‘मुआब्जा दिएर सडकको काम थाल’

कृष्ण थापा

(नुवाकोट) — जनप्रतिनिधिहरूले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी रसुवागढी सडक आयोजनालाई छिटो मुआब्जा दिएर निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् । विदुरनगरपालिकाका मेयर सञ्जु पण्डितद्वारा पीपलटारदेखि ढुंगेसम्मको करिब ८ किमि सडकका स्थानीयले मुआब्जा पाउने वातावरण बनाउन आग्रह गरे । ‘ती क्षेत्रका स्थानीयबासीले मुआब्जा पाउनुपर्छ,’ उनले भने, ‘नत्र भने पासाङल्हामु मार्गको सडक हो, मुआब्जा पाउँदैनौ भनेर पहिले भन्नुपर्थ्यो ।’ 

पीपलटारदेखि ढुंगेसम्मको सडक खण्ड पासाङल्हामु मार्गमा पर्छ । यही खण्डमा आयोजनाले सडक पिच गर्दै छ । उक्त सडक खण्डको दायाँ–बायाँ जग्गा पर्ने स्थानीयले मुआब्जा माग गर्दै आइरहेका छन् । उक्त सडक खण्ड ०१८ मा त्रिशूली जलविद्युत् आयोजना निर्माणका लागि खनिएको सडक हो । उक्त सडक खण्डको दायाँ–बायाँ पर्ने जग्गाको मुआब्जा दिन पर्ने स्थानीयको माग छ । सडक ऐन २०३४ को दफा ३ खण्ड ‘ख’ अनुसार सडकलाई फिडर रोड तोकेर केन्द्रबाट १५/१५ मिटर गरी ३० मिटर सडक सीमा तोकिएकाले समस्या परेको आयोजनाले जनाएको छ ।


त्यसैगरी, विनपा १ का वडाध्यक्ष लेनिन रञ्जितले विदुरनगरपालिका १ ढुंगेबजारमा ८ घर प्रभावित हुने र २ घर सुकुम्बासी बन्ने भएकाले आयोजनाले स्थानीयको मर्का बुझ्नुपर्ने बताए । गंगटे, बट्टार, विदुर र ढुंगेमा जनघनत्व बढी र बजार यही क्षेत्रमा छ । आयोजनाले सडक विस्तारमा गर्न समस्या परेको बताएको छ । यही ठाउँमा करिब ५ किमि आयोजनाले ४ लेनको सडक बनाउने योजना छ । अन्य खण्डमा २ लेनको सडक निर्माण हुने छ । स्थानीयको माग छिटो सम्बोधन गर्न समयमा सडक निर्माण गर्न पूर्व मेयर ठाकुर गजुरेलले बताए । ‘समस्या आउँछन्,’ उनले भने, ‘हामी साथ दिन्छौं, आयोजनाले खुट्टो नकमाई काम गर्नुपर्छ ।’


आयोजनाले धादिङको गल्छी–नुवाकोटको कोल्पुटार हुँदै रसुवाको मैलुङसम्म ४६ किमि सडक निर्माण गरिरहेको छ । विद्युत् प्राधिकरण धादिङले नुवाकोटको कोल्पुटारदेखि काशीटारसम्मका बिजुलीको केही पोल अझै हटाएको छैन । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी रसुवागढी सडक आयोजनाले १७ किमि सडक यही मंसिरमा पिच गर्ने जनाएको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १८ किमि सेनाले ट्र्याक्क निर्माण गरी आयोजनालाई बुझाइसकेको छ । उक्त सडक पिच गर्न ठेक्का आह्वान गर्न लागिएको आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताए । आयोजनाले स्थानीयको मागलाई आफ्नो क्षेत्रबाट हुन सक्ने सम्बोधन गरी कार्य गर्ने उनले बताए ।


गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी रसुवागढीले ५५ प्रतिशत कार्य प्रगति गरेको जनाएको छ । उक्त सडक गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी रसुवागढीसम्म ८२ किमि छ । आयोजनाको सडक निर्माण लागत ९ अर्ब ५० करोड रुपैयाँ रहेको छ । स्याफ्रुबेसी–रसुवागढी नाकासम्मको १६ किमि सडक रहेको छ । यो खण्ड चीनले निर्माण गर्न लागेको छ । शनिबार चिनियाँ प्रतिनिधि र आयोजनाका प्रतिनिधि सडक विस्तारको काम थाल्ने भएका छन् ।


आयोजना प्रमुख भण्डरीका अनुसार ३९ महिनामा सडक स्तरोन्नति गरी आयोजनालाई बुझाउने छ । चीनले उक्त सडकखण्ड दुई लेनको छ । त्यसका लागि ५ अर्ब लागतमा निर्माण हुने भएको छ । चीनले भूकम्पले भत्किएको लेङदेखोलामाथिको रसुवागढी–चीनको रेसुओपोर्ट बीचको मितेरी निर्माण गरिसकेको छ ।

प्रकाशित : आश्विन १६, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?