान दिनुपर्ने उनी बताउँछन् ।


स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) ले मन्दिर र सत्तलको महत्त्वपूर्ण पुरातात्त्विक निर्माण सामग्री संरक्षणका लागि जस्तापाताको टहरा बनाएर भण्डारण गरेको छ । अझै कतिपय पुरातात्त्विक सामग्री खुला आकाशमा छरिएको चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्याय बताउँछन् । ‘क्षतिग्रस्त सत्तल पुनर्निर्माण नहुँदा चाँगुनारायण मन्दिर दर्शनका लागि आउने भक्तजनले निराशा व्यक्त गर्छन्,’ उनले भने, ‘सत्तल अस्तव्यस्त छ, टाउको लुकाउने ठाउँ छैन ।’ नगरपालिकाले चाँगुनारायण मन्दिर अवलोकनका लागि आउने बाह्य पर्यटकको प्रवेश सेवा शुल्क उठाउने गरेको छ तर, मन्दिर क्षेत्र संरक्षणका लागि कुनै कार्य नगरेको स्थानीयको गुनासो छ ।


पुरातत्त्व विभाग भक्तपुरले भने चाँगुनारायण मन्दिर चौघेरा सत्तलको पुनर्निर्माण थालनी भइसकेको जनाएको छ । विभाग प्रमुख मोहनसिं लामाका अनुसार चौघेरा सत्तल पुनर्निर्माणका लागि २०७५ माघ २ मा लुम्बिनी/सानु सुवाल/पवन जेभीसँग सम्झौता भई मन्दिर परिसरको दक्षिण पश्चिमतर्फ जग खनिसकेको छ ।


उत्तर, पश्चिम र पश्चिमतर्फको पाटीमध्ये मूल पुजारीको सामान राख्ने सत्तलबाहेक क्षतिग्रस्त संरचना भत्काइएको उनले बताए । ‘मूल पुजारीको पूजा सामग्री राख्ने ठाउँ अभावमा चरणबद्ध पुनर्निर्माण गर्ने तयारी भएको छ,’ उनले भने । मन्दिरको उत्तर पश्चिमतर्फ भने भूक्षय हुन सक्ने जोखिम रहेकाले टेको पर्खालपछि मात्र सत्तल पुनर्निर्माण गर्नुपर्ने देखिएको पुरातत्त्व विभाग भक्तपुर प्रमुख लामा बताउँछन् । सत्तल निर्माणका लागि पुरातत्त्व विभागले सुरुमा २४ करोड रुपैयाँ लागत अनुमान निकालेको थियो ।


बोलपत्र प्रक्रियामा जाँदा निर्माण कम्पनीसँग करसहित १६ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर प्रमुख लामाले बताए ।


२०७८ असार १५ भित्र चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल निर्माण गरिसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको छ । सत्तल पुनर्निर्माणका लागि निर्माण सामग्री ओसारपोसारमा समेत समस्या देखिएको कार्यालयले जनाएको छ । निर्माण सामग्री मन्दिर परिसर पुर्‍याउन नयाँ प्रविधि अपनाउन खोजे पनि सफल नभएको लामाले बताए । सत्तल पुनर्निर्माणका लागि कलात्मक झ्याल, ढोका आवश्यक पर्ने र पर्याप्त काठको अभावका कारण पनि समयमा काम हुन नसकेको पुरातत्त्व विभागले जनाएको छ ।



प्रकाशित : आश्विन २६, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?