१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

छिट्टै प्रदेश प्रहरी ऐन : मुख्यमन्त्री पौडेल

सुवास विडारी

(मकवानपुर) — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छिट्टै प्रदेश प्रहरी ऐन निर्माण गरिने बताएका छन् । ६४ औं प्रहरी दिवसको सन्दर्भमा शुक्रबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले गरेको विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले चालु आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेश प्रहरी सम्बन्धी कानुन तर्जुमा गर्ने र प्रदेश प्रहरी गठन गर्ने घोषणाअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले काम गरिरहेको बताए ।

छिट्टै प्रदेश प्रहरी ऐन : मुख्यमन्त्री पौडेल

‘यसै वर्षभित्र प्रदेश अनुसन्धान व्युरो गठन गरिनेछ । स्थानीयस्तरमा खटिने प्रहरीलाई आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अगाडि बढाइनेछ ।’, मुख्यमन्त्री पौडेलले भने, ‘सुरक्षालाई जनस्तरसम्म मजबुत र सुदृढ बनाउन स्थानीय तहसँग सहकार्य गर्ने नीति लिएका छौं ।'


प्रहरी र जनताबीचको सहकार्यलाई थप बलियो बनाउन आवश्यक नीतिगत सुधार गर्न पनि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पौडेलले बताए । उनका अनुसार संघीय प्रणालीअनुसार नेपाल प्रहरीको संरचना र व्यवस्था गर्न प्रदेश सरकारको लगानीमा प्रदेशभर ४८ वटा प्रहरी चौकी निर्माण कार्य भइरहेको बताए । प्रदेशअन्तर्गत्का १३ जिल्लाहरुमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा गोष्ठी प्रदेश सरकारले गर्ने गरेको बताए ।


पूर्वप्रहरी संगठन प्रदेश ३ का संयोजक प्यारासिंह योन्जनले आफूहरुलाई प्रहरी दिवसमा औपचारिकता पूरा गर्नमात्र सम्झने गरेकोमा गुनासो गरे । पूर्वप्रहरीलाई पनि गाँजा नियन्त्रण लगायत अभियान तथा कानुनविपरीत कार्य नियन्त्रणमा सहभागी गराउन योञ्जनले आग्रह गरे । ‘प्रहरीले गर्ने हरेक गतिविधिमा पूर्व प्रहरीले आफ्नो अनुभवबाट सहयोग गर्न सक्छ । त्यसकारण हामी पूर्वप्रहरीको अनुभवलाई समेत प्रयोगमा ल्याउने नीति अवलम्बन गर्नु जरुरी रहेको छ’, उनले भने ।


३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले कार्यक्रममा अमर प्रहरी परिवार सम्मान तथा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरेका थिए । प्रहरी दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलका विजयीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।


प्रकाशित : आश्विन २४, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?