हराएका पर्यटक मृत भेटिए

कान्तिपुर संवाददाता

रसुवा — गोसाइकुण्ड गाउँपालिका–१ नाकथलीबाट हराएका दुई विदेशी पर्यटकमध्ये एक मृत भेटिएका छन् । उनीहरू असोज १ गतेदेखी बेपत्ता भएका हुन् । नेदरल्याण्ड्सका नागरिक २७ वर्षीय थोमस व्यक्स मृत भेटिएका हुन् ।

उनीसहित दक्षिण कोरियाका ४२ वर्षीय नागरिक जिसङ चाङ पनि हराएका थिए । थोमसको शव गोसाईकुण्ड गाउँपालिका–१, रिछरको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयले रसुवाले जनाएको छ । नाकथलिबाट असोज १ देखि दुवै जना सम्पर्कविहीन भएको स्याफ्रुबेंसीस्थित पर्यटक प्रहरीका सई रामप्रकाश अधिकारीले बताए ।


अधिकारीका अनुसार उनीहरूले भदौ २७ मा स्याफ्रुबेंसीमा एक साताका लागि तामाङ सम्पदा मार्ग घुम्न जाने बताएका थिए । बेपत्ता पर्यटक खोजीका लागि एउटा हेलिकप्टर र तीनवटा तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो । थप सनाखत र अनुसन्धानका लागि सीमा प्रहरी चौकी टिमुरेबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जना थप प्रहरी टोली सिम्रिक एयरको हेलिकप्टरमार्फत घटना स्थल पुगेको छ । हराइरहेका चाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन १९, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?