३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एक हजार बढीको उपहारमा रोक

प्रताप विष्ट

(हेटौंडा) — मकवानपुरगढी र महनहरी गाउँपालिकाले एक हजारभन्दा बढीको उपहारमा रोक लगाएको छ । दुवै गाउँपालिकाले गाउँसभाबाट यसबारे ऐन नै पारित गरेको छ । ऐनमा ५१ जनाभन्दा बढी जन्ती जान र दाइजो लिनदिन नपाइने व्यवस्था गरिएको छ । ऐनलाई पालिकाका बासिन्दाहरूले सकारात्मक ढंगले लिएका छन् । 

स्थानीयको सामाजिक व्यवहारमा सुधार ल्याएर फजुल खर्च र अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले सामाजिक सुधार ऐन ल्याएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले बताए । घूसखोरी र भ्रष्टाचार गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न पनि सामाजिक सुधार ऐनको अनिवार्य आवश्यकता रहेको महसुस गरिएकाले ऐन निर्माण गरिएको उनले बताए ।


मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये यी दुईले मात्रै सामाजिक व्यवहार सुधार ऐन पारित गरेर कार्यान्वयन ल्याउन लागेका हुन् । सामाजिक कामकाजमा तडकभडक देखाउने र फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो ऐन ल्याएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । ‘सबैभन्दा पहिला जनप्रतिनिधिहरूबाट नै व्यवहारमा उतार्न प्रयास गरिरहेका छौं,’ उनले भने ।


स्थानीयले विवाहमा बाजागाजासहित ५१ जना बढी जन्ती लैजान नपाउने व्यवस्था उक्त ऐनमा गरेको छ । केटा वा केटी पक्षले आयोजना गर्ने विवाह भोजमा नजिकको नातेदारबाहेक अरू छरछिमेक र इष्टमित्रमध्येबाट ५१ जनाभन्दा बढी आमन्त्रण गर्न नपाउने ऐनमा व्यवस्था गरिएको छ । उक्त ऐनले दाइजो लेनदेनलाई पनि प्रतिबन्ध लगाएको छ । विवाह समारोहमा सहभागी हुँदा केटा वा केटी पक्षबाट आमन्त्रण गरिएका छरछिमेक, इष्टमित्रले उपहार प्रदान गर्दा हजार रुपैयाँभन्दा बढी जिन्सी वा नगद दिन नपाइने व्यवस्थासमेत गरेको छ । न्वारन, जन्मदिवस, पास्नी, चूडाकर्म व्रतबन्ध बुढोपास्नी र पितृ कार्य गर्दा २५ जनाभन्दा बढी सहभागी गर्न नपाइने र हजार रुपैयाँभन्दा बढी उपहार र दक्षिणा दिन पनि उक्त ऐनले रोक लगाएको छ । योसँगै पैसा बाजी थापेर जुवातास, लुडो, पुलहाउस र लङ्गुरबुर्जा खेल्न खेलाउन पारित ऐनले रोक लगाएको छ । देउसीभैलो खेल्दा पनि करकापमा पारेर दक्षिणा लिन नपाउने व्यवस्था गरेको छ । उक्त ऐनले महिला र पुरुषलाई गाउँपालिकाभरि समान कामको समान दामको व्यवस्था गरेको छ । यसअघि महिलाले समान कामको समान ज्याला पाएका थिएनन् । अब गाउँपालिकाले ऐनमा नै पारित गरेकाले महिलाले पुरुष जतिकै ज्याला पाउने अध्यक्ष हुमागार्इंले बताए ।


घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ भने अन्तशुल्कबाट स्वीकृत लिएर मदिरा बिक्री गर्ने पसलहरूले पनि अपराहृन ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।


धार्मिक स्थल, विद्यालय र सरकारी कार्यालयको ५ सय मिटर वरिपरि सुर्तीजन्य वस्तु र मदिरा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ । तरकारी बालीमा प्राविधिक सल्लाहबिना विषादी प्रयोग गर्न नपाउने र विषादी प्रयोग गरेको तरकारी निश्चित समय पार नगरी बिक्री वितरण गर्न नपाउने व्यवस्थासमेत गरेको छ । कसैबाट ऐनविरुद्ध काम गरेमा वडा कार्यालयमार्फत् सम्बन्धित व्यक्तिलाई मौखिक वा लिखित रूपमा अनुरोध गर्ने र अटेर गरेमा व्यक्ति उपर कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा जानकारी दिने व्यवस्था ऐनमा गरेको छ । सामाजिक सुधार ऐनविपरीत कार्य गर्ने व्यक्तिलाई कानुनी कारबाहीसहित गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधा प्रदानसमेत नगर्ने ऐनमा उल्लेख गरिएको छ ।

प्रकाशित : आश्विन १४, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?