कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सिनो हाइड्रोसित मेलम्चीको अर्को ठेक्का

कान्तिपुर संवाददाता

काठमाडौँ — मेलम्ची खानेपानी विकास समिति र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबीच मेलम्ची खोलामा बाँध बाँधी सुरुङमा पानी डाइभर्सन गर्ने ‘हेड वर्क्स’ निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

मेलम्ची आयोजनाको सुरुङ निर्माणको बाँकी कामको ठेक्का पाएको सिनो हाइड्रोले दोस्रो ठूलो संरचना ‘हेड वर्क्स’ समेत १ अर्ब २ करोड रुपैयाँमा बनाउने जिम्मा पाएको हो । समिति र सिनो हाइड्रोबीच शुक्रबार हेड वर्क्स निर्माणका लागि ठेक्का सम्झौता भएको जानकारी आयोजनाका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार सिनो हाइड्रोले यसअघि नै सुरुङको बाँकी कामको पहिलो ठेक्का सम्झौता गरी प्रारम्भिक काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले ७५ करोड रुपैयाँमा सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको छ ।


ठेक्का सम्झौतामा सिनो हाइड्रोले १५ महिनामा ‘हेडवर्क्स’ को काम सम्पन्न गर्नुपर्ने सर्त छ । १५ दिनमा स्थलगत अध्ययन गरेर काम सुरु गर्ने गरी ठेक्का सम्झौता भएको जानकारी आयोजनाले दिएको छ । हेड वर्क्सको काम तोकिएको समयभन्दा अगाडि सकिए आयोजनाले सिनो हाइड्रोलाई बोनस दिने भएको छ । तोकिएको समयभन्दा जति दिन अगाडि सकिन्छ, ठेकेदार कम्पनीले त्यति दिन काम गरेबापतको बोनस पाउने छ । बोनस पाउन ठेकेदारले काम छिटो सक्ने विश्वास आयोजनाका अधिकारीहरूको छ ।


हेड वर्क्स निर्माणका लागि १५ महिनाको समय दिइए पनि सुरुङको काम त्योभन्दा अगाडि सकिने भएकाले कम्तीमा एक वर्षभित्रै मेलम्चीको पानी राजधानी आइपुग्ने दाबी खानेपानी मन्त्रालयको छ । मेलम्ची खोलामा हेड वर्क्स निर्माण सम्पन्न हुनुअघि सामान्य बाँध बनाएर पानी डाइभर्सन गरी सुरुङ हुँदै सुन्दरीजलको प्रशोधन केन्द्रमा ल्याउन र राजधानीमा वितरण गर्न सकिने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।


इटालियन निर्माण कम्पनी सीएमसीले झन्डै एक वर्षअघि काम छोडेर हिँडेपछि समितिले ठेक्का तोडेको थियो । त्यसपछि सिनो हाइड्रोलाई आयोजनाका मुख्य दुई संरचना सुरुङको बाँकी काम र हेड वर्क्स निर्माण गर्ने छुट्टाछुट्टै ठेक्का दिइएको हो । मेलम्ची आयोजनाका अरू संरचना निर्माणको काम भने नेपाली ठेकेदार कम्पनीलाई दिइएको छ ।


सीएमसीले ठेक्का तोडेका कारण मेलम्चीको खानेपानी राजधानी ल्याउने समयतालिका एक वर्ष पछाडि धकेलिएको छ । यही दसैंमा आयोजना निर्माण सम्पन्न गरी मेलम्चीको पानी राजधानी ल्याइसक्ने समयतालिका थियो ।





प्रकाशित : आश्विन २६, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?