‘जंकफुड’ प्रयोग बढ्दो

प्रमिता ढकाल

भरतपुर — राप्ती नगरपालिका १० की कुमारीमाया चेपाङ खहरे सामुदायिक स्वास्थ्य एकाई आइपुगिन् । काखमा सानो बालक च्यापेर बिहान ११ बजे उनी स्वास्थ्य जाँचका लागि पुगेकी थिइन् । पेट पोल्ने समस्या बढेपछि जचाउन आएकी उनले घरबाट हिँड्ने बेला केही पनि नखाई आएको बताइन् ।

जचाउने पालो कुर्नुपर्ने भएपछि उनी नजिकैको पसलमा गइन् । एउटा चिसो पेयपदार्थ र चाउचाउ किनेर खाइन् । निकै भोक लागेकाले चिसो र चाउचाउ खाएको भन्दै उनी हाँसिन् । काखको बच्चालाई उनले कुरमुरे किनिदिइन् ।


कुमारीको समस्या सुनेपछि स्वास्थ्यकर्मीले उनलाई प्रशस्त पानी पिउन र समयमै खाना खान सुझाइन् । घरमै बनाएका खानेकुरा खान सुझाउँंदै कुमारीलाई चाउचाउ, चिसो पेयपदार्थ नखान भनिन् । दुई वर्षयता सामुदायिक स्वास्थ्य एकाईमा कार्यरत अहेब निलम गौतमको दैनिकी अधिंकाश सेवाग्राहीलाई समयमै घरमा बनाएको खाना खान

सुझाउँदैमा बित्छ ।


‘यहाँका स्थानीयलाई चिसो र चाउचाउ खानु निकै ठूलो कुरा होझैं लाग्छ,’ उनले भनिन्, ‘जचाउान आउँदा के नास्ता गर्नुभो भन्यो चिसो खाएर आको भन्छन् ।’ चेपाङ र तामाङ समुदायका बसोबास रहेको बस्तीबाट आउने सेवाग्राहीमा ‘ग्यास्ट्राइटिस’ को समस्या धेरै देखिन्छ । समयमै खाना नखाँदा, जंकफुडको उपयोग बढी गर्दा समस्या बढेको छ ।


६ महिनालाई पनि अन्न पुग्ला/नपुग्ला भन्ने चिन्तामा बस्नुपर्ने स्थानीयले अन्न भइन्जेल रक्सी पार्ने भएकाले पनि समस्या हुने गरेको गुनासो गरिन् । ‘रक्सी र चिसो पेयपदार्थ नखाई जँचाउन आउने कमै छन,’ उनले भनिन् , ‘जति भने नि लाग्दैन ।’ ०७२ मा स्थापना भएको स्वास्थ्य इकाईबाट ओपीडी, परामर्श, परिवार नियोजन र गर्भवती जाँचको सेवा दिइन्छ । एकाईमा दैनिक कम्तीमा ३० र बढीमा ७० जनासम्मले सेवा लिने गरेको तथ्यांक छ ।


बिहान १० बजे खाना खाएर घरबाट हिँडेकी ४८ वर्षकी कान्छीमाया चेपाङ करिब दुई घण्टा हिँडेर आइपुगिन् । उनले आफ्नो प्रेसर नापिदिन भनिन् । ‘चक्कर मात्रै लागिरहन्छ,’ कान्छीमायाले भनिन्, ‘त्यसैले प्रेसर नाप्न आको ।’ केहीबेर पछि उनी बाहिरिइन् र नजिकैको खाजा घरमा गएर चिसो र चुरोट किनेर खाइन् ।


३ देखि ४ घन्टा पैदल हिँडेर आइपुगिने स्वास्थ्य एकाईमा उनीहरूलाई सरसफाइमा ध्यान दिन, समयमा खाना खान, स्वस्थ्यकर खाना खान सचेत गराउने गरेको अहेव गौतमले बताइन् ।

प्रकाशित : आश्विन १७, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?