कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'बेपत्ताकी आमा' को घरमा दसैं

प्रताप विष्ट

हेटौंडा — दसैंमा नयाँ लुगा, मासु र चामलको व्यवस्था कसरी गर्ने होला भनेर बुधबार बेलुका नातिनीसँग गुनगुनाएर सुतेकी थिइन् शुभद्र दर्नाल । बिहीबार बिहान छाप्रो अगाडिको सानो पिँढी खरेटोले बढारिरहेको अवस्थामा घर अगाडि गाडीसहित ओर्लेपछि बढार्न छाडेर एकपटक लगाएर हेरिन् ।

'बेपत्ताकी आमा' को घरमा दसैं

गाडीबाट ओर्लेका हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतसहितका मानिसले नमस्ते आमा भनेपछि उनले पनि दुई हातै जोडेर सुस्त स्वरमा नमस्ते भनिन् ।

दसैंमा खानका लागि खाद्यान्न एवं लगाउनका लागि नातिनीसहित हजुरआमालाई लुगा र मासु खान पैसा ल्याइदिएका छौं लिनोस् भनेर मेहर महतले हातमा दिन लाग्दा वृद्धा दर्नालको हात कामेको थियो । तर पनि उनले समात्दै भनिन्, ‘कहाँबाट ल्याइदिनु भो, दसैं कसरी मान्ने होला भनेर नातिनीसँग हिजो बेलुका कुरा मात्र गरेको थिए । आज घरमा नै दसैं आइपुग्यो धन्य हुँदो रहेछ मेयर साहेब ।' १८ वर्षीया नातिनीको अनुहार पनि दसैंका लागि लुगा, खाद्यान्न र मासु खान पैसा पाउदा उज्यालो देखिएको थियो । मुलुकको राजनीतिक परिवर्तनका निम्ति आफ्ना चारवटा छोरा बेपत्ता भएपछि टुहुरी नातिनीलाई हुर्काएर हेटौंडा उपमहानगरपालिका–९ शान्तिनगरको सुकुम्बासी टोलमा कष्टकर जीवन बिताउँदै आएकी ७० वर्षीया दर्नालको अवस्था बुझ्न मेयर हरिबहादुर महत एक साताअघि गएका थिए ।

गत जेठ १५ गते गणतन्त्र दिवसको दिन कान्तिपुरमा पहिलो पृष्ठमा शुभद्रा दर्नालको बारेमा लेखिएको थियो । उक्त समाचार त्यति नै बेला पढेका मेयर महतले समयको अभावले गर्दा एक साताअघि मात्र शान्तिनगर सुकुम्बासी टोल पुगेर उनको अवस्था बुझेका थिए । बिहान–बेलुका हातमुख जोर्न पनि समस्या रहेको मात्र होइन, घामपानी दुवै छिर्ने टहरोमा बस्दै आएकी वृद्धा दर्नालसहित स्थानीयबासीको माझमा मेयर महतले दसैंपछि जस्तापाताको छाना भएको पक्की घर उपमहानगरपालिकाले बनाइदिने प्रतिबद्धता व्यक्त गरेर । उनको प्रतिबद्धता भुइँमा खस्न नपाउँदै वृद्धा दर्नालले दुई हात जोडेर भनिन्, ‘पक्की घरमा मजस्ता सन्तान गुमाएको गरिबले पनि बस्न पाउलान् हजुर ।' मेयर महतले पाउनुहुन्छ, ढुक्क हुनुहोस् भनेर आश्वस्त पार्न खोज्दा दर्नालका दुवै आँखाबाट आँसु झरेका थिए । रक्तअल्पता र दमको रोगले उनलाई च्यापेको छ । गरिबीको कारणले नातिनीले पढाइलाई निरन्तरता दिन सकेकी छैनन् ।

पिसाबबाट रगत जाने, एउटा किड्नी खराब भइसकेको वृद्धा दर्नाललाई पनि क्यान्सरको आशंका गरिएको छ । पैसाको अभावले गर्दा राम्रोसँग उपचार गर्न सकेकी छैनन् ।

काभ्रेकै फलामटारमा उनको ९ वर्षकै उमेरमा बिहे भएको थियो, २५ वर्षे नेत्रबहादुर दर्नालसँग । पहिलो सन्तान उनी १२ वर्ष उमेरछँदै जन्मियो तर केही घण्टा मात्रै बाँच्यो । फेरि १४ वर्ष पूरा नहुँदै अर्की छोरी जन्मिई । त्यो पनि उमेरमा २ वर्ष नलाग्दै बिती । ‘अनि त्यो ठाउँ फापेन भनेर २०२२ सालमा हेटौंडाको हटिया बसाइ आएका थिए ।

हटिया आएपछि ५ छोरा र ३ छोरीसहित ८ वटा सन्तान जन्माइन । ‘जेठो काजी र माइलो भक्तले त राम्रै गरी सीप सिकेका थिए । ‘२०४८ वैशाख २९ मा चुनाव भएलगत्तै जेठ ५ गते उनका दुई छोरा जेठा र माहिला अर्थात् काजी र भक्त दाजुभाइ बजार निस्केका थिए । अहिलेसम्म फर्केका छैनन् । उनीहरूको अत्तोपत्तो पनि छैन । काजी र भक्त बहुदवादी मात्र थिएनन् आन्दोलनमा पनि सहभागी थिए । यसैगरी २०६० पुस २५ मा काइलो छोरा रञ्जित र पुस २८ मा कान्छो छोरा अमृत दर्नाललाई माओवादीको आरोपमा काठमाडौं कपनबाट सुरक्षाफौजले पक्राउ गरी बेपत्ता पार्‍यो ।

अहिलेसम्म पनि उनीहरूको अत्तोपत्तो छैन । मुलुक परिवर्तनका लागि चार छोरा गुमाएकी शुभद्रासँग अहिले बेपत्ता पारिएका कान्छो छोराको छोरी अस्मिसा छिन् । बाबुलाई सुरक्षाफौजले पक्राउ गर्दा उनी एक वर्षकी मात्र थिइन् । ‘उनी जस्ता आमाहरूले जन्माएका छोराछोरीले बलिदान नदिएको भए मुलुकमा राजनीतिक परिवर्तन सम्भव थिएन,' मेयर महतले भने, ‘हामीले यस्ता आमाबाबुहरूलाई आदर सम्मान र माया गर्नुपर्छ ।'


यो पनि पढ्नुहोस्:

जसले गणतन्त्र अघिका जनआन्दोलनहरुमा ४ छोरा गुमाइन्

प्रकाशित : आश्विन १८, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?