१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तान्त्रिक विधिबाट फूलपाती भित्र्याइँदै

कृष्ण थापा

काठमाडौँ — विदुरनगरपालिका २ स्थित पुरानो सदरमुकाम नुवाकोटको तलेजु भवानीको मन्दिरमा शनिबार पौने ६ बजेको साइतमा फूलपाती भित्रिने भएको छ ।  विनपा २ धोबीखोला नजिक रहेको सुल्डाँडाबाट शुक्रबार राति तान्त्रिक विधिद्वारा तयार पारिएको फूलपाती शनिबार बाजागाजासहित बढाई गरी फूलपाती भित्र्याइने छ ।

शुक्रबार राति सुल्डाँडामा उपसेहरूले तयार पारेका केरा, अशोका, जयन्ती, हलेदो, बेलपत्र, धान, सामा, दारिमलगायतका नौथरी वनस्पति पूजा गरी बलि दिएर राखिन्छ ।


फूलपाती लिन शनिबार साततल्ले दरबारमा पूजा गरेर कलशसँगै लावालस्करसहित बाटोमा बढाई गर्दै सुल्डाँडा जान्छन् । साततल्ले दरबारको उत्तरमा रहेको तलेजु भवानीको दरबार छेउ बनाएको अस्थायी टहरामा परम्परागत झाँकीका साथ निशानदेवी ती नौथरीका वनस्पतिका साथ डोलीमा राखेर विशेष पूजा गरी बलि दिएर तुलजा भवनीको दरबारमा भित्र्याइन्छ ।


गत तीन वर्षअघि तुलजा भवनी दरबार भत्किएपछि टहरा बनाएर जमरा राखिँदै आएको छ । सुल्डाँडा साततल्ले दरबारदेखि दुई किलोमिटर पूर्व भागमा पर्छ । राजा पृथ्वीनारायण शाहको शासनकालपूर्वदेखि नै फूलपाती भित्र्याउने चलन थियो । सुल्डाँडाबाट फूलपाती ल्याउन राजप्रतिनिधिले साततल्ले दरबारमा ब्रह्माणसहित विधिविधान जगरी कलश बोकेर, जबरजंगमा गणको निसान, भैरवी निसानलाई बोकेर, पन्चेबाजा, नेपाली सेनाको ब्यान्ड बाजासहित प्रमुख जिल्ला अधिकारी, सरकारी पदाधिकारी, राजप्रतिनिधि, भैरवी मन्दिरका धामी, समाजसेवी र स्थानीयबासी सुल्डाँडावारि पुग्छन् ।


मंगलवाचनका साथ फूलपाती लिएर आएपछि तलेजु भवानीको ठूलो मौलामा एउटा कुभिन्डो र बोकाको बलि दिइन्छ । अनि फूलपाती भित्र्याइन्छ । तलेजु दरबार भवानीको दरबारमा तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोट विजयपछि दसैंका लागि जमरा राख्दै आएका थिए ।


सुल्डाँडाबाट फूलपाती ल्याउन अर्याल थरका बाह्मण, क्षत्री थरका बस्नेत र मगर थरका उपासे ६ जनाले उक्त फूलपाती अघिल्लो दिन राति भेला पारेर बेलको रुखमुनि राख्ने चलन छ ।


त्यसैगरी तलेजु भवनीलाई नेवार (डंगोल थर) काले छुटै पूजा गर्ने चलन छ । उनीहरूले पनि छुट्टाछुट्टै बलि दिएर पूजा गर्छन् । भूकम्पले तुलजा भवानीको दरबार तथा मन्दिरको पूर्वी मोहडा वर्षात्ले ढलेपछि पश्चिमपट्टि टहरा बनाएर जमरा राखेर पूजा गरिँदै आएको छ । अष्टमी र नवमीमा बोका, हाँसको बलि दिइन्छ । टीकाको दिन यहाँ राखिएको जमरा राजप्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले स्थानीयबासीलाई टीका लगाइदिने चलन छ । साततल्ले दरबारको उत्तरको डाँडामा रहेको कालिका, मालिका, तुलजा भवनीको प्रसादसहित टीकाको दिन नसके हनुमान ढोकामा कार्यालय खुलेपछि प्रसाद पठाउइने राजप्रनिधि शाहीले बताए ।


मंगलाचरण गाउने परम्परा हट्यो

राजतन्त्र हटेपछि दसैंको घटस्थापनादेखि मंगलाचरण गरी गीत गाउने कल्छिनी चलन हटेको छ । नुवाकोट दरबारमा २५ जनाको दरले मंगलचारण गरी बिहान दरबार घुम्ने र मंगलधुनसहित गाउने गर्थे । राजा हट्ना साथ उनीहरू आउन छाडेको राजप्रतिनिधि महेन्द्रकुमार शाहीले बताए । ‘कल्छिनी आउनै छाडे,' उनले भने, ‘परम्परा मासिँदै गएको छ ।'


कल्छिनीले साततल्ले दरबारमा बसी रीतिरिवाजअनुसारको कार्य गर्थे । कल्छिनी पृथ्वीनारायण शाहको पालामा नुवाकोट दरबार, गोरखा दरबार र काठमाडौं हनुमानढोकामा कल्छिनी गाउने कार्य गर्थे ।

प्रकाशित : आश्विन १८, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?